ऋण छानबिन गरी पुन:स्थापना गरिदिन ज्ञापनपत्र

|
ज्ञापनपत्र बुझाउन आएका दलित समुदायका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री बस्नेत।

जाजरकोट : जाजरकोटको खलंगा कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्‍नेत '१० वर्षे परिवर्तनकारी लडाइँ' लड्दै यतिखेर सिंहदरबारभित्र मन्त्री पदमा आसीन छन्‌। तर, उनकै गृह जिल्लास्थित भेरी नगरपालिका–११ कटीगाउँका दलित समुदायले साहुको ऋण तिर्न नसकेर घरबार गुमाएका छन्‌।

​पर्याप्त जग्गाजमिन र आयको खासै स्रोत नभएका यहाँका दलितहरू हातमुख जोड्न साहुसँग ऋण लिने गर्छन्‌। लिएको ऋणमा साहुले ब्याजमाथि ब्याज जोडेर गरीब दलितहरूलाई उठ्नै नसक्नेगरी ऋणको जञ्‍जालमा बेरिदिन्छन्। मजदुरी गर्न भारत पैसा कमाएर साहुको ऋण निखन्ने आशमा यहाँका धेरैले जोवन निखारिसकेका छन्‌। तर, न ऋण तिर्न सक्छन्‌ - न त परिवर्तनकारी नेता बस्‍नेतको गृहजिल्लाका साहु महाजनले गरीबलाई थला पार्नेगरी चक्रिय ब्याजको जालो बुन्‍न छाडेका छन्‌।

मन्त्री बस्‍नेतलाई ज्ञापनपत्र

१२५ परिवारले साहुको ऋण तिर्नै नसकेर घरबार गुमाएपछि जिल्लाका उनै नेता एवम् नेपाल सरकारका‌ वन तथा वातावरणमन्त्री शक्ति बस्‍नेतलाई गुहारेका छन्‌। उनीहरूले बुझाएको ज्ञापनपत्रमा ब्याजमाथि थपेर दलित समुदायलाई ऋणबाट उठ्नै नसक्‍नेगरी गाउँ छाड्न बाध्य पारिएको उल्लेख छ।

मन्त्री बस्‍नेतलाई बुझाइएको ज्ञापनपत्रमा ऋणको सत्यतथ्य छानबिन गरी तिर्ने व्यवस्थापन मिलाउन, विस्थापित दलित समुदायलाई गाँस, बास र कपासको व्यवस्था गरी स्थापित गर्न र सहकारीमार्फत आयआर्जनमा जोडी रोजगारी सुनिश्चित गर्न माग राखिएको छ। यस्तै, नि:शुल्क शिक्षा प्रदान गर्न, जनचेतना अभिवृद्धिका काम गरिदिन र सचेतनामूलक तालिमको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। 

विस्थापित भएका अधिकांश भारततर्फ

 

साहुबाट लिएको ऋण तिर्न नसकेपछि विस्थापित परिवारका अधिकांश सदस्यहरू यतिखेर भारत पुगेका छन्‌।

तर, भारतमा कडा श्रम गरी पठाएको रकम पनि ब्याज तिर्नमै खर्च भइरहेको छ। साहुबाट लिएको सावाँब्याज तिरेर ऋणबाट यी विपन्नहरू कहिले मुक्त हुन्छन्‌ भन्ने टुंगो नै नभएको अधिकारकर्मी शीला नेपाली बताउँछिन्‌। 

सावाँब्याज समेत हिसाब गरेर साहुहरूले यहाँबाट विस्थापित भएका हरेक परिवारको ऋण पाँच लाख रुपैयाँभन्दा धेरै पुगिसकेको देखाएका छन्‌। यो ऋण पनि नगदकै ब्याज जोडिएर पुगेको होइन। हातमुख जोर्न र शरीर ढाक्‍न स्थानीय साहुबाट खाद्यान्‍न र लत्ता कपडाको भाउले साँवाको धेरै हिस्सा ओगटेको पीडित जीतबहादुर विक बताउँछन्‌। 

गत असारमा भारतबाट आएका केही परिवारलाई साहुले ऋण तिर्न ताकेता गरेपछि गाउँमा टिक्न नसकेर पुन: विस्थापित भएको स्थानीयवासी नरबहादुर कामीले जानकारी दिए।

यसरी गाउँ छोड्न बाध्य भए

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना पनि खाना नपुग्ने कट्टी गाउँका स्थानीयवासी दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिने गर्छन्‌। यसरी लिएको ऋण तिर्न नसक्दा स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले बताए।

उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक पनि साहुको ऋण चुक्ता गर्न भारतमा काम गरिरहेका छन्। ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरूको भनाइ छ। यस समुदायका अधिकांश बालबालिकाले तीन कक्षामा पुगेपछि विद्यालय छाड्ने गरेका छन्।


भेरी नगरपालिका–११, कटीगाउँ

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिए। उनले भने, 'दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ।' 

उनले जानकारी दिएअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन्। कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्यले ऋण तिर्न नसकेपछि साहुलाई नै जग्गा पास गरिदिएर भारत विस्थापित भएका हुन्।

उनीहरूको जग्गा स्थानीय यदुप्रसाद शर्मा र हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन्। उनीहरूको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका हुन्‌।

दलित बस्तीमा विद्युत पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन्। स्थानीय अधिकारकर्मी पार्वती विक भन्छिन्‌, 'पढ्ने वातावरण र आर्थिक स्रोत नहुँदा दलित समुदाय अहिले पनि शिक्षाबाट वञ्‍चित छ, गरिबीको चरम पीडामा छन्, यो समस्याबाट मुक्ति दिलाउनका लागि सबैले ध्यान दिनुपर्‍यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.