काठमाडौं : मुलुकभर कोरोना संक्रमण र मानवीय हताहती दर दिनप्रतिदिन बढिरहेको छ। उपत्यका लगायत बाहिरी जिल्लामा संक्रमितहरूले अस्पतालका बेड भरिन थालेको छ। कतिपय संक्रमितले आइसीयू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गुमाइरहेका छन्। मुलुकलाई कोरोनाको चपेटामा लपेटिसकेको छ।
हिन्दु धर्मालम्बीका महत्वपूर्ण चाडपर्व पनि सम्मुखमै आइरहेका छन्। मानिसहरू कोरोना हटस्पट बनेको काठमाडौंबाट गृह जिल्लातर्फ जान थालेका छन्। तर सरकारले यसपटक अभिभावकहरूसँग टाढैबाट या फोनबाटै आशिर्वाद ग्रहण गर्न आग्रह गरिरहेको छ। यस पछाडिको कारण हो : शहरबाट जाने युवाबाट वृद्ध अभिभावकहरूमा संक्रमण सर्ने जोखिम ! मानवीय संवदेनासँग जोडिएका चाडपर्वमा हुने आवतजावतलाई सुरक्षित बनाउन र कोरोना महामारीको बढ्दो प्रकोपबाट कसरी बच्ने भन्नेबारे थाहाखबरकर्मी अतिन आचार्यले संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा कोरोना (कोभिड-१९) नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसकेको हो?
कोरोना नियन्त्रण गर्न सकिँदैन भनेर हात छोड्न मिल्दैन। तत्कालको अवस्थामा नियन्त्रण गर्न नसके पनि कोभिडबाट हुने क्षतिलाई केही कम गर्न सकिन्छ। महामारी नियन्त्रणको सामान्य तरिका अपनाएको खण्डमा केही कम आउँछ।
महामारी निकै फैलिएको त छ, तर नियन्त्रणमा केही काम गर्न नसक्ने भन्ने हुँदैन। अब के गर्न सकिन्छ भन्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्छ। हरेक कुराको सामान्य नियम हुन्छ, त्यसका लागि मूख्य निकायदेखि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालन गर्न सकेको खण्डमा केही हदसम्म कमी आउन सक्छ। अस्पताल जाने संक्रमितको संख्यामा कसरी कमी ल्याउन सकिन्छ, त्यो विषयलाई प्राथमिकतामा राखी काम गर्न सकेमा अहिले देखिएको समस्या समाधान हुन्छ।
नियन्त्रणको कसरी गर्ने त ?
अहिले देखिएको भनौँ वा जुनसुकै समयमा देखिएको महामारी भयावह किन नहोस्, समुदायमा गएको महामारी रोक्नका लागि बिरामी वा संक्रमितलाई अस्पतालमा लगिँदैन। सबैभन्दा भरपर्दो उपाय भनेको नै समुदायमै संक्रमण नियन्त्रण गर्न विशेष अभियान थाल्ने हो। समुदायमा के काम गर्न सकिन्छ, त्यसका लागि रणनीति अपनाउनुपर्छ।
परीक्षणको दायरा बढाउने र पोजेटिभ देखिएकालाई आइसोलेट गर्न सकिएको खण्डमा मात्र यो सम्भव छ। विभिन्न उपाय अपनाएर पीसीआर परीक्षणलाई कसरी सर्वसुलभ र सस्तो बनाउन सकिन्छ, त्यसको खोजी गरिनुपर्छ। कन्टयाक्ट ट्रेसिङलाई अधिक मात्रामा बढाउनुपर्छ। सम्भावित संक्रमितको पहिचान गरी तिनीहरूलाई आइसोलेट गरिनुपर्छ। कसको परीक्षण गर्ने, सो निश्चित समूह पत्ता लगाइनुपर्छ।
संक्रमितले सामान्य बेडदेखि आइसीयू र भेन्टिलेटर पाउन छाडेका छन्, अहिले भएको संरचनाले नभ्याउने अवस्था आइसकेको हो ?
