बलात्कृत हुँदैमा जिन्दगी सकिँदैन, पुनर्स्थापित गराउनुपर्छ

|

सञ्जय न्यौपाने

एकपटक बसिबियाँलोमा कुरा चल्यो, मान्छे र पशुमा के फरक छ? एउटाले अनायासै भन्यो, "पशुले बलात्कार र आत्महत्या गर्दैन।"

गत भदौ २९ गते सप्तरीकी १७ बर्षीया संगीता मण्डलमाथि सामूहिक बलात्कार भयो। उनले प्रहरीमा उजुरी गर्न खोजिन्। तर यो मामिलालाई पञ्चायतीमार्फत गाउँमा नै सामसुम पार्ने काम गरियो। उजुरीसमेत दिन नपाएपछि उनले केही दिनपछि विवश भएर आत्महत्या गरिन्।

भदौ १ मा धनुषाकी १५ वर्षीया किशोरी दिदीको घरबाट फर्किने क्रममा सामूहिक रुपमा बलात्कृत भइन्। यो घटनालाई पनि पञ्चायतीमार्फत बाहिर आउन नदिने प्रयास गरियो। आरोपीका बाबुले झन्डै ३० लाखको प्रलोभन दिए। ज्यान मार्ने धम्कीसमेत दिए। तर पीडितका परिवारले हिम्मतसाथ प्रहरीमा उजुरी गरेरै छाडे।

त्यस्तै, बझाङको मस्टा गाउँपालिका - २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा सोही स्थानका राजेन्द्र बोहोरा पक्राउ परे। नजिकैको शिवमन्दिरमा फेला परेको शवले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको झझल्को दियो।

यस घटनाको भित्र पस्दै जाँदा आरोपीले केही समयअघि अर्की किशोरीको पनि बलात्कार गरेको तर पीडित र पीडकबीचको सहमतिमा घटना सामसुम पारेको रहस्य खुल्यो। पहिलो बलात्कारमा कुनै सजाय नभएपछी राजेन्द्रको दोस्रो शिकार सम्झना बिक हुन पुगेकी थिइन् भन्ने रहस्‍योद्घाटन भयो।

यी दुखद: घटनापछि नेपालमा बलात्कारविरोधी माहोल पुन: तातेको छ। न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्। न्यायप्रणालीको आलोचना तथा कानुन सुधारका माग उठिरहेका छन्।

सामान्य भाषामा, सहमति विना गरिने यौनसम्पर्क बलात्कार हो। यौनसम्पर्कला स्त्रीपुरुष प्रेम सम्बन्धको सबैभन्दा उच्चतम अभिव्यक्ति मानिन्छ भने बलात्कार यसैको निकृष्ट अवस्था हो। प्रस्ताव हुँदासम्म अपराध मानिँदैन। तर, असहमति हुँदाहुँदै सम्पर्क गरिए त्यसलाई अक्षम्य अपराध मानिन्छ।

मानवसमाज र सभ्यताको उद्गमसँगै बलात्कारलाई क्रुर अपराधको रुपमा लिने गरिएको छ। हाम्रा इतिहास सभ्यता र संस्कृतिका ग्रन्थहरु पल्टाएर हेर्दा युगौँ अघिदेखी नै महिलामाथी हुँदै आएको दमन, शोषण र बलात्कारको चित्र 'यत्रतत्र सर्वत्र' देख्न सकिन्छ।

महर्षी गौतमपत्नी अहिल्याको रुप र यौवन प्रति आकृष्ट भएर देवराज इन्द्रले छलपुर्वक उनीसङ्ग यौनसम्पर्क (बलात्कार) गरेका थिए। यसबाट क्रुद्ध भएर गौतमको इन्द्रको शरीरभरी हजार स्त्री यौनाङ्ग होउन् भनेर श्राप पनि दिए। उनले आफ्नी निर्दोष पत्नी अहिल्यालाई समेत ढुङ्गा हुनुपरोस् भनेर श्रापित गरे। यहाँ अहिल्याले बलात्कृत भएवापत सजाय पाइन्। पुनश्च : बलाकृत भए वापत् सजाय।

