नेपालको अवस्था चिन्ताजनक नरहेको जिकिर

|

काठमाडौं: : गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्। 

संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताए। 

घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्‍वास गृहमन्त्री थापाले व्यक्त गरे। थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताएका छन्।  

सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिएका छन्। 

मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए। पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानुनलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए। 

'झन्डै ६-७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी-बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन्', उनले भने, 'यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं। कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ। हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्‍ने प्रश्‍न उठेको छ। 

थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढिरहे पनि विश्‍वका अन्य देशहरुको तुलनामा अवस्था चिन्ताजनक नभएको बताएका छन्। 

विश्‍वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडी रहेको बताएका छन्।  'झण्डै सवा २०० देशहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन। सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सवा भित्र हामी टप १५ मा छौं', उनले भने, 'अमेरिका पनि टप १० भित्र पर्छ। त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ। तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ। यस्ता घटना रोक्न सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.