फिचर

काखमा आठ महिनाको छोरा लिएर भोट माग्न हिँडें : श्रीमाया थकाली
SHARES

चैत १२, २०७३

    काठमाडौं : थकाली व्यापार व्यवसायमा नाम कमाएको समुदाय हो। नेपालका प्रमुख व्यापारिक केन्द्रहरुमा होटल लगायतका व्यवसायमा यो समुदायले राम्रो नाम कमाएको छ। त्यही व्यवसायी समुदायकी एक महिला भने परम्परागत पेशा र व्यवसाय भन्दा भिन्न राजनीतिबाट परिचित छिन्।

    श्रीमाया थकाली, ५० अहिले नेकपा एमालेकी पोलिट्व्युरो सदस्य र सांसद छिन्। परिवारका अरु सदस्यहरु राजनीतिबाट बेखबर रहेपनि उनलाई भने राजनीतिले नै तान्यो। मुस्ताङको जोमसोममा जन्मे हुर्केकी उनी पढाइको सिलसिलामा कम्युनिष्ट पार्टीमा आवद्ध भएकी थिइन्। पहिले राजनीतिबारे नबुझेकी श्रीमायाको विस्तारै राजनीति नै आदत बन्यो। बुवाको सहयोगमा पढ्ने मौका पाएकी उनीमाथि परिवारको चाहना भने जागिर खुवाउने रहेको थियो। 

    'बुवाले मेरो हरेक काममा सहयोग गर्नुभयो। जिल्लामै कसैले नपढेको बेला छोरीलाई स्कुल पढाउनुभयो। त्यतिबेला पढेलेखेका मान्छे पाउन निकै मुस्किल थियो। त्यसैले छोरीले जागिर खाइदिए हुन्थ्यो भन्‍ने चाहना बुवाको पनि थियो' उनी भन्छिन्, 'पछि मैले राजनीति नै रोजे पनि सबैको साथ र सहयोग पाएँ।'

    श्रीमायाका बाबुले चितवनमा खाद्यान्नको व्यापार गर्थे। श्रीमायाले चितवनमै बसेर पढ्न पाइन्। चितवनको त्रिशुली किनारमा बोटे समुदायका गरिब किसानहरुको जीवनशैली नजिकबाट देखिन्। गरिबहरु किन सधैं गरिब हुन्छन्? भन्ने प्रश्नको बिउ त्यतिबेलै श्रीमायाको दिमागमा रोपिएको थियो।

    अखिलबाट राजनीति शुरु

    गाउँमा स्कुल जाने छोरीहरु कमै थिए। त्यसमध्ये श्रीमाया थिइन्। 'बुवा आफू त्यति नपढेपनि छोरीलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो। त्यसैले म स्कुल जान पाएँ। नजिकै स्कुल भएका कारण पनि हुन सक्छ' उनी भन्छन्, 'तर आमा भने यसमा खासै राजी हुनुहुन्थेन। छोरीले पढेर के गर्ने अर्काको घर जाने जात भन्‍ने मान्यता थियो गाउँमा।'

    श्रीमायाकी आमा अलि कडा स्वभावकी थिइन्। आमा छोरी पढाएर चिठी लेखाउन त हो नि भन्‍थिन्। गाउँकी एकजना महिलाले चिठी लेखेर भागी बिवाह गरेकी थिइन्। त्यही छाप उनको आमामा पनि परेको थियो। मुस्ताङमा त्यतिबेला १० कक्षासम्ममात्र पढाई हुन्थ्यो। एसएलसी परीक्षा दिन पोखरा आउनुपर्थ्यो। २०४०/४१ सालमा एसएलसी पास गरेर श्रीमाया प्रमाणपत्र तहको अध्ययन गर्न पोखरा नै आइन्। 

    पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्ने क्रममा श्रीमायाभित्र गहिरो राजनीतिक छाप बसेको थियो। क्याम्पसमा समकक्षीहरु थिए एमाले पोलिटब्युरो सदस्य थममाया थापा, लक्ष्मी कार्कीहरु। अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटी, जनसांस्कृतिक संघमा काम गर्दै केशव इङ्नामहरुको सङ्गतमा 'सहिदका रगत' भन्‍ने नाटकमा समेत अभिनय गरिन्।

    प्रमाणपत्र तहको पढाई पूरा गरेर उनी २०४३ सालमा जिल्ला फर्किइन्, मुस्ताङमा पार्टीको प्रभाव फैलाउने जिम्मेवारी समेत लिएर। त्यतिबेला राष्ट्रिय पञ्चायतको चुनाव हुँदै थियो। उनी आवद्ध कम्युनिष्ट पार्टी भूमिगत थियो। तर चुनावलाई प्रयोग गर्ने पार्टीको नीति थियो। पार्टीकै योजनामा उनी मुस्ताङ फर्केकी थिइन्।