हिन्दु धर्मशास्त्रमा देवताहरुले सतीत्व परिक्षणका नाममा नारीहरुलाई छल, वल वा अनुचित प्रभावमा पारेर शारिरिक सम्पर्क राखेका कयौँ कथा उपकथा छन। अत्रिकी पत्नी अनुसूयाको छलपूर्वक सतीत्व हरण गर्न गएकाले नै ब्रह्मा, विष्णु र महेशले क्रमश: चन्द्रमा, दत्तात्रय र दुर्वासा भएर जन्मिनुपरेको थियो। त्यस्तै जालन्धरपत्नी बृन्दासङ्ग छलपूर्वक शारिरिक सम्पर्क राखेकै कारण बिष्णु पनि श्रापित भएका थिए।

हिन्दु बाहेक इसाई र मुस्लिम धर्मशास्त्रमा पनि महिलामाथी हुने दमन, अत्याचार र बलात्कारका घटना थुप्रै छन्। ग्रीकहरुका देवराज ज्युसले पनि आन्तोस, युरोपा, लेडा जस्ता थुप्रै महिलासङ्ग जथाभावी यौनसम्पर्क गरेका थुप्रै कथाहरु भेटिन्छन्।

बलात्कारलाई क्रुर अपराधको रुपमा करार गर्ने र दोषीलाई सजायको दायरामा ल्याउने कार्य पनि आदिमकालदेखि नै हुँदै आएको पाइन्छ।

इशा पछिका प्रथम सम्राट 'कन्सेन्टाइन' ले बलात्कार ब्यक्तिगत नभइ सिङ्गो समाजको बिषय भएको घोषणा गरेका थिए। मुस्लिम समुदायमा त प्राचीनकालदेखी नै बलात्कारीलाई प्राणदण्ड दिइन्थ्यो। त्यस्तै मनुस्मृतिमा पनि बलात्कारीलाई मृत्युदण्डकै सजाय तोकिएको छ।

इतिहासको भौतिकवादी दृष्टिकोणबाट हेर्दा आदिम समाज मातृसत्तात्मक थियो। महिलाको स्वतन्त्रता र यौनिकता माथी पुरुषको हस्तक्षेप थिएन। जब निजी सम्पत्तिसङ्गै परिवारको पनि उत्पत्ती हुँदै गयो तब महिलाको यौनिकता र स्वतन्त्रता र यौनिकता क्रमश: पुरुषको कब्जामा पर्दै गयो। यसपछि सुरु भयो महिलामाथि शोषण, दमन, अत्याचार र बलात्कारका अनवरत शृङ्खलाहरु।

यसरी हेर्दा सबैखाले समाजमा पितृसत्तात्मक संरचनाको फलस्वरुप बलात्कारको चेतमा पुरुष मष्तिष्कमा कसरी संस्थागत हुँदै आयो भनेर बुझ्न सकिन्छ।

कहालीलाग्दो तथ्यांक

संयुक्त राष्ट्रसंघ (UN WOMAN) को तथ्यांक अनुसार ३५ प्रतिशत महिला कम्तीमा पनि एकपटक यौन दुर्व्यवहारको सिकार हुने गर्दछन्। त्यसमध्ये ४० प्रतिशत पीडितको दुर्व्यवहार गर्ने ब्यक्तिसङ्ग हालसालै अझ २४ घण्टा भित्रै चिनजान भएको हुन्छ।

१० मध्ये ९ वटा बलात्कारका घटनाहरु कहिल्यै सार्बजनिक जानकारीमा ल्याइदैनन। नेपाल लगायत यौनको मामिलामा संकुचित धारणा भएको भनिने देशमा मात्र होइन, अमेरिका युरोपका ज्यादा स्वतन्त्रता भएको दावी गर्ने मुलुकहरुमा पनि लगभग ९० प्रतिशत बलात्कारका घटनाहरु प्रहरीसम्म पुग्दैनन्।

