|

नारायणप्रसाद ढकाल  

कुनै समयमा उपत्यका बाहिरका मानिसलाई राजधानी उपत्यका काठमाडौँ आइपुग्दा आनन्दको अनुभूति हुने गर्दथ्यो। सुन्दर र शान्त वातावरण, वरिपरि हरियाली, शुद्ध पिउने पानी र प्रमुख तीर्थस्थलले सिंगारिएको कान्तिपुरी नगरी आनन्द र गर्व गर्नसक्ने स्थान थियो।

अध्ययन-अध्यापनका लागि पनि विश्वविद्यालयहरूमा योग्य र असल आचरण भएका शिक्षक र गुरुहरू, जनताको मनोभावना बुझ्ने सामाजिक-प्रशासनिक नेतृत्व, अपेक्षाकृत न्याय व्यवस्था र राजनीतिमा पनि केही नैतिकता भएका नेताहरूको आभास हुन्थ्यो। यसैले गर्दा पनि होला : अध्ययनको लागि आएका हजारौँ युवाहरूले निःस्वार्थ भावनासाथत आफूलाई राजनीतिक परिवर्तनका लागि समर्पण गरेका!

राष्ट्रका लागि आवश्यक दक्ष, योग्य र असल नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने शिक्षक र प्राध्यापक, राष्ट्र सेवामा समर्पित असल कर्मचारीले आफ्नो शुद्ध र स्वभाविक पारिश्रमिकबाट जीवनमा एउटा घर र एउटा साधन कल्पना गर्न नसक्ने अवस्था छ। 

यो बिडम्बना, दुर्भाग्य र दया लाग्दो परिस्थितिमा बाँचिरहेको काठमाडौँले राष्ट्रको उन्नती र प्रगतिका लागि ठूलो योगदान देला भनेर विश्वास गर्ने आधार देखिँदैन। राज्यको नियन्त्रण र अनुगमनबाट बाहिर जस्तो बेलगाम देखिने काठमाडौँ शहर आफ्नो हैसियतभन्दा बढी महंगो हुँदै गएको छ। घरभाडादेखि लिएर यहाँको बसाइ पनि अत्यन्तै महङ्गो छ। 

राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीले वा सो सरहको जागिरेले व्यवस्थित बसाइको लागि घरभाडामा मासिक २५ हजार त भाडामा जान्छ। उसले कसरी छोरा-छोरी पढाउँछ र कसरी आफ्नो जीवन यापन व्यस्थित बनाउन सक्दछ ? उसको समय र चिन्तन कसरी महिना चलाउने भन्ने कुरामा बितेपछि राष्ट्र सेवामा उसको मन कहाँबाट समर्पित हुनसक्छ। 

उच्च पदस्थ मानिएको कर्मचारी समेत सधैँ निरास भई जीवनलाई सहज बनाउन गलत कार्यको प्रतिक्षामा दौडिरहेको हुन्छ। जसले गर्दा नेपालको नेतृत्व गर्ने काठमाडौंमा अत्याधिक भ्रष्टाचारका कथाहरू प्रायः सुन्न पाइन्छ। 

यस विकराल अवस्थाबाट मुक्ति दिन काठमाडौको जग्गा, खाद्यवस्तुको मूल्य र घरभाडालाई पूर्ण रूपमा नियन्त्रण गर्न आवश्यक छ। यस्तै रहेमा काठमाडौँ कुनै दिन अनपेक्षित घटनाको शिकार नबन्ला भन्न सकिदैन। 

वि. सं. १९९० र २०७२ सालको महाभूकम्पले काठमाडौंका सबै मानिसलाई टुँडिखेल र अलिअलि बाँकी रहेका खुला चौरले आश्रय दिँदा भएको अनुभूतिबाट हामीले पाठ सिक्न सकेनौँ। आज कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित भई घरभाडा तिर्न नसक्ने भएपछि करिब ३० प्रतिशत मानिसहरू काठमाडौँ छोडेर बाहिर जाने परिस्थिति बन्यो। यस्तै वातावरण रहेमा उनीहरू काठमाडौँ फर्किने हिम्मत गर्ने छैनन्। 

आज उच्च भाडा उठाउने मनसायले बनेका अधिकांश ठूलाठूला व्यापारिक महलहरू खाली हुन थालेका छन्। यही अवस्था रहेमा यहाँको सम्पूर्ण सामाजिक, शैक्षिक, व्यवसायिक एवं प्रशासनिक वातावरण निराशातिर उन्मुख हुने पक्का छ। यसले समग्र काठमाडौंको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ। 

अहिले उपत्यका छोडेका मानिसलाई प्रदेश तिर अवसर उपलब्ध गराउन तीन तहकै सरकार लाग्ने हो भने राजधानीलाई अलिकति भए पनि हलुका हुनेछ। खाली भएका प्रतिष्ठानहरूले सेवाग्राही खोज्न उपत्यकाबाट बाहिरिनु पर्ने अवस्था सिर्जना हुनेछ। जसले संघीयताको औचित्य पनि पुष्टि गर्नेछ। 

हामीले काठमाडौँमा २५ तलाका भवनहरू पनि बनायौँ। तर के ती भवनहरू सुरक्षित छन ? काठमाडौँ भुकम्प प्रभावित क्षेत्रमा पर्दछ। के हामीले मापदण्ड अनुसार भवन निर्माण गरिरहेको छौ ? कुनै समयमा काठमाडौंलाई आवश्यक पानी यहीँ पुग्ने गर्दथ्यो। तर आज हामीले बोरिङ गरेर अस्वभाविक र अप्राकृतिक रूपमा निकालिरहेका छौं। यसले ठूलो दुर्घटना निम्त्याउने प्रष्ट देखिन्छ। 