संक्रमित दिनप्रतिदिन थपिँदै गएको अवस्था छ। सबै संक्रमितका लागि अस्पतालहरूमा बेड नभएको तथ्य बाहिर सार्वजनिक भइरहेको छ। गम्भीर अवस्थामा नपुगेका संक्रमितलाई अहिले अस्पतालको बेडमा नराखी आइसोलेसन बनाएर चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ। अक्सिजन कम भएका मानिसलाई व्यवस्थित अक्सिजन सहितको आइसोलेसन बनाएर राख्नुपर्छ।
तत्कालका लागि आइसोलेसन बेड बढाउनु देखि बाहेकको अन्य विकल्प छैन। अस्पतालको बेड अहिले बढाउन नसकिए पनि आइसोलेसन निर्माण गर्न सकिन्छ। अस्पतालमा बिरामी कम मात्रामा जाने स्थिति कसरी कायम गर्न सकिन्छ, त्यो उपाय अपनाउनुपर्छ। बढीभन्दा बढी परीक्षण गरेर संक्रमित पहिचान गर्नुपर्छ आइसोलेट गर्नु सबैभन्दा उत्तम विकल्प देखिन्छ।
जटिल अवस्थाका बिरामीलाई मात्र अस्पताल लाने र सामान्य लक्षण भएकालाई आइसोलेसनमा राखी उपचार गर्न सकिन्छ। अस्पतालमा बेड छैन भन्दा पनि आइसोलेसनमा अक्सिजनसहितको बेड कसरी बनाउन सकिन्छ, त्यसमा ध्यान दिन जरुरी रहेको छ। केन्द्र सरकारले बनाउन नसकेको खण्डमा स्थानीय सरकारले त्यसका लागि पहल थाल्नुपर्छ।
काठमाडौं उपत्यकाका स्थानीय सरकारले बनाउने भनेको आइसोलेसन अहिलेसम्म तयार भएको छैन। निर्माणमा तदारुकताको साथ लाग्नुपर्छ। आइसोलेसनमा बस्नुपर्ने मानिस अस्पतालमा बस्नुपर्दा बेड अभाव भएको छ। आइसोलेसनको अभाव हुँदा नै यस्तो स्थिति निम्तिएको हो।
कोभिड संक्रमितले भरिएपछि अस्पतालहरूमा नन् कोभिडका बिरामीले उपचार पाउन सकिरहेका छैनन्, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
नन् कोभिड बिरामीको उपचार यतिखेर सबैभन्दा बढी चुनौती बनिरहेको छ। कोभिड बाहेकका अन्य बिरामीहरूको पनि जीवन सुरक्षित हुनुपर्छ। ती बिरामीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी आवश्यक संरचना निर्माण गर्न सकिन्छ।
नन् कोभिड बिरामीका लागि केही व्यवस्था गरिएको छैन। नन् कोभिडको उपचार गरिने ठाउँलाई धमाधम कोभिड उपचार केन्द्र बनाइएको छ। कोभिड बाहेकका बिरामीको उपचार गर्न विशेषज्ञ समिति बनाई व्यवस्था गरिनुपर्छ। कोभिडको त्रासमा अन्य बिरामीले उपचार गर्न नपाउने सम्भावना बढ्दै गएको छ। नन् कोभिडको बिरामीलाई पहिलो प्राथमिकतामा राखौं।
दिनप्रतिदिन संक्रमित र मृत्युदर बढीरहेको अवस्थामा मुलुक संकटमा गएको जस्तो देखिन्छ, स्थिति थप जटिल बन्न नदिन के गर्ने ?
केही दिनदेखि संक्रमित र मृत्युदरको आंकडालाई हेर्ने हो भने मुलुकमा कोरोना संक्रमणको दरले थेग्न सक्ने अवस्था देखिन्न। नियन्त्रण गर्न सकिन्न भनेर यसलाई त्यतिकै छोडेर बस्न पनि मिल्दैन। नियन्त्रणको लागि ठोस कदम चाल्न सकिन्छ।
अहिलेसम्म यसको उपचार विधि पत्ता नलागेकोले सुरक्षा विधि अपनाउनु नै यसको अर्को उपचार विधि हो भनेर बुझ्दा हुन्छ। सरकारको पहिलो कदम बढी संक्रमित भएको ठाउँमा आइसोलेसन निर्माण गर्ने हुनुपर्छ। आइसीयू बेड कहाँ-कहाँ छन्, त्यसको खोजी गरी प्रयोगमा ल्याइनुपर्छ। संक्रमितलाई केही बढी महत्त्व दिएर उपचार गर्नुपर्छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने पनि कुरा गरिरहेको छ, संकटकाल लागू हुँदैमा कोरोना नियन्त्रणमा आइहाल्छ र?
