|

उदयपुर : कटारी नगरपालिका-११ का राजु खड्काको दुवै मृगौला खराब भएकाले उनलाई बचाउनको लागी परिवारजनले सहयोगको याचना गरेका छन्।

खड्काको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको पीडितकी श्रीमती सविना खड्काले बताइन।  वृद्ध बुबाआमा, श्रीमती र एक नाबालिका छोरीको भरणपोषण गर्नुपर्ने २४ वर्षीय खड्का आफैँ बिरामी परेपछि उपचारमै समस्या परेको छ।

सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको खड्का परिवारको आर्थिक अवस्था नाजुक छ। राजुकी श्रीमती सविना भन्छिन्, ‘अहिले हामीलाई खानलाउन नै समस्या भैरहेको छ, यस्तो अवस्थामा बिरामीको उपचार कसरी गराउने भन्ने सकसले अत्यास बढाएको छ।' उनले उपचार खर्च जुटाइदिएर श्रीमान बचाइदिन परोपकारीहरूलाई अनुरोध गरेकी छिन्‌।

२०७४ साल मंसिर १ गते गोरखा घर भएकी सविनासँग राजुको विवाह भएको थियो। विवाह भएको एक वर्षपछि बैदेशिक रोजगारीको लागी कतार गएका राजुले यूबीसी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरेका थिए। तीन महिनापछि ड्युटीमै रहेका बेला एक्कासि बेहोस भएर ढलेपछि प्रहरीले अस्पताल लगेको उनले बताए।

खड्काले भने, 'होस आए पछि चेक जाँच गर्दा किड्नीमा समस्या छऽ डायलसिस गर्नुपर्ने हुन्छ भनेर डाक्टरले भने, कम्पनीले तीन महिनापछि मलाई नेपाल फिर्ता पठाइदियो।'

नेपाल आइसकेपछि उनले परिवारका सदस्यलाई खबर गरी वीर अस्पतालमा दुई दिन भर्ना भएर उपचार गराएका थिए। एक वर्षदेखि उनले कहिले काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र विपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन्‌।

​अहिले विपी प्रतिष्ठान धरानमा  खड्काको उपचार भइरहेको छ। अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ।  विपी प्रतिष्ठान धरानमा डायलासिस मात्र हुने भएकाले पैसा जम्मा भए काठमाडौं लगेर मृगौला प्रत्यारोपण गरी आफ्नो श्रीमानलाई बचाउन सकिने श्रीमती सविनाको आशा छ। 

नाता, इष्‍टमित्र तथा आफन्तकै भरमा अस्पताल पुर्‍याएर उपचार गरिरहेको दाजु प्रविण खड्काले बताए। उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैयाँ जम्मा गर्न भनेपनि आफूसँग रकम जम्मा गर्ने क्षमता नभएकाले सहयोग माग्नुको विकल्प नभएको जानकारी गराएका छन्‌।

मुक्तिनाथ विकास बैंक कटारी शाखामा दाजु प्रवीण खडकाको नाममा खोलिएको खाता नम्बर ०४६२०१००५८२५४५०००००१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.