सहयोगी भन्छन् : अवस्था 'गम्भीर', तर सरकारले फर्केर हेरेन

|

काठमाडौं : चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पटकपटक गरेर १९ औँ पटक अनशन बसिरहेका प्राडा गोविन्द केसीबारे यसपटक  सरकारले बेवास्ता गरेको छ। पहिलेका अनशनजस्तो समर्थकहरूको भीड पनि यसपटक देखिएको छैन।

यस अगाडि १८ पटकको अनशनमा सरकारले शिक्षा मन्त्रालयका प्रतिनिधिसहित वार्ता समिति गठन गर्दै केसीको मागको विषयमा गम्भीरता देखाउँदै आउने गरे पनि यसपटक भने सरकार केसीको अनशनबारे पूरै बेखबर छ। हरेक अनशनमा माग फेर्दै आएका केसीका मागमा हरेकपटक प्रतिपक्षमा रहनेहरूले भने नैतिक साथ दिँदै आएका छन्।

चिकित्सा शिक्षा सुधारसहितका माग अगाडि सारेर १८ दिनदेखि अनशनरत डा. केसीको मागप्रति सरकार अझै अनुदार देखिएको छ। उनी ६ सूत्रीय मागसहित १९ औँ अनशनमा छन्। उनको समग्र स्वास्थ्य सूचक खस्किँदै गएको चिकित्सकहरुले बताउँदै आएका छन्। तर, यति लामो समय भइसक्दा पनि उनको अनशन र मागलाई सरकारले पूरै बेवास्ता गरेको छ।

यसअघि केसीको अनशनले संसददेखि सिंहदरबार र सडकसम्म तताउने गर्थ्यो। तर यसपटक भने केसीको अनशनले न सिंहदरबारलाई छोएको छ न आम मानिसले नै चासो देखाएका छन्।

केसीकै अनशनले गर्दा पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गराउनदेखि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई समेत राजीनामा गराउन बाध्य  बनाएको  थियो। यस्तै केसीकै अनशनले चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार पनि भएको छ।

उनकै अडानले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक आएर हाल चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन भूमिका खेल्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको समेत स्थापना भएको छ।

उनको अनशनलाई समर्थन गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल यस पटक सरकारले केसीको अनशनलाई बेवास्ता गरेर एक सत्याग्राहीको जीवनप्रति खेलबाड गरेको बताउँछन्।

उनले भने, ‘डा. केसीको माग व्यक्तिको लागि होइन, सम्पूर्ण जनताको लागि हो। तर सरकारले यस पटक उनको मागलाई इगोको रुपमा लिएर पूरै बेवास्ता गरेको छ, यसले एक निष्ठावान् सत्याग्राहीको जीवनमाथि खेलबाड हो।‘

डा केसीलाई कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। चिकित्सकका अनुसार केसीमा कमजोरी महसुस भइरहेको छ। मुटुको धड्कन घटबढ भएकाले कुनै पनि बेला आइसियुको आवश्यकता पर्न सक्छ।

 १९ औ दिनसम्म आउँदा पनि सरकारी पक्षबाट औपचारिक अनौपचारिक रुपमा कुनै पनि चासो नभएको गुनासो गर्दै केसीको अनशनमा सहयोगीको भूमिका खेल्दै आएका प्रितम सुवेदीले बताए। उनले भने, ‘यस पटक आजसम्म सरकारको पक्षबाट औपचारिक अनौपचारिक रुपमा कुनै तरिकाले पनि उहाँको अनशनप्रति सरकारले चासो दिएको छैन।’

डा. केसीले गत २९ भदौबाट जुम्लामा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या आउन थालेपछि उनी एक हप्ताअघि काठमाडौं आएका थिए। तर, उनले शिक्षण अस्पताल महाराजगन्जबाट आफ्नो अनशनलाई निरन्तरता दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.