|

जुम्ला : जुम्ला आइपुगेका चारजना बेसहारा बालबालिकालाई पुनर्स्थापनाका लागि सुर्खेत पठाइएको छ। 

महिलाहरूका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र, प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरूको सहयोगमा उनिहरूलाई सुर्खेत पठाइएको हो।

जुम्लामा बसेका उनीहरूको पहिचान खुलेपछि गाँसबास र अध्ययनका लागि समन्वय गरी प्रहरीको साथमा सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए।

महिलाहरूका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठका अनुसार उनीहरूले शुरूमा नाम पनि फरक दिएका थिए। अहिले वास्तविक ठेगाना पहिचान भएको छ।

१७ मधु विक भनिएकी किशोरीको नाम सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको छ। ३ वर्षको बच्चा आशीष विक भनिएको बालक १७ वर्षकी सुनिता परियारको छोरा भएको खुलेको छ। त्यस्तै, १६ वर्षकी अर्की किशोरीको नाम कविता परियार रहेको खुलेको छ। नौ वर्षीय नविन विक भनिने बच्चाको नाम ललित परियार, १७ वर्षका सुनिताका भाइ भएको खुलेको छ।

कविताको आमाको निधन भइसकेपछि उनका बाबाले कान्छी श्रीमती ल्याएका र शारिरिक तथा मानसिक हिंसामा पारेका कारण उनी कामको खोजीमा जुम्ला आएको बुझिएको छ। 

उनीहरूलाई बेबारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ले,चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठ सहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको छ।

सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालिन पुनस्थापनाका लागि कुरा भएको अध्यक्ष श्रेष्ठले बताइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.