नेपालमा खुट्टा तान्‍ने प्रवृत्तिले दु:ख दिएको गुनासो

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सञ्‍चारमाध्यमका सम्पादकहरूको व्यवहारलाई लिएर गुनासो पोखेका छन्। 

भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकसँग गुनासो रहेको बताएका हुन्। 

उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति रहेको बताए। सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्‍न भन्‍ने प्रवृत्ति सम्पादकहरूमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए। 

'सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्छ', उनले भने, ‘यो सञ्चार जगत यस्तो हो, अरु जसलाई जे भनेपनि छुट पाइन्छ। सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन। एकदम 'सेन्सेटिभ' नी।'

उनले सञ्चारमाध्यमलाई चुस्स छोयो भने बुरुक्क उफ्रिने गरेको बताए। 'यसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो। अलि अगाडि म सँग सञ्चारकर्मी र सम्पादकहरू भेट्नुभयो । तर उहाँहरुले हामीलाई किन यसो भन्‍नुभयो भनेर  सोध्नुभयो  मैले भनेँ, 'तपाईंहरुले दिनरात गाली गर्दा हुन्छ । मैले अलिकति भने भने तपाईंहरु दिनरात गाली गर्ने मैले किन यसो गर्‍यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो। आफूले भनेको भन्यै गर्ने यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्‍ने। मैले अलिकति सुझाव दिएँ भने सहन्‍नँ भनिहाल्ने,’ ‌ओलीले गुनासो गर्दै भने।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्‍ने प्रवृत्ति रहेको पनि बताए। बाकसमा रहने भ्यागुतोको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्‍ने प्रवृति रहेको उनले दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए। बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने गरिने समेत बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.