    पढे लेखेको महिला भएकाले जोमसोमको उपप्रधान पञ्चको पदमा उठ्न उनलाई गाउँलेको सुझाव थियो। तर प्रशासनले पञ्चायतलाई असहयोग गर्ने, कम्युनिष्ट पार्टीप्रति आकर्षित व्यक्ति भनेर पत्ता लगाएपछि सहयोग पाइनन्। निर्वाचन त लडिन तर १४ मतले पराजित भइन्। 

    जिल्लामा पढेलेखेको महिलाको कमी थियो। त्यसैले उनलाई जागिरको प्रस्ताव आउँथ्यो। २०४५ सालमा महिला विकास कार्यालयको प्रमुख निलम थकालीले जागिर खान प्रस्ताव राखिन्। त्यतिबेला मुखिया (महिला कार्यकर्ता) को जागिर खान ८ कक्षा पढे हुन्थ्यो। श्रीमाया त प्रमाणपत्र तह पास गरेकी थिइन्। उनै निलमको सहयोगमा २०४५ सालमा श्रीमायाले मुखियाको जागिर पाइन्। उनको तलब १६ सय रुपैयाँ थियो। 

    राजकाज मुद्दामा पक्राउ

    मुखियाको जागिर खाएकै वर्षको चैत्रमा तत्कालिन अनेरास्ववियुका केन्द्रीय सदस्य कपिलमणि रेग्मीको डायरीमा 'मुस्ताङ सम्पर्क श्रीमाया थकाली' लेखिएको प्रशासनले फेला पार्‍यो। त्यसैको भरमा उनी पक्राउ परिन् र उनीमाथि राजकाज मुद्दा लगाइयो। उनलाई मुस्ताङबाट बाग्लुङ जिल्ला लगियो।

    प्रशासनले केरकार गरेर तारेखमा छोडिदयो। तर उनले हरेक महिना मुस्ताङबाट बाग्लुङ तारेख धाउनुपर्ने भयो। त्यतिकैमा २०४६ सालको जनआन्दोलन भयो। श्रीमायाले राजकाज मुद्दाबाट मुक्ति पाइन्। २०४७ असोजमा उनको बिहे भयो र २०४८ साउनमा मुखियाको जागिर छाडिन्।

    काखमा छोरा बोकेर चुनावमा उम्मेदवारी  

    राजनीतिक भन्दा भिन्न परिवारमा जन्मे हुर्केकी श्रीमायाको जिम्मा मुस्ताङमा कम्युनिष्ट पार्टी निर्माण गर्नु थियो। त्यो पनि भूमिगत रुपमा। जिल्लामा कम्युनिष्ट कार्यकर्ता अरु कोही नभएपछि तत्कालिन नेकपा मालेको क्रान्तिकारी बुद्धिजीवी संगठनमा पर्वतका चुडामणि शर्मा र मोती पौडेल लगेर काम शुरु गरिएको थियो।

    श्रीमायाले मुस्ताङमा जिल्ला सचिव भएर काम गरिन्। २०५१ सालको मध्यावधि निर्वाचनमा मालेको तर्फबाट उनले टिकट पाइन्। त्यतिबेला श्रीमायाको साढे आठ महिनाको काखे बच्चा थियो। भौगोलिक रुपमा निकै विकट मुस्ताङमा चुनावमा उठिसकेपछि सबै क्षेत्रमा पुग्नैपर्ने। निकै मेहनत गरिन्, तर चुनाव हारिन्। '२०५१ को मध्यावधि चुनावमा पार्टीको अस्तित्वको परिचय दिनका लागि भएपनि म निर्वाचन लड्नुपर्ने आवश्यकता थियो' उनी भन्छिन्, पार्टीले मलाई विश्वास गरिसकेपछि म जसरी पनि चुनाव लड्नुपर्छ भनेर काखको बच्चा भएपनि चुनाव लडेँ।'

    उनले त्यो चुनाव हारिन्। तर उनले मुस्ताङमा एमालेलाई स्थापित गर्न सफल भएको बताएन्। 'वास्तवमा २०५१ सालको चुनाव लड्ने परिस्थिति थिएन मेरो। कान्छो छोरा साढे ८ महिनाको दूध खाने थियो। पारिवारिक सेटलमेन्ट भएकै थिएन' उनले भनिन् 'नउठौं पार्टीको पहिचान गुम्ने डर। कात्तिक मंसिरको निर्वाचन। मुस्ताङमा त्यसै पनि चिसो हुने। मसँग ठूलो च्यालेञ्ज थियो। चुनावमा म प्राविधिक रुपमा पराजित भएपनि राजनीति भने जितेँ भन्‍ने लाग्छ।'

    मध्यावधि निर्वाचनमा हार ब्यहोरे पनि २०५८ सालमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उनी पश्चिमाञ्चल क्षेत्रबाट निर्वाचित भइन्। राष्ट्रिय सभा सदस्य र अन्तरिम व्यवस्थापिका संसदको सदस्यका रुपमा एक वर्ष बिताएकी श्रीमाया जिल्ला, अञ्चल स्तरीय कमिटी हुँदै अहिले केन्द्रीय राजनीति गरिरहेकी छिन्।

