सभापति देउवाले केन्द्रीय समितिमा प्रस्ताव लैजाँदै

|
फाइल फोटो

काठमाडौं  : प्रमुख विपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने तयारी सुरु गरेको छ।

 बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गतेको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको हो ।

सह-महामन्त्री डा.प्रकाश शरण महतले भने, ‘सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम नै गरेन। भ्रष्टाचारमा लिप्त भयो। रोग र भोग दुवैले जनता मर्नुपरेको छ। केपी ओली नेतृत्वको सरकारलाई गुटबन्दी गर्न ठिक्क भएपछि सडक आन्दोलन गर्ने निर्णय भएको छ।’ 

कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा बस्ने तय भएको छ। उक्त बैठकमा सभापति देउवाले नै सामाजिक दूरी कायम गरी सडक आन्दोलन गर्ने प्रस्ताव गर्नेछन्।  बुधबारको बैठकमा देउवा पक्षका नेताहरु मात्रै सहभागी भएकाे बताइएकाे छ।

पदाधिकारीको बैठकले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि सहमति गरेको छ । कांग्रेस संसदीय दलले संसदको विशेष अधिवेशनको माग गर्नेछ।

‘यो सरकारले कोरोना नियन्त्रण, उपचार तथा जनताको जनजीविकाको विषयमा कुनै ध्यान दिएन,’ उनले भने, ‘सरकारलाई दवाव दिन सडक र सदन दुबै माध्यमबाट अगाडि बढ्नुपर्ने अनिवार्य भइसक्यो ।’

डा.महतले सरकारको भ्रष्टाचारलगायतका विषयमा केन्द्रदेखि जिल्लासम्म आन्दोलनका कार्यक्रमहरू केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने जानकारी दिए ।

‘कोरोना महामारीका बेला सरकारले काम गरोस् भनेर कांग्रेसले सधैँ सहयोग गर्‍यो,’ उनले भने, ‘सरकारले जनताको जीवन बचाउने भन्दा पनि सत्ताको खेलमा लाग्यो । जनता भोकै मरिरहेका छन् । कोरोनाले दिनदिनै सयौँको संख्यामा संक्रमित भइरहेका छन् । अब कांग्रेस चुप लागेर बस्दैन । सडक र सदनबाट सरकारलाई दवाव सिर्जना गर्छ ।’

पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल समूहले बुझाएको ज्ञापन पत्रका विषयमा पनि छलफल भएको छ । सो ज्ञापन पत्रमा उठेका विषयलाई असोज १९ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उचित सम्बोधन गरिने महतले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.