सीमा सिल हुँदा दैनिक ६ करोड नेपाली रुपैयाँ विदेशिनबाट जोगियो

|

विराटनगर : कोरोना महामारीका कारण भारतसँगको सीमा नाका बन्द भएपछि वारीपटीको बजार बिस्तारै गुल्जार हुनथालेका छन्‌।

सिमानाका नाका बन्द भएपनि सीमावर्ती नेपालीको किनमेल गर्ने प्रवृत्तिपनि फेरिएको छ। जसका कारण पूर्वी नेपालका सीमावर्ती ठूला शहर विराटनगर,भद्रपुर,काकडभिट्टाका बजार क्रमश: चलायमान हुन थालेको हो।

लामो समयको लकडाउन निषेधाज्ञाका कारण व्यापार-व्यवसाय ठप्प भएको यी शहरमा अहिले चहलपहल ह्वातै बढेको छ। सामान्य अवस्थामा सीमावर्ती बजारमा नेपाली उपभोक्ता किनमेलमा लागि जाने गरेकाले प्राय: यी शहरमा नगन्य व्यापार हुने गर्थ्यो।

पूर्वी नाका काकडभिट्टाबाट पश्चिम बंगालका पानीट्याकी र सिलिगुडीसम्म नेपाली उपभोक्ता किनमेल लागि पुग्ने गर्थे। त्यसैगरी, झापाकै सदरमुकाम भद्रपुर लगायतका क्षेत्रका नेपाली उपभोक्ता भारतीय बजार विहार राज्यको गलगलिया,ठाकुरगंज जाने गरेका थिए। जसका कारण सबै भन्दा धेरै त्यसको मार विराटनगरको बजारले खेप्दै आएको थियो।

तर अहिले अवस्था फेरिएको छ। सीमा सिल भएसँगै नेपाली उपभोक्ता स्थानीय बजारमा रोकिएका छन्‌। जसका कारण स्थानीय बजारहरू लामो समयपछि गुल्जार हुने थालेकाछन्‌‌। नेपाली उपभोक्ताले नेपाली उत्पादन खरिद गर्ने क्रम बढेको छ। नेपाली रुपैयाँ भारत जानबाट समेत रोकिन पुगेको छ।

लयमा फर्कँदै सीमावारीका बजार

नजिकिँदो दुई ठूला चाडपर्वसँगै बजारमा मानिसहरूको सामान किनेको भीड बढेको छ। सीमावर्ती क्षेत्रका मानिस किनमेलका लागि भारतको जोगबनी बजार जाने क्रमले विगतका वर्षमा विराटनगरको व्यपार–व्यवसाय समामान्य अवस्थामा रहने गरेको थियो।

तर यो वर्ष कोरोनाको महामारीका कारण सीमा बन्द भएकाले नेपाली उपभोक्ता किनमेलका लागि स्वदेशी बजार विराटनगरमै भर पर्न थालेका छन्। जसकारण बजार गुल्जार बनेको हो। विराटनगरका मेनरोडका कपडा व्यापारी पंकज शर्माले लकडाउन र निषेधाज्ञाका कारण ठप्प बनेको व्यापार व्यवसाय पुरानै लयमा फर्किन थालेको बताए।

‘कोरोना महामारीका कारण सीमा सिल गरिएकाले सिमापारीका बजारमा नेपाली उपभोक्ता किनमेलका लागि जाने क्रम रोकिएको छ’, व्यापारी शर्माले भने, ‘नजिकिँदै गरेका दुई ठूला चार्डपर्वका लागि नेपाली उपभोक्ताले किनमेलमा लागि स्वदेशी बजार विराटनगरमै भर पर्नुपरेको अहिलेको अवस्था छ।’ 

शर्माका अनुसार विगतका वर्षमा दशै र तिहार लक्षित सामान किनमेलमा लागि नेपाली उपभोक्ता भारतीय बजार जोगबनीको भर पर्ने गरेका थिए। जसका कारण विराटनगरको व्यापार व्यवसाय खुम्चिएर ४० प्रतिशतमा सीमित हुने गरेको थियो। यो वर्ष भने अवस्था फेरिएको उनको अनुभव छ।

विराटनगरकै मेनरोडमा रहेको तयारी गार्मेन्ट न्यू अम्बे स्टोरका सञ्चालक गौतम चेलले दसैंतिहार र छठजस्ता चाड नजिकिएसँगै खुद्रा व्यवसायीमा आशाको सञ्चार पलाएको बताए। उनले करिब ६ महिना लामो लाकडाउन र निषेधाज्ञाको अवधिको समयको व्यापार व्यवसायमा भएको नोक्सानीलाई नजिकिएका चाडबाडले भरथेग गर्ला भन्ने विश्वास रहेको बताए।

