पक्षका वकिलले पेश गरे माधव नेपालको नजिर

|

काठमाडौं : राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनीत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रीसहितका संवैधानिक पदमा जान नदिन सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ।

बुधबार बसेको संवैधानिक इजलासमा बहस नटुंगिएपछि यसलाई हेर्दाहेर्दैमा राखिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त मुद्दाको आज पेसी चढेको थियो। 

विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न उपस्थित कानुन व्यवसायीले बहस गर्न नभ्याएपछि मुद्दा हेर्दा हेर्दैमा गएको हो। 

आज विपक्षीकोतर्फबाट महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले बहस सकेका छन्। सर्वोच्च अदालतका अनुसार अब शुक्रबारको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ।

गौतमको नियुक्ति गैरसंवैधानिक भएको दाबीसहित रिट निवेदकको पक्षबाट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता हरि उप्रेती, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीसहितले बहस गर्दै गौतमको नियुक्ति खारेज गर्न माग गरेका छन्।

महान्यायाधिवक्ताको कार्यालयका वकिलले यसअघि पनि माधव नेपालसहितका नेता निर्वाचनमा पराजित हुँदामेत सांसद भएको नजिर पेश गर्दै गौतमको पक्षमा बहस गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासमा भएको बहसमा गौतमका पक्षबाट बहस गर्न ४० जना वकिलले वकालतमा पेस गरेका अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिएका छन्। 

गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायतले बहस गर्ने भएका छन्। तर उनीहरुले आज बहस गर्न भ्याएनन्। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपक कार्की, हरिकृष्ण कार्की, विश्‍वम्भर श्रेष्ठ र ईश्‍वर खतिवडा छन्। यस मुद्दामा यही शुक्रबार फेरि बहस हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.