सस्तो गर्ने प्रचार गरेर झुटको खेती गर्दै नोबेल अस्पताल
सस्तो गर्ने प्रचार गरेर झुटको खेती गर्दै नोबेल अस्पताल
विराटनगर : विराटनगरका निजी अस्पतालले कोरोना परीक्षणका लागि गरिने पिसिआरको शुल्क मनलाग्दी लिने गरेको पाइएको छ। सरकारले तोकेको शुल्क भन्दा दोब्बर लिएर कतिपय अस्पतालले पिसिआर परीक्षण गराइरहेका छन्।
सरकारले स्वाब संकलनसगै पिसिआर परीक्षण र रिपोर्टसहितसबै काम गरेबापत २ हजार शुल्क कायम गरेको छ। तर विराटनगरका अस्पतालले ४ हजारसम्म शुल्क लिएका छन्।
कतिपय अस्पतालहरुले स्वाब संकलनदेखि रिपोर्ट प्रिन्ट समेतको अतिरिक्त्त शुल्कसमेत जोडर सेवाग्राहीसँग पैसा असुल्ने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएका विराटनगरका न्युरो अस्पताल, नोबेल र विराट मेडिकल कलेजले पिसिआर परीक्षणमा बढी शुल्क उठारहेको पाइएको हो।
विराटनगरमै पिसिआर मेसिन ल्याएर परीक्षण थालेको मोरङको बुढीगंगा २ टंकीसिनवारीस्थित विराट मेडिकल कलेजले आफ्नै तीन तहको मापदण्ड बनाएर शुल्क निर्धारण गरेको छ।
उसले पिसिआर परीक्षण शुल्क भन्दै १ हजार ९९९ रुपैयाँ लिएर त्यसमा अतिरिक्त ‘सुरक्षा सावधानी शुल्क’ लिने गरेको छ। विराट मेडिकल कलेजका पिसिआ0र ल्याब प्रमुख प्रमेशराज देवकोटाले सरकारले तोकेको शुल्कमा पिसिआर भए पनि अन्य सुरक्षा सावधनी शुल्क छुट्टै लाग्ने बताए।
विराटमा भर्ना भएका बिरामीले पिसिआर परीक्षणका लागि १ हजार ९९९ रुपैयाँ र स्वाब संकलन तथा सुरक्षा सामग्रीको शुल्क थप ६ सय रुपैयाँ बुझाउनुपर्छ। विराटनगरकै अर्को न्युरो अस्पतालले पिसिआर परीक्षण शुल्क ३८ सय ९९ रुपैयाँ तोकेको छ।
अस्पतालका निर्देशक राजेश भट्टराईले निजी प्रयोगशाला तथा अस्पतालहरुले तोकेको शुल्कमा रहेर अस्पतालले पिसिआर परीक्षणको शुल्क लिने गरेको बताए।विराटनगरकै अर्को शिक्षण अस्पताल नोबेलले सरकारले २ हजार शुल्क लिने गरेको छ।
झुटको खेती गदै नोबेल
सरकारले तोकेको भन्दा १ हजार ५ सय ५० कम शुल्क तोकेको घोषणा गरेको नोबेलले झुटको खेती गदै सेवाग्राहीसँग २ हजार रुपैयाँ असुलिरहेको छ। नोबेलले देशमै सबैभन्दा सस्तो १ हजार ५५० मा कोरोना परीक्षण थालेको प्रचार गरेको थियो। तर, सस्तोमा नोबेल अस्पतालमा पिसिआर परीक्षण गराउनेसँग उसले २ हजार रुपैयाँ असुलिरहेको छ।
नोबेलमा पिसिआर परीक्षण गर्न जानेलाई उसले १ हजार ५५० रुपैयाँकै रसिद काट्न लगाउने गरेको छ। तर, त्यसबाहेक स्वाब संकलन शुल्क भन्दै थप अतिरिक्त्त ४५० रुपैयाँको रसिद काटेपछि परीक्षण गर्ने गरेको छ।
नोबेलले मुलुककै सस्तोमा पिसिआर परीक्षण गरिने भन्दै कोरोना परीक्षणका लागि दुई वटा अत्याधुनिक पिसिआर मेसिन ल्याएको जनाएको छ। नोबेलका प्रबन्धक नारायण दाहालले दशेभरमै सस्तो मूल्यमा पिसिआर परीक्षण गरिरहेको दाबी गरे। नोबेलले तोकेको परीक्षण शुल्क अन्य निजी प्रयोगशालाको भन्दा र सरकारले तोकेको भन्दा पनि कम रहेको उनको दाबी छ।
‘पिसिआर परीक्षणको शुल्क अस्पतालले तोकेकै शुल्कमा हुनेछ, ’प्रबन्धक दाहालले भने, ‘पिसिआर गर्न स्वाब संकलन लगायतका कार्यमा थप स्वास्थ्य सामग्रीको प्रयोग हुन जान्छ।’ त्यसको थप अतिरिक्त शुल्क सेवाग्राहीले तिर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।