‘नेपाल–भारत सीमा सिल भएका कारण यो वर्ष वारिपट्टिको बजार गुल्जार हुदैछ,’ सञ्चालक चेल भन्छन्‌, ‘नेपाली ग्राहक विराटनगर पारिको जोगबनी बजार जान पुर्ण रूपमा अहिले रोकिन पुगेका छन्‌। खास गरी कपडा, तयारी कपडा, जुत्ताचप्पल र किरानाका पसलको व्यवसाय मौलाएको छ।’

विराटनगरका धरै जसो व्यपारीले सीमापारि मान्छे नजाँदा र सीमा बन्द हुँदा सीमावारीको व्यापार राम्रो भएको अनुभव गरेका छन्‌। सरकारले कोरोना महामारीमा भारतसँगको सीमा नाका बन्द गर्दाको सकारात्मक असर नेपाली बजारमा देखिन थालेको छ। विराटनगर जस्तै झापाको सदरमुकाम भद्रपुरको बजारमापनि किनमेल गर्नेको भीड बढेको छ। अर्को सीमावर्ती बजार काकडभिट्टा,धुलाबारी,दमक लगायतका बजारमापनि मानिसको चहलपलह ह्वातै बढेको छ। प्राय सबै पसलमा किनमेल गर्नेको भीड लागको व्यापारीहरूको भनाई छ।

रोकियो कालोबजारी

प्रदेश १ का सीमावर्ती नेपाली बजारमा पनि व्यापार बढेको छ। काकडभिट्टा,भद्रपुर,धुलाबारी,विर्तामोड,विराटनगर,रंगेली ,सुनसरीको भेन्टाबारी क्षेत्रका बजारमा किनमेल बढेसँगै कालोबजारी पनि रोकिएको उपभोक्ताहरू बताउँछन्‌।

‘सियोदेखि ठूल्ठूला मेसिनरी सामानको आयात हुँदा ठुलो रकमको दैनिक कारोबार भारतमा हुन्थ्यो’, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले लकडाउन व्यापारको अनुभव सुनाए, ‘भारतीय सामान ८० प्रतिशत कालोबजारी भएर आउँथ्यो। अहिले त्यो ठप्प छ। ठूला व्यापारीले कर तिरेर ल्याउने भएकाले राजस्व पनि बढेको छ।’ 

सस्तो पाउने भन्दै नेपाली उपभोक्ता दैनिक उपभोग्यका खाद्यान्न किन्न जोगबनी जाने गरेका थिए। विराट व्यापार संघको अध्यक्ष सुजन थापाले स्वदेशी खाद्यान्न उद्योग फस्टाइरहेको बताए। खाद्यान्नको थोक बिक्री ७० प्रतिशतले र खुद्रा बिक्री ४० प्रतिशतले बढेको उनको भनाइ छ।

‘डाबर, लिभरका सामान नेपालमै सस्तो पाइन्थ्यो। उपभोक्ताले भारतमा गएर किनेर ल्याउँथे। नेपाली चियापत्ती नै राम्रो भए पनि भारतीय किन्थे। वनस्पति घीउ नेपालबाटै जान्थ्यो। उता गएर ल्याउँथे’, थापाले भने, ‘अहिले स्वदेशी उद्योग पनि फस्टाएका छन्। उपभोक्ता पनि नेपाली उत्पादनमा बानी परिरहेका छन्।’

उनका अनुसार विगतमा खाद्यान्न मात्र दैनिक पाँच करोड रुपैयाँ जतिको आयात हुन्थ्यो। लकडाउनका बेला सेन्टर मल र भाटभटेनीले खाद्यान्नमा बजार नियन्त्रण गरेर मद्दत गरेको बताए।

विराटनगरस्थित भाटभटेनीका प्रबन्धक विनोद भट्टराईले लकडाउनका बेला भाटभटेनीले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गरेको दाबी गरे। ‘भूकम्प र नाकाबन्दीका बेला भएको चर्को कालोबजारीका बेला पनि भाटभटेनीले सेवा गरेको थियो’, उनले भने, ‘त्यही अनुभवले लकडाउनका बेला पनि बजारलाई मनपरी गर्नबाट रोकेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.