'क्यानेडियन वुमन्स फाउन्डेसन'ले ५६ प्रतिशत महिलाहरुले बलात्कारीभन्दा आफूलाई कम प्रभावशाली र शक्तिहीन महशुस गरेकाले रिपोर्ट नगरेको ४० प्रतिशत महिला लाजको कारणले प्रहरीसम्म नपुगेको देखाएको छ। त्यस्तै २९ प्रतिशत महिलाले बलात्कृत हुनुको जिम्मेवार आफैँलाई ठहर गरेका छन भने अन्यले परिवार र अन्य सम्बन्ध बिग्रन सक्ने डरले रिपोर्ट गर्न सकेनन्। रिपोर्ट गर्नेहरुमध्ये पनि ७१ प्रतिशतको यसपछिको अनुभव पूर्णत: नकारात्मक रह्यो।

पीडित महिलाहरु कानुनी प्रकृयामा छिरेपछी पुन पीडित हुन पुगे। प्रहरीको अकर्मण्य र सुस्त अनुसन्धान, साथिभाइ परिवारको आँखामा देखिने शंका र अबिश्वास सम्बन्धमा तनाव जस्ता कारणले दोहोरो पीडाको चपेटामा पर्नुपरेको गुनासो पीडितहरुको छ।

यसरी पीडितलाई सहयोग र हौसला प्रदान गर्नुको सट्टा निजलाई नै दोषी ठहर्याएर गरिने 'भिक्टिम ब्लेमिङ्ग' पनि बलात्कार कम रिपोर्ट हुनुमा जिम्मेवार रहेको निष्कर्ष विभिन्न अनुसन्धानले निकालेका छन्।

यसरी बलात्कार पछी दोहोरो पीडाको चपेटामा पर्नाले पीडितको मानसिक र शारिरिक स्वास्थ्यमा ठूलो असर पर्ने गरेको छ।

सामान्य व्यक्तिभन्दा  बलात्कृत महिलाको आत्महत्या दर गुणाभन्दा बढी हुने गर्दछ भने 'डिप्रेसन' लगायत मनोरोग लाग्ने सम्भावना गुणाले बढ्दछ। बलात्कार भएको ब्यक्तिको कार्यक्षमता  कुशलता आत्मबिश्वास पनि लगभग ३० प्रतिशतले घट्ने गरेको अनुसन्धानले देखाउँछ।

पीडितले ज्ञात अज्ञातमा गरेका केही व्यवहारले पुरुषलाई बलात्कार गर्न प्रेरित गरेको हुनसक्दछ। तर बलात्कार हुनुको पूर्ण दोषी र जिम्मेवार केवल बलात्कारी मात्र हो, महिला होइन। चोरी गर्ने चोर पूर्ण दोषी हो, चुकुल लगाउन बिर्सने व्यक्ती होइन।

बलात्कारीको अनुहार

बलात्कारीको अनुहार कल्पना गर्नुपरेमा हाम्रो मष्तिष्कमा कस्तो चित्र आउँछ? क्रुर, असभ्य, असामाजिक, कतै लुकेर अचानक आक्रमण गर्न सक्ने, यस्तै यस्तै…। हामीमा बलात्कार कुनै अज्ञात ब्यक्तिको क्रुर कृत्य हो भन्ने बलियो धारणा रहेको छ।

तथ्यांक अनुसार ७० प्रतिशतभन्दा बढी बलात्कारका घटना चिनेजानेकै व्यक्तिबाट हुने गर्दछ। नजिकैका साथी, सहकर्मीबाट ३० प्रतिशत, परिवारका सदस्यबाटै २३ प्रतिशत र छरछिमेक र अन्यबाट २० प्रतिशत।

यौनिक मानसिकता:

भनिन्छ - यौन आजसम्म सबैभन्दा बढी खोजिएको तर सबैभन्दा कम बुझिएको बिषय हो। तर बलात्कारको बिषयमा जतिधेरै चर्चा र बहस हुन्छ, बलात्कारीको मानसिकताको बिषयमा त्यतिनै कम।

