|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा मंगलबार दिएको सन्देशले मुलुकको बर्तमान राजनीतिक समस्यालाई निकास नदिएर मुठभेड निम्त्याउने मधेसी मोर्चाका नेताहरुले बताएका छन्। 

प्रधानमन्त्रीले संवैधानिक बाध्यताका कारण स्थानीय चुनावलाई टार्न मिल्दैन भन्नु रोदनमात्र भएको मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए। ‘मधेसी मोर्चासँग गरेको सहमति अनुसार तत्काल संविधान संशोधनको विधेयकलाई अघि नबढाई निर्वाचनको घोषणा गरे मुलुक मुठभेडमा जान्छ’ महतोले भने 'निर्वाचन गराउनै पर्ने वाध्यता पर्‍यो भनेर प्रधानमन्त्रीले भन्नु रोदन मात्र हो।’

नेता महतोले जसरी पनि चुनाव गराइछाड्ने र मोर्चालाई पनि संशोधन विधेयक पछि पास गरौंला भनेर प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको आरोप लगाए। ‘आज चुनावमा जाऔं अनि भोलि संविधान संशोधन बिधेयक पारित गरौंला भनेर कहाँ हुन्छ?’ महतोले थाहाखबरसँग प्रश्न गरे ‘आज संविधान संशोधन बिधेयकलाई परिमार्जनसहित पारित गराउन नसक्नेले चुनाव भएपछि कसरी पारित गर्छ?’

महतोले संविधान संशोधन नभएसम्म कुनैं पनि निर्वाचनमा मोर्चाले भाग लिँदैन र आन्दोलनमा जानुको बिकल्प पनि नरहेको स्पस्ट पारे। सरकारले एमाले र माओवादीसँग भन्दा पहिले मधेसी मोर्चासँग तीन बुँदै सहमति पहिले गरेकाले तीन बुँदे सहमति कार्यान्वयन पहिले गर्नु पर्ने महतोले जिकिर गरे। 

उनले भने ‘प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहमति अनुसार सत्ता छाड्नु पर्ने भएकाले जबर्जस्ती निर्वाचन घोषणा गरेका हुन्। अब उनको अग्नि परीक्षा हामी लिँदैछौं। हामीसँगको सहमति कार्यान्वयन गर्ने वा नगर्ने भनेर।’

मोर्चा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्री दाहालको जसरी पनि निर्वाचन गराइ छाड्ने आशयको अभिव्यक्तिमा दम्भ र अहंकार मिसिएको आरोप लगाए। ‘प्रधानमन्त्रीको भाषा शाही शासनकालमा राजा ज्ञानेन्द्रको जस्तो देखियो’ झाले भने ‘तपाईहरुको असन्तुष्टी निर्वाचनमा प्रकट गर्नुस् भनेर हामीलाई भन्नु अपमान गर्नु हो।’

मोर्चाले संविधानको एक सय ८० वटा धारामा संशोधनको माग राखेर आन्दोलन गरिरहँदा हाम्रो माग संवोधन गर्छौं भनेर कांग्रेस र माओवादीले सडकबाट सदनसम्म ल्याएर हाल बिचल्लीमा पार्न खोजेको आरोप रामसपा महासचिव झाले लगाए। उनले भने ‘हाम्रा एक सय ८० वटा मागमा चार वटालाई पनि सरकार पक्ष मान्न तयार छैन भने यो संविधानलाई मानेर हामी कुनैं हालतमा निर्वाचनमा जान सक्दैनौं बरु सडक तिरै लाग्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.