|

काठमाडौं : ​९१ औं वसन्त पार गरेका दुर्गाप्रसाद धमलाको बाल्यकाल राणाकालमै गुज्रियो। उनको जन्म वि.स १९८७ मा धादिङमा भएको हो। २००७ सालमा परिवर्तन किशोर उमेरमा देखे। २०१७ सालमा बिपी कोइरालाको सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था शुरू गरे। यहाँबाट उनको कहानी शुरू हुन्छ।

बाह्रखरी पनि नपढेका उनी हालको नीलकण्ठ नगरपालिका वडा नम्बर-११ (तत्कालीन ज्यामरुङ गाउँ पञ्चायत) मा १६ वर्ष उप-प्रधानपञ्‍च र नौ वर्ष प्रधानपञ्च भएर काम गरे। उनी र उनीजस्ता व्यक्ति तत्कालीन समयमा प्रधानपञ्च हुँदा कसरी काम गर्थे? देशमा गणतन्त्र आएपछि उनले कस्ता कस्ता परिवर्तन देखे? तत्कालीन पञ्च अहिले राजनीतिको किनारबाट अहिलेको प्रणालीलाई कसरी हेरिरहेका छन् त? थाहाखबरका लागि राजु पौडेलले धमलासँग गरेको कुराकानीको सम्पादित अंश :

बाल्यकाल पढ्ने अवसर नपाउनुभएको तपाईं पत्रिका त पढिरहनु भएको छ। कसरी सिक्नुभयो?  

पहिले स्कुल कहाँ थिए र ? त्यही चण्डी र वेद पढ्ने आश्रम हुन्थे। मैले एकजना पुरोहितको मद्दतले श्‍लोक कण्ठ पारेको हुँ। अरु त छोराछोरीले पाठ घोकेको सुन्दा अलि-अलि बुझ्‍ने भएँ।

बाल्यकालको सम्झना गर्दा आफूलाई कस्तो प्रकृतिको पाउनुहुन्छ? 

अलिअलि बदमास, अलिअलि चञ्चले स्वभावको, जे कुरामा पनि अगाडि आइहाल्न रुचाउने प्रवृत्तिको थिएँ।

पढ्न पर्दैन थियो, दिन कसरी बित्थे त ?

अलिक बुझ्ने भएपछि जुवा खेल्न थाले। गोठालो जाने मान्छे जुवा खेल्ने पर्ने लत लाग्यो। घरमा पैसा चोर्ने, जुवा खेल्ने। एकचोटी खालमा बसेको कयौं दिनसम्म लगातार तास खेलिएछ। एउटासँग ३० रुपैयाँ मागेको याद छ। कयौं दिन घरमा नआएपछि अचानक बुवा कहाँबाट म भएको ठाउँमा आउनुभयो।

त्यो बेला बुबाले हानेको थप्पड अझै पनि मलाई याद छ। बुबाले कुटेपछि गाउँमा निस्किन पनि लाज लाग्यो। त्यसपछि म भारततिर भागे। ११ महिना बितेपछि बुवा-आमाको याद आयो अनि नेपाल फर्किएँ। यो २०१० साल तिरको कुरा हो। 

नेपाल फर्किँदा लाज त मरिसकेको थियो होला है

अलिअलि दकस चाहिँ बाँकी थियो। घरमा आएपछि एकदिन यतिकै बसिरहेको थिएँ। तत्कालीन गोर्खा परिषद्का बाबु साहेब भरत शमशेरले मलाई 'कार्यकर्ता बन' भन्नुभयो। मैले पढेको पनि थिइनँ। कार्यकर्ता भएर के गर्ने भन्‍ने पनि मलाई थाहा थिएन। यद्यपि बाबु साहेबले मलाई सिकाउँछु भनेर भनेपछि म उहाँको पछि लागेँ।

तपाईंले त्यो बेलाको चुनावमा कार्यकर्ता भएर काम गर्नुभयो? 

म गोर्खा परिषदको कार्यकर्ता भएर नै काम गरेँ। २०१५ सालमा चुनाव हुँदा गोरखा, धादिङ र नुवाकोटमा काम गरियो। त्यो बेला भरत शमशेरले चुनाव जितेको याद छ। 

तपाईंका बुवा पनि राजनीतिमा हुनुहुन्थ्यो? 