(क) बलात्कार गर्ने मानसिकता क्षणिक यौनिक उन्मादको उत्तेजनाबाट मात्र उत्पन्न हुन्छ वा स्थायी रुपमा मष्तिष्कमा छिपेर बसेको हुन्छ।

- केही ब्यक्तिहरुका अनुसार यस्तो बिषय ब्यक्ति, समय र परिस्थितिअनुसार फरकफरक हुने गर्दछ। तर यी दुबैमध्ये प्रधानता कसको हुन्छ भन्ने बिषयमा भने अन्योल अझै कायम नै छ।

(ख) के बलात्कार यौन इच्छाको पाशविक भोक शान्त गर्ने प्रयास मात्र हो ?

- होइन। यश बिषयमा भएका अनुसन्धानका अनुसार बलात्कार  यौन चाहना तृप्त गर्ने चेष्टा मात्र नभएर महिलामाथि आक्रमण गरेर, दवाएर आफ्नो पुरुषत्वको अभिमान शिद्ध गर्ने प्रयास बढी हो। तसर्थ बलात्कारका घटनालाई पित्तृसत्तात्मक सोच र सामाजिक संरचनाको परिधिवाहिर राखेर हेर्न सकिँदैन।

महिला 'सुन्दरता’को बयान

पित्तृसत्तात्मक समाजमा महिलालाई पुरुषभन्दा तल्लो दर्जामा स्वीकार गरिन्छ। यहाँ पुरुष कर्ता हो, नारी सहायक मात्र। तसर्थ यसले महिलाको शरीरमाथी पुरुषको नियन्त्रणलाई सहजरुपमा स्वीकार गर्दछ। यस्तो चिन्तन फक्रेफुलेको समाजमा पुरुष महिलाभन्दा कमजोर भएमा निजको पुरुषत्व कुण्ठित हुन्छ जसले अन्ततोगत्वा बलात्कारी मानसिकतालाई नै पृष्ठपोषण गरिरहन्छ।

अर्कोतर्फ वैयक्तिक स्वतन्त्रता र आत्मनिर्णयको वकालत गर्ने पुँजीवादी व्यवस्थाले महिलालाई सुन्दर प्रजातिको रुपमा चित्रण गर्दछ। जसमा महिला भनेको पुरुषले उपभोग गर्ने 'वस्तु' हुन्, पुरुषको क्रिडास्थल हुन् भन्ने चिन्तन प्रणाली विकसित हुने गर्दछ। यसले सुन्दरताको छुट्टै परिभाषा निर्माण गरेको छ - ठूला स्तन, छिनेको कम्मर, आकर्षक नितम्ब, गोरो वर्ण आदि इत्यादि।

सुन्दरताको यो परिभाषालाई सिनेमा, संगीत, साहित्य, सौन्दर्यशात्र र पोर्नोग्राफी आदिले लामो समयदेखि नै पृष्ठपोषण गर्दै आइरहेका छन्। महिलाको सुन्दरता र शरीरको व्याख्या एकै किसिमको छ - चाहे सत्ययुगमा पार्वतीको होस्, चाहे कालिदासको मालबिकाग्नीमित्रम् होस् वा आधुनिक हारुकी मुराकामीको नर्वेजियन वुड।

मृत्युदण्डको मृत्यु:

अठारौँ शताब्दीको अन्त्यतिर बेलायतमा केही बगलीमारा हरुलाई फाँसी दिने निर्णय गरियो। त्यतिबेला त्यहाँका न्यायाधीशहरुलाई सजाय निर्धारणमा निकै स्वतन्त्रता थियो।

फाँसी दिने समयमा हरभरिका मान्छेला भेला गरियो कसैले आगामी दिनमा बगली मार्ने दुस्साहस गरेमा यस्तै हालत हुने चेतावनी दिइयो।  पछि के थाहा भयो भने उक्त भिडभाडमा थुप्रै ब्यक्तिको बगलीको पैसा सामान गायब भएको रहेछ। अर्थात् अगाडि एउटा बगलीमारालाई झुन्ड्याइँदै थियो, पछाडि अर्को व्‍यक्ति बगली मार्दै।

