बिरामीको विवरण खोज्दै मन्त्रालय

|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल अहिले संक्रमितले भरिभराउ छन्।

उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढिरहँदा सक्रिय संक्रमितलाई सरकारी कोभिड अस्पतालमा बेड अभाव हुन थालेको हो। सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसियु बेड छुट्याएको जनाएको थियो। 

कोरोना संक्रमणको उपचारको लागि छुट्याइएका उपत्यकामा ठूला अस्पताल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालका कोभिड बेड र आइसियु बेडहरु भरिएका छन्। लक्षणसहितका सक्रिय संक्रमितहरुलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ।

बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका छन्।

काठमाडौंस्थित टेकु, वीर र बलम्बु अस्पताल कोभिडका बिरामीले भरिएका छन्। अर्कातिर ललितपुरको पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप छ। त्यस्तै शिक्षण, कान्तिपुरसहितका अस्पतालमा पनि संक्रमितको चाप रहेको सरकारले नै बताइसकेको छ।

८३६ वटा आइसियु कता हराए?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल देशभर २ सय ३३ जना संक्रमित आइसियुमा छन्। अन्य ३७ जना गम्भीर बिरामी परेर भेन्टिलेटरमा उपचाररत छन्।

सरकारको तथ्याङ्क अनुसार हाल ५०३ आइसियु खाली हुनु पर्ने हो तर हाल उपत्यकासहित देशभर आइसियु बेड नपाएर संक्रमितको इमर्जेन्सीमा नै उपचार भइरहेको छ।

मन्त्रालयको विवरण अनुसार यसअघि नै कोभिडका लागि बागमती प्रदेशमा ६ सय ३० वटा आइसियु बेड छुट्याइएको थियो। तर मन्त्रालयको विवरण अनुसार हाल बागमती प्रदेशमा १२७ जना संक्रमित आइसियुमा छन्। बाँक बाकी आइसियुमा कस्ता बिरामी छन् भन्‍ने विवरण स्वास्थ्य मन्त्रालयसँगै छैन।

बिरामीको विवरण खोज्दै मन्त्रालय

हाल उपत्यकाका लक्षणसहितका संक्रमितले आइसियु बेड पाउन छाडेका छन्। नर्मल बेडमा पनि बिरामीले भर्ना पाउन सोर्स लगाउनुपर्ने बाध्यता छ। आइसियु बेड पनि खाली नपाउने अवस्था आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको विवरण खोज्‍न थालेको छ। मन्त्रालयले त्यसका लागि एउटा समिति नै बनाएको छ।

मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा गुणराज लोहनी संयोजकत्वमा वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालसहितको टिमले आइसियु बेडमा रहेका बिरामीबारे अनुसन्धान गर्न लागेको मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले बताए।

‘हाम्रो तथ्याङ्कमा पनि यो कुराले प्राथामिकता पाएको छ, त्यसैले समिति नै बनाएर आइसियु बेडको अवस्थाबारे विवरण खोजिरहेका छौँ', उनले भने, 'यस्तै मन्त्रालयले डा. मदन उपाध्यायको टिमलाई उपत्यकामा भेन्टिलेटर र त्यहाँ रहेका विरामीको अवस्थाबारे बुझ्‍न टिम बनाइएको छ।'

‘तथ्याङ्‍क अनुसार संक्रमित आइसियुमा छैन, तर अस्पतालहरुले सबै आइसियु भरिएको विवरण पठाएका छन्', उनले भने,'एकातिर बिरामीले आइसियु नपाएको गुनासो छ, त्यसैले यी सब कुरा पत्ता लगाउन हामीले समिति नै गठन गरेका हौँ।'

२५ हजारमै आत्तियो सरकार

मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल  देशभर २५ हजार ७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यीमध्ये आधाभन्दा बढी १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्।

जम्मा १० हजार ५९६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। उता विज्ञहरुले शुरुमा कुनै लक्षण नदेखिएका संक्रमितलाई पनि जुनसुकै बेला कडा लक्षण देखिन सक्ने भन्दै अस्पताल सेटअपमा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने सुझाव दिँदै आएका छन्।

उता सरकारले लक्षण नदेखिएसम्म र गाह्रो नभएसम्म अस्पताल भर्ना नगर्ने नीति लिएको छ। त्यहीकारण कारण धेरै संक्रमित बाध्य भएर घरमै बसिरहेका छन्।पछिल्लो समय होम आइसोलेसनमा बसेका संक्रमितको उपचारका लागि बेड खोज्दा खोज्दै ज्यानसमेत गएको गुनासो समेत आउन थालेको छ।

गम्भीर बिरामी नभइ नआउनू

आधाभन्दा बढी संक्रमित घरमै बस्दा पनि सरकारले बेड पुर्‍याउन नसकेर बेहोस भए मात्रै अस्पताल आउनु अन्यथा नआउनु भन्‍न थालेको छ। मन्त्रालयका प्रवक्ता गौतमले बुधबारको मिडिया ब्रिफिङमा धेरैजना सामान्य रुघाखोकी लाग्दैमा अस्पताल आएको भन्दै बेहोस हुनै लागेमा वा बेहोस भएमात्रै अस्पताल आउन सर्वसाधारणलाई सुझाव दिएका छन्।

सरकारले यसअघि ४० हजार सक्रिय संक्रमित पुग्दासम्म बेड अभाव हुँदैन भनेको थियो। तर २५ हजार सक्रिय संक्रमित पुग्दैमा सरकारले अस्पतालले थेग्‍न नसकिने भनेर जिम्मेवारीबाट पन्छिएको छ। 

यतिबेला उपत्यका लगायतका ठूला शहरका सबै आइसीयू बेड भरिभराउ छन्। कतिपय ठूला अस्पतालहरुले त आफूकहाँ बेड खाली नभएको भन्दै सूचना नै जारी गरिरहेका छन्। यसबीचमा कोही पनि सिकिस्त संक्रमित आएमा बेड पाउने सम्भावना नै नभएको डाक्टरहरुले भन्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.