किसान हुनुहुन्थ्यो। म त किसानको परिवारबाट प्रधानपञ्च हुने मान्छे हुँ। मेरो हजुरबुवा चाहिँ त्यो बेला ठकुरीको चाकडी गर्ने 'थरी' हुनुहुन्थ्यो रे!

त्यो बेला गोर्खा परिषदको लडाइँ त कांग्रेससँग थियो नि है?

त्यो बेला कांग्रेसको छुट्टै प्रभाव थियो। किनभने कांग्रेसका प्रभावशाली नेता बिपी कोइराला थिए। फरक पार्टी भएपछि हुने नै भो नि।

बीपीलाई नमान्ने को होला र? अहिलेका कम्युनिष्टले त बीपीलाई मान्छन् भने हामीले नमान्ने कुरा नै थिएन। राजा महेन्द्रले सत्ता हातमा लिइहाले। उनी नजरबन्दमा परे। देशमा पञ्‍चायत शुरू भयो।

बिपी कस्तो लाग्थ्यो तपाईंलाई?

उनी हँसिला, फरासिला र जनताको मनमा बस्‍न सक्ने मान्छे थिए। बीपीलाई नमान्ने को होला र? अहिलेका कम्युनिष्टले त बीपीलाई मान्छन् भने हामीले नमान्ने कुरा नै थिएन। राजा महेन्द्रले सत्ता हातमा लिइहाले। उनी नजरबन्दमा परे। देशमा पञ्‍चायत शुरू भयो।

पञ्चायत शुरू भएपछि राप्रपामा लागेर तपाईंलाई पनि अवसर आयो?  

पञ्चायती व्यवस्था शुरू भएपछि १८ सालमा म २८ वर्षको उमेरमा पहिलोपटक उप-प्रधानपञ्च भएँ। १६ वर्ष लगातार उप-प्रधानपञ्च भएपछि ९ वर्ष प्रधानपञ्च भएँ। पछि जनताले मलाई नै प्रधानपञ्च बनाएका हुन्। म चुनिएर प्रधानपञ्च भएको हुँ। मेरा विरुद्धमा ७ जनासम्म प्रधानपञ्चमा उठेको सम्झना छ। 

१६ वर्ष लगातार उप-प्रधानपञ्च र त्यसपछि प्रधानपञ्च हुने गरी के काम गर्नुभयो? 

जनताको मन नजिती त सम्भव थिएन। गरिबी त्यो बेला पनि व्याप्त थियो। मैले शोषण गर्ने विरुद्ध काम गरेको थिएँ। राजा महेन्द्रको पालामा खासै बजेट आउँदैन थियो। राजस्व उठ्ती नै कम थियो। एक पटक मुस्किलले २०-२१ सालमा खानेपानी आयोजना ल्याएको थिएँ।

आजसम्म त्यहाँका मान्छेले त्यो आयोजनाको पानी खाइरहेका छन्। राजा महेन्द्रको निधनपछि वीरेन्द्र राजा आए। त्यसबेला मैले उनलाई भेट्ने अवसर पाएँ। भेटमा वीरेन्द्रले समस्या सुनाउन भनेँ। मैले एउटा स्कुल बनाउनु पर्‍यो सरकार भनेको थिएँ।

मेरो अनुरोध वीरेन्द्रले तत्काल सुनुवाइ गरेका थिए। एक शिक्षकको दरबन्दी पनि वीरेन्द्रले दिएका थिए। अझ रोचक कुरा त के भने म डराउँदै प्रावि स्कुलको माग गरेको थिएँ। उनले निमावि बनाउने हुकुम दिएँ। म प्रधानपञ्च हुँदा विभिन्‍न वडामा स्कुल बनाएँ। त्यो बेला त्यहाँका धनी भनाउँदाले गरीबले पढे भने चलाख हुन्छन् भनेर भाँजो हाल्थे। 

प्रधानपञ्चको काम चाहिँ के-के हुन्थे त्यो बेला? 