माथिको उदाहरणबाट के पुष्टि हुन्छ भने सजायको मात्रा बढाउँदैमा अपराध नियन्त्रण हुँदैन।

नेपालमा पनि एउटा समुहले केही समयदेखी नै बलात्कारीलाई फाँसीको सजाय हुनेगरी कानून बनाउनुपर्ने माग राख्दै आएका छन्। तर यो माग तथ्य, तर्क आवश्यकताको आधारमा कम तर भावना अनि आक्रोसको प्रतिक्रिया स्वरुप आएको देखिन्छ।

संविधानले मृत्युदण्डको निषेध गरेको (धारा १६) साथै नेपालले मानव अधिकारको बिश्वव्यापी घोषणापत्र धारा १ र ३ एवं नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र पनि अनुमोदन गरेकाले नेपालमा हाल मृत्युदण्डको कानुन ल्याइहाल्न मिल्ने अवस्था छैन।

मृत्युदण्डको व्यवस्था भएका देशमा पनि अपराधको दर खासै घट्न नसकेको तथ्यांकले देखिए पछी मृत्युदण्डको औचित्य माथी नै लगातार प्रश्न उठ्दै आइरहेको छ। संयुक्त राज्य अमेरिका र छिमेकी देश भारतको बलात्कारको भयावह तथ्यांक र अबस्था यसैको उदाहरण हो।

एम्नेस्टी इन्टरनेसनलका अनुसार विश्वका १ सय ७ देशमा मृत्युदण्डको व्यवस्था छैन। अहिलेको न्यायप्रणाली र सजायव्यवस्था सुधारमुखी हो जसले अपराधीलाई समाप्त गरेर अपराध समाप्त हुन्छ भन्ने धारणालाई पछाडी छोडिसकेको छ। 'डेथ पेनाल्टी इज् इट्सेल्फ डाइङ' अर्थात् अहिले मृत्युदण्ड आफैँ मरणोन्मुख छ।

बिश्वका देशहरुले मृत्युदण्डलाई आफ्ना कानूनका पानाहरुबाट मेट्दै आइरहेको अबस्थामा हामी चैँ मृत्युदण्डतर्फ फर्किनु भनेको केवल पश्चगामी कदम मात्र हो। तसर्थ अहिलेको फौजदारी संहिताले व्यवस्था गरेको सजाय दफा २१९- दफा २२९ र दफा ४१(क) को दायरा बढाएर यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने संरचना र जनशक्तिको व्यवस्थापन गर्नु अहिलेको मुल आवश्यकता हो।

बलात्कारीलाई छोड्ने न्यायाधीश

'फलानो अदालतका न्यायाधीशले प्रमाण नपुगेको भन्दै बलात्कारीलाई छोड्ने फैसला गरेका छन्।' सञ्चारमाध्यममा यस्ता समाचार आइरहेको भेटिन्छ। यसले सामान्यजनको मनमा अदालत र न्यायाधीशप्रती अविश्वास र घृणा विकास गरिरहेको हुन्छ।

बलात्कार अत्यन्त संवेदनशील फौजदारी कसुर हो। तसर्थ अदालतमा यस्ता अपराधहरु मौजुदा प्रमाणद्वारा शंकारहित तवरले पुष्टि हुनुपर्दछ। शंकाको अलिकती त्यान्द्रो मात्र बाँकी रहेपनी यसको सुबिधा अभियुक्तले पाउँछ।

यस अबस्थामा प्रहरीले अत्यन्त सतर्कताका साथ सूक्ष्म र द्रुत गतिमा अनुसन्धान गरेर दोषी समक्ष पुग्नुपर्ने हुन्छ।

