|

बागलुङ : विद्यालयमा बनाइएका क्‍वारेन्टिन नहटाउँदा सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिकाअनुसार पठन-पाठन गराउन समस्या परेको छ।

विद्यालयमा बनाइएका क्‍वारेन्टिनको विकल्प नखोजिँदा वैकल्पिक सिकाई नै प्रभावित भएको हो। बागलुङमा भारत लगायतका देशबाट आउनेहरूको संख्या घटेको भएपनि रोकिइसकेको छैन।

तेस्रो मुलुकबाट आउनेलाई समेत स्थानीय तहहरूले विद्यालयमा नै बनाइएका क्‍वारेन्टिनमा राख्ने गरेका छन्। विद्यालयमा बाहिरबाट आउनेहरूलाई राख्ने गरिएपछि विद्यालयहरूले भने टोलमा विद्यार्थी जम्मा गरेर पढाउनु परेको गुनासो गरेका छन्। जिल्लाका दुई सयभन्दा बढी विद्यालयमा क्‍वारेन्टिन बनाइएको थियो। तीमध्ये अधिकांश माध्यामिक तहको विद्यालयमा क्‍वारेन्टिन छन्।

पछिल्लो पटक बागलुङका ३१ जनामा एकैपटक कोरोना संक्रमण देखिएपछि क्‍वारेन्टिन बनाइएको विद्यालय तत्काल खुल्ने संभावना झन् टर्दै गएको शिक्षकहरूले बताएका छन्‌। ‘हामीले अहिले पनि टोलमा पुगेर कक्षा चलाएका छौं, विद्यालयमा क्‍वारेन्टिन हटेको छैन,’ त्रिभूवन मावि खरवाङका प्रधानाध्यापक ढालमणी भण्डारीले भने, ‘विकल्पका भवन र संरचना बनाएर क्‍वारेन्टिन राख्नुपर्थ्यो।’ सयौं विद्यार्थीलाई समुदायमा राखेर पढाएको उनले बताए। विद्यालय खोल्न सकेको भए दूरी कायम गर्ने र पालो गरेर कक्षा चलाउन सकिने उनले बताए।

सदरमुकाम आसपासका विद्यालयमा भने क्‍वारेन्टिन संख्या थोरै छ। तर, सदरमुकामकै रामरेखा आधारभूत विद्यालयमा क्‍वारेन्टिन र धौलागिरी बहिरा आवासिय विद्यालयमा आइसोलेसन बनाइएको छ।

‘हामीले त यो वर्षभरिनै पढाउन सक्दैनौंजस्तो छ’ बहिरा विद्यालयका प्रअ रेशम श्रीषले भने, ‘आइसोलेसन बनाइएका विद्यालय कहिले खाली हुने र कहिले निसंक्रमण गर्ने पत्तो छैन।’ दशै तिहारपछि विद्यालय खोलेर पढाउने भन्ने तयारी र खोजी गरेको श्रीषले बताए।

ताराखोला गाउँपालिकाले आइतबारदेखि विद्यालयहरू नै खोलेर पढाउने काम थालेको छ। त्यहाँका विद्यालयमा बनाइएका क्‍वारेन्टिन हटाइएका छन्। छिटफुट रुपमा बाहिरबाट आउने मानिसलाई सामुदायिक भवन र अन्य सुरक्षित स्थानमा राख्ने तयारी गरेकोले विद्यालय संचालन सहज भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए। ताराखोलाले कोभिड अस्पतालको रुपमा स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न थालिसकेकोले क्‍वारेन्टिनमा पनि सहजता बन्दै गएको उनले बताए।

सबैभन्दा बढी जैमिनी नगरपालिकामा यो समस्या छ। जैमिनीका अधिकांश माध्यामिक विद्यालय क्‍वारेन्टिनकै रुपमा छन्। त्यसैले नगरपालिकाले सामुदायिक भवन र प्राथमिक विद्यालय प्रयोग गरेर कक्षा चलाउने योजना बनाएको बताइएको छ।

‘हामीले टोल–टोलमा बालबालिका जम्मा गरेर पढाउने र प्राथमिक विद्यालय प्रयोग गर्न थालेका छौं,’ नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘खाली भएका कक्षाकोठालाई भरपुर उपयोग गरेर पढाई भने संचालन गर्ने लक्ष्य छ।’

शिक्षा मन्त्रालयले निर्देशिकाकै आधारमा आगामी मंसिरमा अर्धवार्षिक र चैतमा वार्षिक परीक्षा संचालन गर्ने योजना बनाएको छ। उक्त योजना अनुसार परीक्षा चलाउन पनि दशैअघि र पछिको समय पढाई संचालन गर्नु आवस्यक देखिन्छ। कतिपय सहरी क्षेत्रका विद्यालयले भने अनलाइन कक्षा पनि चलाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.