अंशबन्डा र घर झगडा मिलाउने, जरिवाना तिराउने, गाउँको झगडा बाहिर जान नदिने! यतिसम्मकी ज्यानमाराको केश पनि हामीलाई मिलाउने अधिकार रहन्थ्यो। नागरिकता बनाउन सिफारिस पनि प्रधानपञ्चले दिने गर्थ्यो।

राजा महेन्द्रका ससुराली खलकहरू ज्यामरुङमा थिए। उनीहरूले दरबार बनाएका थिए। द्वन्द्वकालमा त्यो दरबार अस्तित्व नहुने गरि बमले उडाइयो। त्यो बेला तिनीहरूलाई दशैँमा २-४ वटा बोका बुझाउनुपर्थ्यो। चामल दिनुपर्थ्यो।

दलितले म हेपिएँ भनेर भन्दैन थिए। हेप्नेले मैले हेपेँ भन्दैनथ्यो। जब विद्यालय खोलिए। मान्छे शिक्षित हुन थाले, तब पो बल्ल हेपाई खानेले हेप्यो भन्‍ने चेतना जागृत भयो। हामी त ल्याप्चे परियो। म मात्रै होइन, त्यस बेलाका धेरै प्रधानपञ्चहरू अशिक्षित नै थिए।

मैले त्यसविरुद्ध आवाज लिएर जिल्ला जान्थेँ। त्यसबेला जिल्लामा पनि उनीहरूकै मान्छे भएपछि पैदल नारायणहिटी आएर बिन्तिपत्र बुझाउन आइन्थ्यो। बिन्तिपत्र तत्काल सम्बोधन हुने गर्थ्यो। राजा वीरेन्द्रले जारी तिर्ने व्यवस्था त्यो बेलामा धेरै हदसम्म हटाएका थिए। 

नौ वटा वडामा तपाईंको हुकुम चल्थ्यो, त्यो बेला छुवाछुत हटाउनुपर्छ भन्‍ने सोच्नुभएन? 

त्यो बेला पढेको को थियो र? दलितले म हेपिएँ भनेर भन्दैन थिए। हेप्नेले मैले हेपेँ भन्दैनथ्यो। जब विद्यालय खोलिए। मान्छे शिक्षित हुन थाले, तब पो बल्ल हेपाई खानेले हेप्यो भन्‍ने चेतना जागृत भयो। हामी त ल्याप्चे परियो। म मात्रै होइन, त्यस बेलाका धेरै प्रधानपञ्चहरू अशिक्षित नै थिए।

प्रधानपञ्चहरू समाजसेवा गर्थे भन्नुहुन्छ, तपाईंहरूको दैनिकी कसरी चल्थ्यो? 

त्यो बेला पनि केन्द्रबाट आएका नेताले अलिअलि पैसा दिने गर्न थाले। १७ सालमा भरत शमशेरले ५० हजार रुपैयाँ दिनुभएको थियो। यो किन दिइन्थ्यो त्यो बेला  भने राजाको जयजयकार गर्ने नै मुख्य हेतु हुन्थ्यो। बेलाबेला खर्च पानी यस्तै कुराले चल्थ्यो।

तपाईंहरू जस्ताले राम्रो काम गरेको भए जनताले देशबाट पञ्चायत हट्न आन्दोलन किन गरे त? 

सबै प्रधानपञ्‍चहरू असल कहाँ थिए र? व्यवस्थाका नाममा धेरैजसो शोषण गर्थे। अन्याय गरे। राजाका पछि लागेका पञ्‍चको दबदबाले पनि दलहरू एकीकृत हुन थाले। उनीहरूले जनताको मन जितेर जनता सडकमा ल्याउन सके। आन्दोलन भयो पञ्‍चायत ढल्यो। 

पञ्‍चायत ढलेपछि कस्तो लाग्यो? 

देशमा बहुदल आएपछि मन थिर हुने कुरा भएन। धादिङबाट चितवन गएँ। १६ कट्टा जग्गा उधारोमा किनेँ। त्यहाँ गएर राप्रपामा लागेँ। अध्यक्ष पनि बनेँ। डेरी खोलेर बसेँ।

पञ्चायत व्यवस्थाले देशलाई के दियो त? गरिबी र पछौटेपन बाहेक। 

त्यो बेला रकम हुँदैन थियो। यद्यपि धेरै स्कुल निर्माण भएका थिए। सडकहरू निर्माण भए। त्यो समय परिस्थिति अनुसार यो ठूलो कुरा थियो। अहिले के भएको छ देशमा? अहिले यति विकास निर्माणमा काम त समय अनुसार विकास हुनु सामान्य हो।

देशमा राजा गएपछि हामीले चित्त बुझाउने विकास निर्माण के भएको छ र? त्यो बेलाको सानो बजेट, हरेक क्षेत्रमा असुविधा, पछौटेपन र एकदम थोरै विदेशी सहायता थियो। राजस्व थोरै थियो। तर पनि काम धेरै भएको मान्‍नुपर्छ। त्यो बेला काम भएन भन्‍नु अन्याय हुन्छ।

त्यो बेला भ्रष्टाचारको स्वरुप कस्तो हुन्थ्यो? 