कोरोना नियन्त्रण गर्न संकटकाल नै भरपर्दो उपाय होइन। केही हदसम्म नियन्त्रण होला, तर लामो समयसम्म यो प्रभावकारी नहुन सक्छ। लकडाउन र संकटकाल नै लगाएपनि अहिले नेपालमा कोरोना नियन्त्रण हुने छाँटकाँट देखिएन। संकटकाल एउटा प्रयास मात्र हो।
सरकारमा बसेकाहरूले कोरोना नियन्त्रणमा भन्दा पनि जनतालाई कसरी शासन गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिएका छन्। अहिले नेपालमा कोरोना फैलनुको कारण पनि यही हो। जनताको स्वास्थ्य र जीवन रक्षा गर्नुपर्छ भन्ने विषयमा सरकारले रत्तिभर ध्यान दिएको छैन।
संकटकाल के का लागि लगाउने हो, त्यसमा ध्यान दिनुपर्छ। त्यसको कुनै तयारी भएन भने संकटकाल लगाएको कुनै महत्त्व रहन्न। संकटकाल लगाएपछि उपचार केन्द्र थप्ने र कन्टयाक ट्रेसिङ गरिन्छ भने मात्र यसको महत्त्व रहन्छ। नत्र अनाहकमा समय खेर जान्छ। सडक सुनसान बनाएर मात्र केही काम छैन। संकटकाल लगाउनुअघि परीक्षण गर्न र आइसोलेसन केन्द्र बनाउन के ले सरकारलाई रोकेको छ र !
पहिलो चरणको लकडाउनमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले सकेन, अहिले अस्पतालमा बेडको अभाव हुनु त्यसैको परिणाम हो?
लामो समयसम्म भएको लकडाउन र निषेधाज्ञालाई कसरी उपयोग गर्नुपर्छ भन्ने क्षमता माथिल्लो निकायमा बसेकाहरूसँग छैन। नेपालको स्वास्थ्य संरचना कति कमजोर छ भनेर त सरकारलाई पहिले नै थाहा थियो नि ! कोभिड उपचार केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको छैन।
यत्रो महामारी हुँदासम्म पनि जिम्मेवार व्यक्तिले महत्वपूर्ण उपलब्धिमूलक निर्णय केही गरेको जस्तो देखिँदैन। यदी त्यस्तो गरेको भए त आइसोलेसन निर्माणदेखि अस्पतालमा आइसीयू र भेन्टिलेटरको अभाव भएको समाचार बाहिर आउँदैन थियो।
लकडाउन र निषेधाज्ञाले कोरोनालाई नियन्त्रण गर्न सकिएको देखिएन, तपाईंले देख्नुभएका अरू उपाय के हुन सक्छन् ?
बढी संक्रमित भएका क्षेत्रमा आवागमन ठप्प पार्नुपर्छ। संक्रमितको संख्या हेरेर निषेधाज्ञा लगाई अधिक मात्रामा परीक्षणको दायरा बढाउनुपर्छ।
यतिकै बस्ने हो भने त अझ संक्रमण फैलिँदै जान्छ। अहिले पनि केही बिग्रेको छैन। धमाधम आइसोलेसन बनाएर संक्रमितको पहिचान गरी आइसोलेट गरेर राख्नुपर्छ। बाहिर निस्किएका मानिसहरूले अधिक मात्रामा सामाजिक दूरी कायम गरिनुपर्छ।
चाडपर्व नजिकिँदै छ, कोरोना हटस्पट काठमाडौंबाट मानिसहरू गाउँ जादैछन्, यसले त गाउँलाई कोरोनामय बनाउँदैन र ?
कोरोनाबाट सबैभन्दा बढी जोखिममा पर्ने भनेको वृद्ध-वृद्धा हुन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित भएकोले गाउँमा जाने मानिसले एकदमै सजगता अपनाउनुपर्ने हुन्छ। घर-परिवारमा वृद्ध-वृद्धाहरू छन् भने उहाँहरू चाडपर्वका बेला कोरोनाको उच्च जोखिममा रहने हुनुभएको छ।
अहिलेसम्म कोरोना नियन्त्रणका लागि कुनै औषधि बनेको छैन। अन्य रोग भएका बिरामीले अस्पतालमा राम्रोसँग उपचार पाउन छोडेका छन्। गृह जिल्लामा जाँदा पनि स्थानीय सरकारले भरपर्दो आइसोलेसन र क्वारेन्टाइन बनाएका छैनन्।
यसपटक कोरोना महामारीको कारणले गर्दा जो जहाँ रहेको हुनुहुन्छ, त्यहीँ बसेर चाडपर्व मनाउँदा आफू पनि सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।