|

काठमाडौं : ‘कुनै कारणले कार्यालय प्रमुखको पद एक महिना भन्दा बढी अवधि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तह माथिको कार्यालय प्रमुखले सो पदको निमित्त भई कामकाज गर्न रिक्त पदभन्दा एक तह मुनिका वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ।’ 

प्रहरी नियमावली २०७१ को खण्ड ६४ को ५ नम्बर बुँदामा यो व्यवस्था गरिएको छ। यही व्यवस्थालाई टेकेर अहिले नेपाल प्रहरीको महानिरीक्षक र अधिंकाश विभाग निमित्तबाट चलिरहेको छ। प्रहरी महानिरीक्षक (आईजी) बाट उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि फागुन २ गते सरकारले प्रहरी नियमावली नै संशोधन गरेर प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेललाई निमित्तको जिम्मेवारी तोकेको थियो। 

प्रहरी महानिरीक्षकसँगै गत फागुन २ गतेदेखि १० प्रहरी अतिरिक्त महानिरीक्षकले पनि सेवा अवधिका कारण अवकाश पाएपछि अहिले उनीहरुले कमान्ड सम्हाल्दै आएका विभाग, प्रतिष्ठान र कार्यालयहरुको प्रमुखको पद रिक्त छ। प्रहरीको ती विभाग र निर्देशनालयमा अहिले नायव महानिरीक्षक (डिआईजी) ले निमित्त प्रमुखको रुपमा काम गर्दै आएका छन्। 

प्रहरी महानिरीक्षकको सचिवालय, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विकास विभाग, अन्वेषण योजना विभाग, महानगरीय प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व एआईजीले  गर्दै आएका थिए। तर ती सबै विभाग र कार्यालयका नेतृत्वकर्ताले अवकाश पाएपछि डिआईजीले निमित्त भएर चलाइरहेका छन्। 

गत फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले २० जना डिआईजीको सरुवा गर्‍यो। उनीहरुमध्ये कार्यविभागमा पशुपति उपाध्याय, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल, मावन स्रोत विभागमा केशरीराज घिमिरे, अन्वेषण योजना विभागमा गोविन्दप्रसाद निरौला, महानगरीय प्रहरी कार्यालयमा बमबहादुर भण्डारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा देबेन्द्र सुवेदीलाई सरुवा गरिएको छ। महानिरीक्षकको सचिवालय र प्रशासन विभागमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन। 

ब्युरो पनि निमित्तमै 

आईजीको दावेदारका रुपमा रहेका डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्दलाई कतैको पनि जिम्मेवारी दिइएको छैन। सिलवाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा र चन्द लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) मा कार्यरत थिए। उनीहरु आईजीको दावीमा लागेपछि दुबै जनाले ब्युरोमा रहेका प्रहरी वरिष्ठ उपरीक्षकलाई निमित्त दिएर बिदामा बसेका छन्। सिआईबीमा एसएसपी शेरबहादुर थापा र लागू औषध नियन्त्रण ब्युरोमा एसएसपी धिरु बस्न्यातले निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्।  

जिम्मेवारी सुम्पिन पाएनन् 

नयाँ प्रहरी प्रमुख को हुने भन्ने निर्णय सर्वोच्च अदालतको फैसलापछि हुने भएकाले आकांक्षीहरु सबै जना विदामा बसेर पर्ख र हेरको अवस्थामा छन्। महानगरीय प्रहरी कार्यालयमा सरुवा भएका चौथो वरियताका डिआईजी बमबहादुर भण्डारी आफू सरुवा भएको कार्यलय रानीपोखरीमा हाजिर हुन गएका छैनन्।

जसका कारण महानगरीय प्रहरी कार्यालयबाट ट्राफिक महाशाखामा सरुवा भएका मिङमार लामाले कार्यभार सुम्पिन पाएका छैनन्। कार्यलय प्रमुख एआईजी पनि नहुनु आफूले निमित्त चलाउदै आँउदा फेरि निमित्त एसएसपीलाई सुम्पिनु जायज नहुने भन्दै डिआईजी लामाले महानगरीय प्रहरी कार्यालयमा नै हाजिर गरिरहेका छन्।  

ट्राफिक महाशाखामा पनि निमित्त 

डिआईजीहरुमध्ये दोस्रो वरियतामा रहेका प्रकाश अर्यालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट विदा लिएका छन्। विदा लिएपनि सरुवा भएको अपराध अनुसन्धान विभागमा भने हाजिर गरिसकेका छैनन्। उनी पनि आईजी को हुने हो भन्ने अन्योलका कारण हाजिर हुन नगएको प्रहरी श्रोत बताउँछ।

अर्याल र भण्डारीलाई जहाँ सरुवा गरिएको छ, त्यो दुबै निकायको प्रमुख एआईजी रहने व्यवस्था छ। आईजी नियुक्तिपछि दुबै जनालाई त्यही नै बढुवा गरेर पदस्थापना हुनका लागि ती निकायमा लगिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

कारवाही प्रक्रियामा समस्या

निमित्तबाट संगठन चलाउँदा विभिन्न कानुनी झमेलाहरु हुने पूर्व डिआईजी हेमन्त मल्ल बताउँछन्। संगठन प्रमुखले गर्नुपर्ने काम निमित्त वा कार्यवाहकले गर्न नपाउने भएकोले कानुनी समस्या हुन सक्ने उनको भनाई छ।

'कानुनले नै  कतिपय काम प्रहरी महानिरीक्षकले गर्ने भनेर तोकेको छ। त्यहाँ निमित्तले गर्न मिल्दैन', उनले भने 'अर्कोतर्फ एआईजीको नेतृत्वमा रहेको विभागमा दुईभन्दा बढी डिआईजी छन्, त्यहाँ कसले नेतृत्व लिने भन्ने झमेला पर्ने देखिन्छ।' विभाग अन्तर्गतको प्रशासन विभागमा दुई डिआईजी हुन्छन् भने कार्य विभागमा तीन डिआईजी कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.