तथ्यांकनुसार बलात्कारको गलत आरोप देखि प्रतिशतसम्म लाग्ने गरेको देखिन्छ। फौजदारी न्यायको शिद्धान्तमा बरु १० जना अपराधी छुटुन् तर एउटा निर्दो नथुनियोस् भनिन्छ अभियोग शंकारहित तवरले पुष्टि नभएसम्म पीडितको आँसु अभियुक्तको अनुहार हेरेर अदालतले फैसला गर्दैन। गर्न मिल्दैन। तसर्थ प्रहरीले यथेष्ट प्रमाण नजुटाएसम्म न्यायाधीशले अभियुक्तलाई निर्दोष मानेरै फैसला गर्नुपर्दछ।

मानौँ न्यायाधीशले कुनै हत्या हुँदै गरेको आफ्नै आँखाले देख्यो। तर अदालतको पुर्पक्षमा यथेष्ट तथ्य र प्रमाण पुगेन भने केवल आफुले देखेको भरमा न्यायधीशले फैसला गर्न मिल्दैन। न्यायाधीशका कुर्सीका पनि आफ्नै मान्यता छन् जुन् बुझ्न आबश्यक छ।

जताततै बलात्कारी

'युके सेन्टर फर भायलेन्स अगेन्स्ट वुमन'ले गरेको रिसर्च तथ्यांक यस्तो छ। जम्मा बलात्कारमध्ये १० प्रतिशतभन्दा कम घटनाहरुमात्र प्रहरीमा रिपोर्ट हुन्छन्। रिपोर्ट भएका मध्ये पनि ३७ प्रतिशत घटनाको मात्र अदालतमा मुद्धा चल्दछ। जसमध्ये पनि १८ प्रतिशतको मात्र अन्तिम फैसला भएर पीडितले न्याय पाउँछन्।

यस तथ्यांकलाई आधार बनाएर हेर्दा बलात्कारको वास्तविक 'कन्भिक्सन रेट' लगभग ०.४ प्रतिशत मात्र हुन आउँछ। अर्थात् हजार जना बलात्कारीमध्ये ४-५ जनालाई मात्र अदालतबाट सजाय हुन्छ।

तथ्यांक हेर्दा लाग्छ - हाम्रा वरपर बलात्कारी नै बलात्कारीहरु खुलेआम घुमिरहेका छन्। सडकमा, घरमा, चोकमा, वजारमा, यत्रतत्र सर्वत्र। सम्भवत: केही बलात्कारीहरु यो आलेख पढेर मुस्कुराइरहेका होलान्।

भारतीय नारीका पीडा

जुन २२ मा कर्णाटकाको हाइ कोर्टले गरेको एउटा आदेश पुरै भारतभरी चर्चित भयो। धेरै व्यक्तिहरुले त्यस आदेशप्रती घोर आपत्ती प्रकट गर्दै त्यसलाई पश्चगामी कदमको संज्ञा दिए। विवाहको झुठो आश्वासन दिई बलात्कार गरेको भन्ने आरोप लागेका अभियुक्तलाई अदालतले रिहा गर्ने आदेश दियो जसमा न्यायाधीशले दिएका मुख्य २ कारणहरु यस्ता छन्

१. राती १२ बजे पुरुषको अफिसमा एक्लै जानू, निजसङ्गै मदिरापन गर्नु, र थाकेको बहानामा त्यहीँ निदाउनु जस्ता कार्य भारतीय नारीको चरित्रभन्दा बिलकुल बिपरित रहेकाले बिश्वास गर्ने आधार नभएको।

. घटना भएपछी तत्काल प्रतिक्रिया नजनाएर लामो समयपछी मात्र अदालत आएकाले महिलामाथी विश्वास गर्न सकिने आधार नभएको।

अदालतले अझै पनि भारतीय नारीको चरित्र भनेर उसको व्यवहारलाई लजालु, कायर, संकुचितजस्ता परिधिको लक्ष्मणरेखा भित्र बाँध्नुका साथै तथ्य र तर्क भन्दा बढी भ्रामक अवधारणा र रुढीवादी चिन्तनबाट प्रेरित भएर पीडितलाई नै बलात्कारको दोषी ठहर्याउनु अत्यन्त अशोभनीय कृत्य हो।

