|

काठमाडौं : कोरोना संकटका कारण असोज २५ मा बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ। गगन कुमार थापालगायत ७ जना केन्द्रीय सदस्यलाई कोरोना पोजेटिभ देखिएसँगै बैठक अनिश्चित बनेको हो। 

गत असोज १७ र १८ गते गरेर ७ केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएसँगै १९ गतेलाई डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेलाई सरेको छ। कांग्रेसले केन्द्रीय समितिको बैठक अघि २४१ जनाको पिसिआर परीक्षण गरेको थियो। केन्द्रीय सदस्यहरु नै संक्रमित भएसँगै बैठक बस्ने या नबस्ने भन्ने विषयमा अन्योल भएको हो। 

‘बैठक बस्ने नबस्ने विषयमा अन्योल थपिएको छ,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘केन्द्रीय सदस्यहरुलाई नै कोरोना पोजेटिभ देखिएको छ। मलगायत केही साथी आज (बिहीबार) कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएर आएका छौँ। हामीहरूको पनि रिपोर्ट पोजेटिभ आयो भने त बैठक अझै अनिश्चित बन्ने पक्का छ।’ 

आज वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुले स्वाब दिएका हुन्।   

घिमिरे केन्द्रीय सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको कारण र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफल सकरात्मक नभएसम्म केन्द्रीय कार्यसमितिको बैठक नबस्ने बताउँछन्। ‘पार्टी कार्यालयमा विरोध पत्र दर्ता भएपछि १९ गते सभापति ज्युले रामचन्द्र दाइलगायत केही नेतासँग छलफल गर्नु भयो,’ उनले भने, ‘त्यो छलफलले केही निष्कर्ष निकालेन। अहिले कोरोनाका कारण छलफलमा पनि ब्रेक लागेको छ।’ 

पौडेललाई ४० प्रतिशत विभागको प्रस्ताव 

अब बस्ने केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता  पौडेलसहित २७ नेताले दर्ता गरेको विरोध पत्रका विषयमा छलफल बताइएको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तोकिसकेको अवस्थामा २० विभाग विस्तार गरेको, पार्टी एकलौटी ढंगबाट अगाडि बढाएको, महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अर्काे महाधिवेशन आउन ६ महिनामात्रै बाँकी छँदा पनि विस्तार गरेकोले खारेज गर्नुपर्ने माग पौडेल समूहको छ। 

तर, देउवाले १४ औँ महाधिवेशनमा पनि आफू सभापति जित्ने गरी शक्ति बटुलिरहेका छन्। उनले कुनै पनि हालतमा विभाग खारेज गर्ने छैनन्। बरु ४० प्रतिशत पौडेल समूहलाई विभाग भाग लगाएर दिन देउवा तयार छन्।

‘रामचन्द्र दाइहरुले विभाग नै खारेज गर्न भन्नु भएको छ। त्यो सम्भव हुने कुरै होइन्, ‘उहाँहरुलाई (पौडेल) ४० प्रतिशत विभाग दिने मनस्थितिमा सभापति हुनुहुन्छ,’ देउवा पक्षका एक शीर्ष नेताले भने, ‘उहाँहरूबीच विरोध पत्र दर्ता भइसकेपछि एक पटक छलफल पनि भइसकेको छ। तर, त्यो छलफलबाट कुनै निष्कर्ष भने निस्केको छैन।’ 

यता पौडेल समूहका केन्द्रीय सदस्य गुरुराज घिमिरे सभापति देउवा र वरिष्ठ नेता पौडेल बीचको छलफल सकरात्मक  नभएसम्म आगामी बैठक बस्दैन। वरिष्ठ नेता पौडेलले केही दिन अघि १३ औँ महाधिवेशनका प्रतिनिधि कायम गरेर भए पनि फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका थिए।

उता सभापति देउवाले भने कोरोनाका कारण फागुनमा महाधिवेशन सम्भव नभएको स्वीकार गरिसकेका छन्। पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले त साउनको बैठकमै फागुनमा महाधिवेशन सम्भवन नहुने र वैशाख या जेठमा महाधिवेशनको मिति तोक्न प्रस्ताव गरेका थिए। 

गत वर्षको फागुनमा १३ औँ महाधिवेशनमा निर्वाचित भएको देउवा कार्यसमितिको कार्यकाल सकिएको हो। देउवाले विधानको व्यवस्था प्रयोग गरेर एक वर्ष लम्ब्याएका थिए। तर, महाधिवेशन कार्यतालिका अनुसार काम नभएपछि फागुनमा पनि महाधिवेशन नहुने पक्का जस्तै छ। अब देउवाले थप ६ महिना मात्रै कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.