|
जिल्ला अदालत, पर्सा ।

पर्सा : भारतसँग रोटीबेटीको सुमधुर सम्बन्ध मात्रै नभएर त्यहाँका नागरिकले खुला सिमानाको फाइदा उठाउँदै अपराधमा संलग्न हुने गरेको तथ्य सीमा जोडिएका जिल्लामा प्रशस्तै भेटिने गरेको छ। पर्सा जिल्लामा पनि भारतीयहरुको यस्तो गतिविधि बढिरहेको छ।

गएको भदौसम्म पर्सा जिल्लाभित्र अपराधमा संलग्न भएका एक सय ८६ जना विदेशी नागरिकलाई न्यायालयले दोषी ठहर गरेको छ। तर कैद र जरिवाना असुल गर्न बाँकी नै छ। यीमध्ये अधिकांश भारतीय नागरिक हुन्।

पर्सा जिल्ला अदालतले दोषी ठहर गरिसकेका ती विदेशी नागरिक अझै कानूनको दायरामा नआई उम्किएका  छन्। न्यायालयबाट दण्ड जरिवाना आदेश भएका, तर सजाय पाउनबाट उम्किँदै आएका एक सय ८६ जना विदेशी नागरिकसँग दण्ड जरिवाना असुल गरी लगत फर्छ्याेट गर्न बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ। 

१८५ जनाको लगत फर्छ्याेट सर्दै

विगतका वर्षहरूमा जिल्लाभित्र अपराधमा संलग्‍न भई कानूनको दायरा बाहिर रहँदै आएका विदेशी नागरिकको कुल संख्या एक सय ८५ जना रहेका छन्। यी विदेशीहरुको लगत फर्छ्याेट लगातार धकेलिइरहेको छ।

गत वर्ष दुई जना थप भएपछि त्यो संख्या एक सय ८७ पुगेको थियो। त्यसमा एक जनाको भने लगत फर्छ्याेट भइसकेको छ। अझै एक सय ८६ जनाको लगत फर्छ्याेट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाका प्रमुख विनोद पोखरेलले बताए।

यीमध्ये कूल १४ जनालाई कैद मात्र तोकिएको छ भने ५७ जनालाई जरिवाना तोकिएको छ। त्यसैगरी, कैद र जरिवाना दुवै भएका एक सय १५ जना गरी कुल एक सय ८६ जना विदेशी नागरिकहरू कानूनको नजरमा दोषी देखिएको उनको भनाइ छ। 

तीन हजार ११६ जना नेपालीको लगत फर्छ्याेट बाँकी 

पर्सा जिल्ला अदालतले दण्ड र जरिवाना तोकेका नेपाली नागरिकसहित कुल तीन हजार तीन सय दुई जना कसुरदारसँग दण्ड जरिवानाको लगत फर्छ्याेट गर्न बाँकी रहेको पर्सा जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ।

दोषी ठहर भई कसूरदार रहेका स्वदेशी नागरिकमा ७६ जनालाई कैद मात्र, एक हजार नौ सय २० जनालाई जरिवाना मात्र र एक हजार एक सय २० जनालाई कैद र जरिवाना आदेश भएको पर्सा जिल्ला अदालतले जनाएको छ। 

पछिल्लो समय कोरोनाको कारणले लगत फर्छ्योटमा पनि अदालतले लिएको लक्ष्यमा प्रगति गर्न अलि नसकिएको पर्सा जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले बताए।

कूल फैसला भएका मुद्दा पर्सामा मात्र कुल ८ सय ९५ वटा रहेका छन्। यी मुद्दा संख्यामा ६ महिनाभित्रका दुई सय ३५ वटा र ६ महिनाभन्दा माथिका ६ सय ५८ हुन्। दुई वटा भने नयाँ छन्।

न्यायालयले किनारा लगाइसकेका यी मुद्दाहरूमध्ये ८ सय ९३ वटा जिम्मेवारी सरी आएका पुराना लगत फर्छ्याेट गर्न बाँकी मुद्दा भएको अदालतको तहसिल शाखा प्रमुख पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.