प्रहरी भन्छ : अनुसन्धान भइरहेको, धेरै बोल्न मिल्दैन

|

भक्तपुर : भक्तपुरमा सार्वजनिक बसभित्र दुई दिनसम्म भएको सामूहिक बलात्कारका घटनामा मुख्य अभियुक्त मानिएका दिपेश राईलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। 

पीडित किशोरीलाई शुक्रवार रत्नपार्कबाट ल्याएर बलात्कार गरी त्यही साँझ अर्का साथीलाई बुझाएको भनिएका राईलाई घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको हो। 

सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीलाई भक्तपुरको सूर्यविनायक र लिवाली क्षेत्रमा पार्किङ गरेका दुईवटा बसभित्र गत शुक्रवार दिउँसोदेखि शनिवार रातिसम्म सामूहिक बलात्कार गरिएको थियो। 

त्यस घटनामा संलग्न बा.३ ख. २६१२ नम्बरको बसका चालक र सहचालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० बस्ने २२ वर्षीय निर कुमार खड्का र सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ पाङताङ बस्ने २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परिसकेका छन्।

उनले घटना शंकास्पद भएको बताउँदै त्यस घटनामा उनीहरु तीनजना बाहेक अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइन्। ‘घटना केही शंकास्पद देखिएकाले यसको गहिरो अनुसन्धान भइरहेको छ,’ उनले भनिन्, ‘अनुसन्धान भइरहेको छ। यसबारेमा धेरै बोल्न मिल्दैन।’ 

पीडितसँग गहिरोसँग सोधपुछ गर्न सक्ने अवस्था नभएकाले प्रहरीले घटनाबारे थप नयाँ तथ्य फेला पार्न नसकेको उनले बताइन्। उनले भनिन्, ‘पीडितसँग अहिले नै कुरा गर्न सक्ने स्थिति छैन। किशोरीलाई मानव कल्याण समाज (सेवा घर) भक्तपुरको संरक्षण राखिएको छ।’

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार थापाले पक्राउ गरेका २ जनासँग बयान लिइरहेको बताए। उनले पीडितको स्वास्थ्य जाँचको विस्तृत रिपोर्ट आइ नसकेकाले केही भन्‍न सक्ने स्थिति नरहेको बताए। उनले पीडितको स्वास्थ्य रिपोर्ट आउन केही समय लाग्न सक्ने बताए।

थापाले जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्नुपर्ने अहिलेको अवस्थाले पनि बसभित्रै दुई दिनसम्म बलात्कार जस्तो जघन्य अपराधको घटना हुन पुगेको बताए। 
‘जोरबिजोर प्रणालीमा सवारी चलाउने नियमले यो घटना दुई दिनसम्म भएको पाइयो’, उनले भने, ‘नचल्ने गाडी पार्किङ भइरहेको हुन्छ। कसैलाई याद नहुने भयो।’

थापाले पीडित युवतीलाई रत्नपार्कबाट सार्वजनिक बसमै भक्तपुर ल्याएको बताए। ‘कोरोनाका कारण सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको संख्या अत्यन्त न्यून छ’, उनले भने ‘यसैको फाइदा उठाउँदै युवतीलाई सार्वजनिक बसमै भक्तपुर ल्याएको देखिन्छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.