|

काठमाडौंः सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाट परीक्षा लिएकामा प्रभावकारी भएको जनाएको छ।

विश्वविद्यालयले अहिले अनलाइन माध्यमबाट परीक्षा लिइरहेको छ। शैक्षिकसत्र खेर जान नदिनका लागि विश्वविद्यालयले असोज १२ गतेदेखि नै अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गरेको हो।

अनलाइन माध्यमबाट लिइएको परीक्षा प्रभावकारिता राम्रै रहेको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द पन्तले बताएका छन्‌। उनका अनुसार अनलाइनमार्फत लिइएको परीक्षामा सबै विद्यार्थी उपस्थित भएका छन्‌।

‘अहिलेसम्म अनलाइनबाट लिइएको परीक्षा प्रभावकारी देखिएको छ,’ उनले भने, ‘परीक्षामा सबै विद्यार्थी सहभागी भैरहेका छन्‌, अनलाइनबाट परीक्षा लिएपनि केही समस्या देखिएको छैन।’ अरु विश्वविद्यालयले पनि कोरोना संक्रमण कायमै रहिरहे यस्तै माध्यमबाट परीक्षा लिन सकिने उनले सुझाए। उनका अनुसार अबको एक हप्तामा विश्वविद्यालयले लिने सबै परीक्षा सम्पन्‍न हुनेछ।

‘प्रश्नपत्रको पीडिएफ फाइल डाउनलोड गर्न चाही समस्या हुँदो रहेछ। तर, हामीले नजिकै रहेको स्कुल लगायत अन्य विभागमा डाउनलोड गरिदिने व्यवस्था गरिदिएका छौँ। त्यसैले सजिलै भयो,’ पन्तले भने, ‘स्नातक तहका प्रथम, तेस्रो, पाँचौं र सातौं सेमेस्टरका मानविकी, विज्ञान, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन र एग्रिकल्चर गरी ६ वटा संकायको परीक्षा सञ्चालन भैरहेको छ। करिब १० हजार भन्दा बढी विद्यार्थीले घरबाटै परीक्षा दिइरहेका छन्‌।’

 कसरी सञ्चालन हुन्छ परीक्षा?

विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका लागि ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी निर्देशिका, २०७७’ जारी गरेको छ।

यही निर्देशिकाबमोजिम विश्वविद्यालयले विद्यार्थीहरुको व्यक्तिगत इमेल अथवा जिमेल आइडीमा क्याम्पस या विभागले परीक्षा सञ्चालन हुनुभन्दा १० मिनेट अगाडी प्रश्नपत्र पठाउने गरेको छ। सो प्रश्न डाउनलोड गरी ए फोर साइजको सेतो कापीमा परीक्षार्थीले उत्तर लेख्नुपर्ने छ। स्नातक तहका लागि उत्तर लेख्ने समय ४ घण्टा र उत्तर पुस्तिका अपलोड गर्ने समय गरी जम्मा ५ घण्टा समय तोकिएको छ।

‘स्नातकोत्तर तहका लागि उत्तर लेख्ने समय ५ घण्टा र उत्तर पुस्तिका अपलोड गर्ने समय गरी जम्मा ६ घण्टा तोकिएको छ,’ महाशाखा प्रमुख पन्तले भने, ‘विद्यार्थीले प्रश्नपत्र प्राप्त गरिसकेपछि निर्धारित समयभित्र तोकिएको ढाँचामा उत्तर लेख्नुपर्नेछ। त्यस्तै, तोकिएको समयभित्र उत्तर पुस्तिकाहरू अपलोड भई सम्बन्धित क्याम्पस तथा विभागको परीक्षा समितिले तोकेको वेवसाइटमा प्राप्त हुन नसकेमा स्नातक तहका परीक्षार्थीले परीक्षा शुरू भएको ५ घण्टाभित्र र स्नातकोत्तर तहका परीक्षार्थीले ६ घण्टाभित्र भौतिक रुपमा उपस्थित भई सम्बन्धित क्याम्पस/विभागमा उत्तर पुस्तिका बुझाउनुपर्नेछ।’

नजिकै नभएमा आफू पायक ठाउँमा रहेको विद्यालयमा पनि उनले उत्तर पुस्तिका बुझाउन सक्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.