    परिवारिक कामले पार्टीको काम रोक्नुपर्ने अवस्था बनेन

    श्रीमायाका दुई छोरा र एक छोरी छन्। पति कुलबहादुर थकाली मुस्ताङमै व्यवसाय गर्दै आएका छन्। परिवारको साथ र सहयोगका कारण नै भूमिगत समयदेखि अहिलेसम्म राजनीतिलाई निरन्तरता दिँदै आएको उनी बताउँछिन्। नेकपा एमालेको आठौं महाधिवेशनमा राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी श्रीमाया नवौं नवौं महाधिवेशनबाट पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छिन्। 

    श्रीमाय परिवारमा निकै कठिन अवस्था रहदा समेत निरन्तर राजनीतिमा सक्रिय रहिन्। उनलाई परिवारबाट पनि साथ मिल्यो। 'जीवनमा मैले यो पाउनुपर्छ अथवा मलाई यो चाहियो भनेर कहिल्यै राजनीति गरिन। परिस्थितिले ममाथि जिम्मेवारीहरु आए र मैले त्यसको निर्वाह गरेँ' उनी भन्छिन् 'त्यसका लागि परिवारले सधैं साथ र समर्थन गरिरह्यो। पारिवारिक कामले कहिले पनि पार्टीको काम रोक्नुपर्ने अवस्था पनि आएन। श्रीमानले मलाई सधैं सहयोग गरिरहनुभयो।'

    राजनीति, बच्चाबच्ची हुर्काउने र पारिवारिक जिम्मेवारी सम्हाल्ने लगायत पतिको व्यवसायमा सहयोग गर्ने काम एकैचोटी नगरी सुख थिएन। उनी ती सबै काममा निरन्तर लागिन्। 

    मुस्ताङमा एमाले सपना

    ६ वर्ष राष्ट्रिय सभा र एक वर्ष अन्तरिम व्यवस्थापिका संसदको सदस्य रहेकी श्रीमायाको सपना मुस्ताङमा प्रत्यक्ष चुनाव जित्ने थियो। २०६४ सालको संविधानसभा निर्वाचनमा चन्द्रबहादुर गुरुङलाई एमाले उम्मेदवार बनाउन उनले पहल गरिन् र प्रचारमा खटिइन्। अन्तत गुरुङले जित हासिल गरे। 'निर्वाचनमा मुस्ताङमा एमालेको झण्डा फहराएर देशभर विजयीको शुरुवात भएको थियो। म निकै खुसी भएँ किनकी मुस्ताङमा एमालेलाई प्रत्यक्ष चुनावमा जिताउनु मेरो जीवनको लक्ष्य नै थियो।' 

    राजनीतिको दुःखको क्षण

    पार्टीका विभिन्न जिम्मेवारी पाउँदा इमान्दारीपूर्वक काम गरिन् श्रीमायाले २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवार थिइन्। मुस्ताङमा पार्टीले प्रत्यक्षतर्फ चुनाव जितेकाले आफूलाई सभासद नबनाए पनि हुने उनले पार्टीलाई सुझाव दिएकी थिइन्। तर पार्टीले मुस्ताङबाटै समानुपातिक सभासद चयन गर्‍यो। तर श्रीमायाको भाषामा एमालेका लागि एक दिन पनि लगानी नगरेको व्यक्तिलाई।

    'नेकपा एमालेमा एकदिन लगानी नगरेको, एक रुपैयाँ पनि लगानी नगरेको, ०५६ को निर्वाचनमा कांग्रेसमा योगदान दिएको व्यक्तिलाई टपक्क टिपेर सभासद बनाइयो। त्यो क्षण मेरो राजनीतिक जीवनको सबैभन्दा दुखद् क्षण थियो' उनी भन्छिन्, 'पार्टीप्रति मेरो एकदमै विश्वास थियो कि कुनै योग्य व्यक्तिलाई अवसर दिन्छ भन्‍ने। तर जिल्ला नै चकित हुने गरी अवसर बाँडियो।'

    पार्टीभित्र योगदान दिएका भन्दा चिनेजानेका, आफन्त र आर्थिक रुपमा प्रभाव पार्न सक्नेहरु हाबी हुन थालेपछि पार्टी राजनीति गाह्रो हुन थालेको आभास श्रीमायालाई भएको छ। 'पार्टी राजनीति गाह्रो हुन थालेको छ। माथि आउँदै गर्दा विभिन्न कुराले प्रभाव पार्दो रहेछ। गुटबन्दी सबैभन्दा ठूलो समस्या बनेको छ सबै पार्टीभित्र' उनी भन्छिन्, 'यसले जुन ठाउँमा जुन व्यक्तिको भूमिका/जिम्मेवारी हुनुपर्ने हो त्यो नहुने अवस्था सिर्जना भएको छ। यो सबैका लागि दुखद विषय हो।'

देविका घर्तीमगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]