मेलम्चीको सपना देख्दा-देख्दै साढे तीन दशक बितेको छ। काठमाडौँलाई सिमेन्ट र छडको विशाल जंगल त बनायौँ, तर मानिसलाई आवश्यक शुद्ध हावापानीको लागि आवश्यक पुर्वाधारको निर्माण गरेनौं। अब आउने समयमा अक्सिजन आफैँ बोकेर हिँड्नुपर्ने परिस्थितिको निर्माणमा हामी अगाडि बढिरहेका छौँ। 

योजना बिना जथाभावी घरहरू बन्छन्। तर त्यहाँ वृक्षारोपण गर्ने योजना सधैँ कार्यान्वयनको प्रतिक्षामा हुन्छ। कुनै समय शुद्ध हावा र पानीले समृद्ध काठमाडौँ अहिले कुरुप र प्रदुषणले थलिएको छ।

प्रत्येक टोलमा केही घरका बिचमा निश्चित खाली ठाउँ राखेर त्यहाँ बालबालिका खेल्ने र आवश्यक शुद्ध हावाको लागि वृक्षरोपण गर्न वातावरण अहिले पनि नागरिक र राज्यले चाहेमा बन्न सक्दछ। तर त्यतातिर कसैको ध्यान पुगेको छैन। कतिपय सार्वजनिक जमिन भूमाफिया र कथित सुकुम्बासीका नाउँमा कब्जा गरिएका छन्। 

मात्र काठमाडौँमा बिहान ६ बजेदेखि राति १० बजेसम्म मानिसहरू दौडिरहेको देखिन्छ। तर किन मानिस यति दौडिरहेको छ स्वयं उसैलाई थाहा छैन। जीवनभरी दौडेर काठमाडौँमा एउटा घर जोड्ने सपना बोकेर दौडधूप गर्दैगर्दा धेरै प्रकारका रोगबाट ग्रसित भइसकेको हुन्छ र ऊ अस्पताल दौडन थाल्छ। 

अभिभावकले आफ्नो छोराछोरीलाई उच्च शिक्षाको लागि ठूलो आशाले काठमाडौंमा पढाउँछन्। तर यहाँको विकृत वातावरणमा धेरैका छोराछोरी सुन्दर र राष्ट्रका लागि उपयोगी हुने जीवनलाई दुर्व्यसनमा फसाइरहेका छन्‌। उनीहरू समाज र अभिभावककै लागि बोझ बन्दै गएका छन्‌।। यस्तो विकृत वातावरणलाई ठीक गर्ने कार्य हामी सबै जिम्मेवार नागरिक र राज्यको हो। 

केही ठूला भवन र केही कालोपत्र गरेका चौडा सडकले मात्र समाजमा राम्रो प्रभाव पार्न सक्दैन। त्यसका लागि हाम्रा बालबालिका सामाजिक, आर्थिक र नैतिक रूपमा सुरक्षित हुनुपर्दछ। अनिमात्र भोलि समाज र राष्ट्र हाँक्नसक्ने योग्य जनशक्तिको निर्माण हुनसक्दछ भन्ने सत्य कुरा काठमाडौंले मनन गर्नुपर्दछ। 

जसले जे गरेपनि हुने स्वतन्त्रता होइन। सरकारको विरोध मात्र पनि स्वतन्त्रता होइन, न त समर्थन गर्नु मात्र अनुशासन हो। स्वतन्त्रताभित्र अनुशासन, आत्म अनुशासन र मर्यादा आवश्यक हुन्छ। जुन काठमाडौँमा पाइँदैन। त्यसैले प्रकृतिले विश्वकै उत्कृष्ट स्थानको रूपमा उपहार स्वरुप प्रदान गरेको काठमाडौँलाई हामी पढेलेखेका र आफूलाई सभ्य भन्नेहरूले अप्राकृतिक रूपमा कुरुप बनाइरहेका छौं। 

कामना गरौं : काठमाडौँ, देशलाई असफल बनाउन प्रेरित गर्ने अज्ञानी, दूरदृष्टि रहित स्वार्थी मानिस, नीति बनाउन नजान्ने नीति निर्माता एवम् बनेका राम्रा योजना कार्यान्वयन गर्न नजान्ने नेताहरूको शहर हो कसैले नभनोस्। 

काठमाडौं नेपाल र नेपालीहरूको स्वभाविक क्षमताभन्दा बाहिर लान उद्धत भएका गलत मार्गबाट धनआर्जन गरेका अपराधिक मानसिकताबाट ग्रसित केही षड्यन्त्रकारीहरूको चङ्गुलमा फसेको त होइन भन्ने प्रश्नले हामी सबैका सामू खडा हुँदै गएको छ।

काठमाडौंलाई अत्याधिक दुर्व्यसनी, असभ्य, असुरक्षित बनाउने कि विश्वको उच्च आदर्श बोकेको सुन्दर, शान्त, सुरक्षित, सभ्य र प्रेरक शहर बनाउने हो ? यो सबै कुरा यहाँका बासिन्दा, युवा शक्ति, बुद्धिजीवी, चिन्तक र राष्ट्र सञ्चालन गर्नेमा निर्भर रहनेछ। अन्यथा राजधानीले अनपेक्षित दुर्घटनाको सामना गर्नुपर्ने छ।
   
(लेखक प्राज्ञिक विद्यार्थी परिषद्,नेपालका राष्ट्रिय संगठन सचिव हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.