|

कालीकोट : जिल्लाको स्युना गाविसमा १४ सय मिटर लामो शान्तिघाट सिँचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ। साना सिँचाइ परियोजनाको सहयोगमा कुलो निर्माण भएको हो। वि.स.२०७० सालमा गएको बाढी पहिरोका कारणले अवरुद्ध भएको कुलो निर्माणमा साना सिँचाइ परियोजनाले सहयोग गरेको हो। 

सिँचाइ कुलो निर्माण भएपछि स्युना गाविस–९ को शान्तिघाटमा हिउँदे र वर्षे बाली लगाउन सजिलो भएको स्थानीय जयबहादुर फर्सालले बताए। ‘कुलो नहुँदा बाली लगाउन आकाशे पानीको  भर पर्नुपर्ने बाध्यता रहेको थियो। ‘सिँचाइ कुलो निर्माण भएपछि बाली लगाउन आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हटेको छ’ उनले भने ।
पानी नहुँदाँ गाउँको सयौं हेक्टर जमिन बाझै रहेको र सिँचाइ कुलो निर्माणपछि अहिले हिउँदे मकै बाली, तरकारी खेती गर्न सजिलो भएको स्थानीय दन्ते नेपालीले बताए। ‘सिँचाइ कुलो नहुँदा गाउँको जमिन बाझै थियो।’ उनले भने,‘कुलो निर्माणका कारणले अहिले गाउँमा हिउँदे मकै बाली र तरकारी खेती गर्न सजिलो भएको छ।’
कर्णाली करिडोरको क्षेत्रभित्र पर्ने भएका कारणले कुलो निर्माणपछि स्थानीयले तरकारी खेती र खाद्यान्न बाली उत्पादन गरेर स्थानीयले मनग्गे आम्दानी लिन सक्ने भएका कारणले कुलो निर्माणपछि स्थानीय बासिन्दाको आयआर्जनका क्रियाकलापमा वृद्धि हुने सब–इन्जिनियर कमल रावलले बताए। ‘कर्णाली करिडोरसँग जोडिएको ठाउँमा सिँचाइ कुलो निर्माण भएको छ।’ उनले भने, ‘यसबाट स्थानीयलाई आर्थिक आयआर्जन गर्न सजिलो हुनेछ।’

जिल्लामा साना सिँचाइ परियोजनाले ४० वटा कुलो निर्माण कार्य गरिरहेको र २० वटा निर्माण भइसकेका छन्। ४ वर्षमा २ सय वटा सिँचाइ कुलो निर्माण गर्ने लक्ष्य लिइएको परियोजनाका सब–इन्जिनियर कमल रावलले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.