बलात्कारको लागि एकमात्र जिम्मेवार पक्ष बलात्कारी हो भन्ने अवधारणालाई आजसम्म पनि नेपाल भारतका अदालतले स्वीकार गर्न नसक्नु निकै दुखद कुरा हो।

बलात्कारीसँग बिहे

सन् २०१८ सम्म ट्युनिसिया, लेवनान, जोर्डन जस्ता केही देशमा बलात्कारीले बलात्कृत भएकी नारीसङ्ग बिबाह गरेमा सजायबाट उन्मुक्ती पाउने कानुन थियो। 'म्यारी योर् रेपिस्ट ल' अझै पनि कतिपय देशमा कायम छ। नेपालका पनि कतिपय ग्रामीण क्षेत्रमा सामाजिक बदनामीको डरले पीडितलाई बलात्कारीसङ्ग बिहे गराइदिने चलन छ।

अदालत: भ्रम यथार्थ

बलात्कारको मुद्धामा फैसला गर्दा अदालतले थुप्रै भ्रम र अवैज्ञानिक धारणाहरुको सहायता लिएको देखिन्छ।

भ्रम: कसैले जबर्जस्ती सम्पर्क राख्न खोज्दा महिलाले कडा प्रतिकार गर्दछन् जसकारण उनीहरुमा शारिरिक चोटपटक नीलडाम, भेटिनुपर्छ।

यथार्थ: यो मान्यता प्राय विश्वका सबै अदालतले राख्छन्। जति धेरै चोटपटक भेटिन्छ त्यतिधेरै सजाय गर्ने प्रवृत्ती  रहिआएको  पनि देखिन्छ। बलात्कृत महिलाको शरीरमा चोटपटक, नीलडाम आदि नभेटिए उक्त सम्पर्क सहमति मै भएको हो भन्ने मान्यता राखिन्छ। तर अमेरिकामा २७४ वटा प्रहरी रिपोर्टको आधारमा गरिएको अध्ययनले जम्मा २२ प्रतिशत महिलाले मात्र बलात्कारको क्रममा कडा प्रतिवाद गरेको देखाएको छ। त्यसमध्ये ५६ प्रतिशत महिला बलात्कारीसङ्ग आफुलाई छोड्न याचना गरिरहेका थिए भने बाँकी डर र त्रासले जमेर निर्जीव भएका थिए।

भ्रम: महिलाले 'नो' भने पनी उनीहरुको भित्री मनसाय भने 'यस'को हुन्छ।

यथार्थ: सहमती केलाई मान्ने केलाई नमान्ने भन्ने बिषयमा पनि थोरै अन्योल रहेको देखिन्छ। या त महिलाले प्रष्टसगँ हुन्छ भनेको हुनुपर्छ अन्यथा 'पोजेटिभ बडी ल्यांग्वेज' मार्फत उसको कदमलाई स्वागत गरेको हुनुपर्छ। त्यो पनी प्रत्येक पटकको यौनसम्पर्क अघि। तबमात्र सहमती भएको मानिन्छ। 'अस्ति त मानेकी थिइ' जस्ता तर्कले सहमती जनाउँदैन।

भ्रम: बलात्कार लामो समयपछि रिपोर्ट गरिएमा त्यसको सत्यता माथी प्रश्न चिन्ह खडा गरिनुपर्छ।

यथार्थ: बलात्कार भएको लामो समय पछि मात्र रिपोर्ट भएमा 'मनमा मिले मेला हजुर नमिले झमेला…' 'कुरा मिलुन्जेल चमत्कार नमिलेपछी बलात्कार' जस्ता टिप्पणीहरु अत्याधिक मात्रामा गरिन्छन्। तर अध्ययनले भने विभिन्न कारणबाट महिलाले समयमा रिपोर्ट नगरेको हुनसक्ने बताउँछ। जस्तो - सामाजिक लज्जा र डर, बलात्कारीसङ्गको सम्बन्ध वा प्रेम, मानसिक ट्रमा आदि। यसकारण पनि नेपालमा बलात्कारमा मुद्धामा हदम्याद बढाइनु सकारात्मक कुरा हो।

