३ क्याम्पसमा चुनावको अघिल्लो दिन अनेरास्ववियुको तालाबन्दी

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको दिन बुधबार काठमाडौं उपत्यकाका ५ ओटा क्याम्पसमा मात्र चुनाव भएका छन्। सानोठिमी क्यम्पस भक्तपुर, पुल्चोक इन्जिनियरिङ क्यम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, काठमाडौं नर्सिङ क्यम्पसमा स्ववियु चुनावमा मतदान भइरहेको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगाबहादुर थापाले थाहाखबरलाई बताए।

थप केही क्याम्पसमा बुधबार नै चुनाव गर्नका लागि पहल भइरहेको उनले जानकारी दिए। त्रिविको जनप्रसासन क्याम्पसमा बुधबार चुनाव हुने भनिएपनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार बेलुकी तालाबन्दी गरेकोले मतदान रोकिएको छ। प्रहरी लगाएर ताला फोडिएको अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार टीकाराम बस्नेतले बताए। 'हिजो हामीले लागाएको ताला फोडेको छ। क्याम्पस चिफ प्रहरी लगाएर चुनाव गराउने भन्ने पक्षमा छन्। त्यसको हामीले विरोध गरिरहेका छौं', बस्नेतले भने, 'हामी चुनाव गर्न दिन्नौं।'

त्यस्तै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पनि अनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन लगायतले तालाबन्दी गरेका छन्। मतदानको अघिल्लो दिन क्याम्पस प्रसासनले धाँधली गरेको भन्दै तलालगाइएको हो। अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्ष उम्मेदवार शान्ति तिमिल्सिनाले भनिन्, 'नेविसंघले आचारसंहिता मिचेकोले विभिन्न ४ विद्यार्थी संगठनले तालाबन्दी गरेका छौं।

त्यस्तै ललितकला क्याम्पस कीर्तिपुरमा पनि मंगलबार बेलुकी अनेरास्ववियु लगायत वभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेकोले मतदान अवरुद्ध भएको छ।  बुधबार चुनाव हुन नसकेका क्याम्पसमा भोलीदेखि पठनपाठन सुचारु गरिने शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समिति संयोजक प्रा. डा. सुधा त्रिपाठीले बताएकी छन्।

काठमाडौंका धेरै विद्यार्थी रहेका क्याम्पसहरु शंकरदेव, त्रिचन्द्र, नेपाल कमर्स, रत्न राज्यलक्ष्मी, त्रिवि केन्द्रीय क्याम्पस लगायतका क्याम्पसमा पनि विभिन्न संगठनले गरेका तालाबन्दीका कारण चुनाव भएका छैनन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.