|

बर्दिया : पूर्व–पश्चिम राजमार्गलाई रणनीतिक महत्व र आवागमनका हिसाबले सधैँ चुस्त-दुरुस्त राख्नुपर्ने हो। तर यो राजमार्ग अहिले 'खाडलमार्ग' बनिसकेको छ। बर्दिया खण्डमा पर्ने राजमार्गको सडकमा जताततै खाडल छन्‌। सवारीसाधन चलाउन निकै सकस पर्ने गरेको छ। 

राजमार्गको मानखोला–भुरिगाउँ सडकखण्डमा खाल्डाखुल्डी परेको निकै समय भइसक्यो। तर, अहिलेसम्म मर्मत भएको छैन। राजमार्ग मर्मत नहुँदा यातायात संचालनमा कठिनाई भएको छ। 

पूर्वपश्चिम राजमार्ग अत्यन्तै व्यस्त राजमार्ग हो। यहाँ दिनहुँ सयौँ सानाठूला सवारी साधान चल्ने गर्छन्। खाडल परेको महिनौं बित्दा पनि राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ। 

पूर्वपश्चिम राजमार्गको मानखोलादेखि भुरिगाउँसम्म करिव ४० किलोमिटर खण्डका सयौँ स्थानमा सानाठूला खाल्डाखुल्डी छन्। सबैभन्दा बढी खाल्डाखुल्डी कतरनियादेखि भुरिगाउँसम्मको क्षेत्रमा छ। 

एउटा खाडल पार गर्न नपाउँदै अर्को खाडल आउँछ। खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा परेर ज्यानै जानसक्ने खतरा छ। यहाँ सवारीसाधन चलाउन निकै सकस हुने गर्छ। दिउँसोभन्दा रातीको समयमा चल्ने सवारीसाधन दुर्घटना हुने जोखिम बढेको सवारीचालकहरू बताउँछन्। 

राजमार्गमा केही तीव्र गतिमा सुरक्षितसाथ सवारीसाधन कुदाएर गन्तव्यमा पुग्ने चाहना सबैको हुन्छ। तर सडकमा सवारी साधन कुदाउन त के, चलाउनै डरलाग्दो अवस्था छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने राजमार्गको बर्दिया खण्डमा यस्तै खतरायुक्त ज्यानमारा खाल्डाखुल्डी छन्। 

राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटनामा भए, तथ्याङ्क नै छैन। तर स्थानीयको भनाइअनुसार मोटरसाइकल लगायतका सवारी साधन दुर्घटना हुँदा धेरैजना घाइते भइसकेका छन्‌। सवारीसाधन चलाउनेहरू खाडलका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन्।

सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत भएको छैन। महिनौं बितिसक्दा समेत मर्मतको काम हुन सकेको छैन्। वर्षायाममा पानी पर्दा यो राजमार्ग भए यात्रा गर्न झन जोखिम हुने गरेको छ। 

रातीको समयमा विपरीत दिशाबाट आएको गाडीलाई साइड दिँदा खाडलमा परेर दुर्घटना हुन संभावना बढी रहेको चालकहरू बताउँछन्। खाल्डाखुल्डीका कारण राजमार्ग गाडीलाई साइड दिनुपर्दा रोक्नैपर्ने बाध्यता छ। राजमार्गको कर्णाली चिसापानी खण्डमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी छन्। 

सडक मर्मतसम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय नेपालगन्जको हो। तर सडक डिभिजनले सडक मर्मतमा कुनै चासो दिएको छैन। स-साना खाल्डामा माटो हाल्ने काम मात्र भएको छ। केही समय अघि टालटुल पारेको ठाउँ पनि फेरी उस्तै खाडल परेको छ। 

सडकमा जहाँतहीँ खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन निकै सास्ती हुने गरेको सवारी चालक दिनेश आचार्यले बताए। सडक बिग्रेका कारण यात्राको समय पनि लम्बिने गरेको उनको भनाइ छ। 

राजमार्गमा खाल्डाखुल्डीका कारण सवारीसाधन चलाउन समस्या हुने गरेपछि तत्काल सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बाँकेलाई निर्देशन दिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।

सडक मर्मतका लागि निर्देशन दिइसकिएको र अब तत्कालै उक्त समस्याको अन्त्य हुने समेत उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.