भ्रम: बलात्कार महिलाबिरुद्धको मात्र अपराध हो।

यथार्थ: होइन। पुरुष पनि यौनहिंसा र बलात्कारमा पर्न सक्छन्। तर महिलाको तुलनामा निकै कम मात्र।

एउट अर्को बिसौनी:

नेपालमा चैतयता नै झण्डै १३ सय बलात्कारका घटना भएको तथ्यांक छ। बलात्कार मूलत लैंगिक असमानता महिलाद्वेषी चरित्र र मानसिकताको उपज हो। बलात्कार हुनुभन्दा पनि यस्ता घटनाहरू रिपोर्ट नहुनु, पीडितलाई दोहोरो पीडित बनाइनु र दोषीलाई पत्ता लगाएर सजाय दिन नसक्नु मुख्य समस्या हुन्।

त्यसैगरी नेपाली समाजमा रहेको पुरुषत्वको अवधारणालाई पुनपरिभाषित गरिनु पर्छ। किनकी आफ्नो पुरुषत्वलाई पुष्टि गर्नु बलात्कारको मुख्य उदेश्य हो। जसलाई बिद्यालयको प्राथमिक पाठ्यक्रममा नै सामेल गरि बालबालिकाको चेतन र अवचेतन दुबैमा लैङ्गिक समानताको बिज रोपिनुपर्छ।

त्यस्तै अहिलेको पुँजीवादद्वारा निर्मित कथित सुन्दरताको अवधारणालाई पनि बदल्ने चेष्टा गरिनुपर्दछ। यौन र प्रजननलाई गुपचुप र साउतीको बिषय नबनाएर यसबिषयमा खुल्ला चर्चा परिचर्चा गर्न नयाँ पुस्तालाई प्रेरित गरिनुपर्छ।

अन्त्यमा:

केही समयअघि छिमेकी देश भारतले बलात्कारका मुद्धा हेर्न हजार भन्दा बढी संख्यामा फास्टट्र्याक कोर्ट स्थापना गर्ने निर्णय गरेको थियो। अन्य अपराध भन्दा बलात्कार बढी संवेदनशील भएकाले यसको दायरा फराकिलो पारिनु, पीडितमुखी संरचना तयार गरिनु, चुस्तदुस्त अनुसन्धान गर्ने उपकरण र जनशक्ती तयार पारिनु आजको न्यायिक प्रक्रियामा हुनुपर्ने सुधार हो।

बलात्कारलाई महिलाको स्वतन्त्रता बिरुद्धको अपराधको रुपमा हेरिनुपर्छ नकि उसको इज्जत, प्रतिष्ठासङ्ग जोडेर। बलात्कार हुनासाथ अब जिन्दगी खत्तमै भो, बरबादै भो, आकासै खस्यो जस्तो अतिवादी चिन्तनबाट माथि उठ्न नसकेमा समस्या ज्युँका त्युँ रहन्छ।

बलात्कृत हुँदैमा जिन्दगी सकिँदैन। बरु पूर्वावस्थामै फर्केर सामान्य जीवनयापन गर्न सकिन्छ। बलात्कृत महिलामाथी देखाइने अत्याधिक दया र करुणाले निजलाई झनै कमजोर बनाउँछ। यसको सट्टा अबस्था सामान्य नै भएको अनुभूति दिलाएर बलात्कारबिरुद्ध लड्न प्रेरित गर्न सकेमा आउने दिनहरु निकै सुधार हुन सक्दछ।

मुख्य कुरा मनस्थिति रहेछ। यसलाई बदल्न सके परिस्थिति स्वत बदलिन्छ। लेखनाथको कविताले भनेझैँ - "यो सारा सृष्टि दोषी विधिवत छ भने आफनु दृष्टि दोषी।"

(लेखक कानुनका विद्यार्थी हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.