त्यो बेला पनि भ्रष्टाचार हुन्थ्यो। तर, व्यक्तिगत भ्रष्टाचार हुने थियो। नीतिगत होइन। जस्तो : मुद्दा मिलाएको खण्डमा, घर झगडा मिलाए बापत पैसा तथा घरमा भएको जिन्सी सामान लिने गर्थे। कतिपटक यस्ता घटना सुनिन्थ्यो। 

त्यो बेला अनुशासन थियो। समस्या देखेपछि सम्बन्धित ठाउँमा पुर्‍याउन सकियो भने तत्कालै समाधान हुने गर्थ्यो। राजाले जनताको पीर मर्का बुझ्थे। अहिले त सबै छोटे राजा बनेका छन्। अहिले कसैले भनेको कसैले सुन्दैनन्। 

तपाईंले देखेको राजनीतिक परिवर्तनमध्ये कुन व्यवस्था राम्रो लाग्यो? किन?

मलाई त पञ्चायती व्यवस्था नै राम्रो लागेको छ। त्यो बेला अनुशासन थियो। समस्या देखेपछि सम्बन्धित ठाउँमा पुर्‍याउन सकियो भने तत्कालै समाधान हुने गर्थ्यो। राजाले जनताको पीर मर्का बुझ्थे। अहिले त सबै छोटे राजा बनेका छन्। अहिले कसैले भनेको कसैले सुन्दैनन्। 

अहिले त देशमा गणतन्त्र आएको छ। किसानका छोराछोरी सत्तामा छन्। यो राम्रो कुरा होइन र? 

किसानको सन्तान सत्तामा आउनु राम्रो हो। तर, उनीहरूले गरेको कामको प्रकृति हेर्दा देशमा गणतन्त्र आए जस्तो महसुस हुन्छ? व्याप्त भ्रष्टाचार यिनैले गरेका छन्। नीतिगत भ्रष्टाचार बढेको छ। वडादेखि केन्द्रसम्म हानाहान र तानातान छ। यो तरिकाले गणतन्त्र सीमित व्यक्तिमा गयो। तल्लो तहसम्म उनीहरू पुग्‍न सकेनन्। यहाँ बनेका ठूला राजमार्गदेखि विश्वविद्यालय स्कुल कलेजहरू उद्योग क्षेत्र धेरै राजाले निर्माण गरेका हुन्। अहिले नेतृत्वमा गएकाले निर्माण चाहिं के गरे?

तपाईं राप्रपामा लागेको मान्छे, राप्रपा त सकियो नि!

असल नेता नभएर राप्रपा सकिएको हो। राप्रपा कमल थापाले बिगारे। पशुपति शमशेर सोझा भए। सूर्यबहादुर थापा अलि चलाख थिए। उनी बितेपछि छोरो कांग्रेसमा लागे। डा. प्रकाशचन्द्र लोहनी गतिलो नेता छन्।  म अहिले पनि राप्रपा हुँ। तर, पार्टीले अनुशासन गुमायो। 

राजा ल्याउनुपर्छ भन्‍ने पनि छन् के राजा आउलान् त? 

गाह्रो छ। तपाईं पत्याउनुहुन्छ राजा फर्किन्छ भनेर? तर, गणतन्त्रले वितृष्णा थपेको छ। राजा ल्याउने कि नल्याउने भनेर जनमत गर्ने हो भने आउन पनि बेर लाग्दैन। तर, यो पत्याउन सकिँदैन। 

पञ्चायती नेता र गणतन्त्र नेतामध्ये कुन धेरै असल लाग्छन्? 

त्यो बेला राजा थिए। भ्रष्टाचार गर्दा पनि डर थियो। जनताको आवाज सुनियो भने आफू सबैको प्यारो भइन्छ भन्‍ने सोच थियो। जनताको घरमा राजाको सुराकी गर्न नेता आउँथे। अहिले त नीतिगत भ्रष्टाचार छ। जनताको चासो छैन। पैसा खन्याएर चुनाव जितिन्छ भन्‍ने सोच छ। अहिलेका नेता नै बढी खराब छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.