|

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गएको २२ दिनमा तरकारी, फलफूल र खाद्य गरी एक सय २३ वटा पसलमा अनुगमन गरेको छ।

अहिलेसम्म कालिमाटी,बल्खु लगायत ठाउँमा अनुगमन गरिसकेको समितिका संयोजक एवम्‌ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ जानकारी दिइन्‌।

उपप्रमुख श्रेष्ठका अनुसार अनुगमन गरिएका पसलहरूमध्ये २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको छ। व्यापारीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरेर आर्थिक जरिवाना तिराउँदै आएको उनले बताइन्‌। उनले भनिन्‌, ‘कानूनी मापदण्ड नपुगेका पसलहरूलाई कारबाही गरिरहेका छौँ। जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कम्तीमा एक हजार र बढीमा २ लाख ५५ हजार रुपैयाँ तिराइएको छ।’ 

उनका अनुसार अनुगमन क्रममा पसलमा मूल्यसूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाण पत्र, लेबलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भए/नभएको हेरिएको थियो।

महानगरले काठमाडौंका कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा रहेका ठूला तरकारी पसलहरू अनुगमन गरेको हो। यस्तै कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली क्षेत्रमा रहेका दाल, चामल र तेलका ठूला गोदामहरू पनि अनुगमन गरिएको महानगरपालिका कार्यालयले जानकारी दिएको छ। 

अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका दुई र बल्खु तरकारी तथा फलफुल बजारका दुई गरी चार जना व्यापारीलाई कालोबजारीको कसुरमा न्यायिक हिरासतमा राखिएको पनि उनले जानकारी दिइन्‌। 

‘नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुका पसल अनुगमन गरिरहेको छ,’ उनले भनिन, ‘बिक्रीका लागि राखिएका उपभोग गर्ने समय सकिएर प्रयोग गर्न नमिल्ने सामान बेचिरहेका ११ वटा पसलबाट करीब १० लाख रुपैयाँ मूल्य बराबरका सामान बरामदपछि नष्ट गरेका छौँ। अझै नियमित अनुगमन गछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.