'उपचार केन्द्र र परीक्षण दायरा बढाई संक्रमितलाई आइसोलेट गर्नुपर्छ'

|
फाइल फोटो

काठमाडौं : मुलुकभर कोरोना (कोभिड-१९) संक्रमितको संख्या बढेर एक लाख नाघिसकेको छ। यीमध्ये आधा संक्रमित त काठमाडौं उपत्यकामै छन्। पछिल्लो केही समययता उपत्यकामा ट्राभल हिस्ट्री नभएकामा समेत संक्रमण देखिन थालेको छ। यसले कोरोना महामारी तीव्र फैलिएको थाहा हुन्छ।

दिन-प्रतिदिन संक्रमित संख्या बढेपछि उपत्यकाका कोभिड अस्पतालमा उपचार गर्ने ठाउँ समेत अभाव हुँदै गएको छ। अर्कातिर, कोरोना नियन्त्रणका लागि उपत्यकाका स्थानीय र केन्द्र सरकारले अहिलेसम्म प्रभावकारी रणनीति बनाएको छैन।

चैत ११ देखि साउनको पहिलो सातासम्म केन्द्र सरकारले पहिलोपटक लकडाउन गर्‍यो। जनजीवन कष्टकर भएको बन्दै निश्चित मापदण्ड अपनाएर व्यापारी तथा व्यवसायीको आग्रहमा पछि लकडाउन खुकुलो पारिएको थियो। लकडाउन खुलेको केही सातापछि पुनः कोरोनाको संक्रमणको दर फैलिएपछि स्थानीय सरकार र जिल्ला प्रशासनले काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा लागू गरेको थियो।

तर, उपत्यकामा निषेधाज्ञा र लकडाउनको केही प्रभावकारिता देखिएन। यसबीचमा संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार पनि निर्माण गरिएन। बिना निश्कर्ष निषेधाज्ञा लगाइयो र त्यसैगरी फेरि खुकुलो बनाइयो। अहिले उपत्यकामा हरेक दिन कोरोना संक्रमितको संख्या १५ सयभन्दा माथि पुग्दासम्म सरकारले नियन्त्रणका लागि भरपर्दो रणनीतिक योजना बनाएको छैन।

दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ। मानिसहरुको चहलपहल बाक्लिएको छ। बाहिरी जिल्लाबाट उपत्यका भित्रिने क्रम पनि रोकिएको छैन।उपत्यकामा कोरोना नियन्त्रणको लागि अहिले मूख्य जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय हुन्। जिल्ला प्रशासनले सार्वजनिक स्थानमा बढी भीडभाड बढेको र त्यहीँबाट संक्रमण फैलनसक्ने त्रास भएकोले नियन्त्रण गर्नको लागि अनुगमन समिति बनाएपनि त्यसको प्रभावकारी हुन सकेको छैन।

'मापदण्ड पालना नगर्दा संक्रमण फैलियो'

उपत्यकामा संक्रमण दर बढ्नुमा सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना नगर्नु नै प्रमुख कारण देखिएको सरकारी अधिकारीहरू बताउँछन्‌। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सरकारले जारी गरेको सामान्य स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढिरहेको दावी गर्छन्‌। कोरोना नियन्त्रणमा प्रशासनसँगै स्थानीय र केन्द्र सरकार पनि जागरुक हुनुपर्ने उनको भनाइ छ। 

नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्नको लागि सचेत गराउन विशेष अभियान थालिने दाहालले सुनाए। संकटको समयमा नागरिक आफैँ सचेत हुनुपर्नेमा उनी जोड दिन्छन्‌।

'स्वास्थ्य प्रोटोकल लागू गर्दापनि आम उपत्यकावासीले यसलाई अवज्ञा गरेको जस्तो भएको छ,' थाहाखबरसँग कुराकानी गर्दै उनले भने, ' नियन्त्रणको एउटै उपाय भनेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु हो। बढी भीडभाड हुने ठाउँमा अनुगमन गर्छौं। भीडलाई पुरै नियन्त्रण गर्ने अभियानमा लागेका छौं।'

तत्कालै लकडाउन र निषेधाज्ञा गर्ने योजना नभएको उनले जानकारी दिए। सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गरिएको छ कि छैन, सम्बन्धित सबै निकायसँग छलफल गरी अनुगमन गरिने उनको भनाइ छ।

'१० दिन लकडाउन गरौं'

चाडपर्व नजिकिएको र दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेकाले भीडलाई नियन्त्रण गर्न यसपटक मन्दिर तथा विभिन्न सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति बताउँछन्। भीडभाड नगर्नका लागि विभिन्न सूचना निकालिरहेको उनले जानकारी दिए। स्वास्थ्य सचेतनाको कार्यक्रम गरिरहेको उनको भनाइ छ।

'उपत्यकामा बढी भीडभाड नहोस भन्नको लागि जिल्ला प्रशासन, सुरक्षा निकाय र विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेको छौं,' प्रजापतिले भने, 'दशैँमा बढी भीडभाड हुने भएकोले केन्द्र सरकारलाई लकडाउन गर्न पत्र पठाइसकेको छौं।'

लकडाउन भयो भने १०-१२ दिन क्वारेन्टाइनमै बसेजस्तो हुने हुने उनको भनाइ छ। उपत्यकामा कोरोना नियन्त्रणको लागि सबै क्षेत्रमा परीक्षण बढाउनु बाहेक अन्य विकल्प नरहेको उनी बताउँछन्‌। परीक्षण गर्दै सबैलाई आइसोलेसनमा राख्नेदेखि बाहेक सुरक्षाका अन्य उपाय नरहेको उनको जिकिर छ।

'उपचार गर्न अस्पताल थपौँ'

उपत्यकामा कोरोना संक्रमण बढेकाले प्रतिकार्य योजना ल्याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले बताए। कोरोना नियन्त्रण गर्न छुट्टै नीति नबनाएका कारण काठमाडौं भयावह अवस्थामा पुगिसकेको उनको भनाइ छ। अस्पताल थप्ने, आइसियु र भेन्टिलेटर थपेर उपचार बढाउनु बाहेक अन्य विकल्प नरहेको उनको निश्कर्ष छ। 

कोरोना हटस्पट भएको क्षेत्र पत्ता लगाई परीक्षण दायरा बढाउन उनी सुझाउँछन्‌। डा. तिवारीले भने, 'आइसोलेसन सेन्टर बनाउनुपर्छ, सबै सरकारी अस्पताललाई कोभिड उपचार केन्द्र बनाउने घोषणा गरिसकेको छ त्यो राम्रो हो। अहिलेको अवस्थामा कोरोना संक्रमितलाई कसरी सुरक्षित राख्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ।'

संक्रमितको उपचार कसरी गर्ने र परीक्षण दायरा कसरी बढाउने त्यसको लागि ठोस नीति बनाउनलाई उनले सरकारलाई सुझाव दिए। उपत्यकामा सक्रिय संक्रमित संख्या बढिरहेकाले बेड, आइसीयु र भेन्टिलेटर अभाव हुँदै जानु भनेको अब अन्य उपचार केन्द्र थप्‍न संकेत मिलिसकेको तिवारीले बताए। परीक्षण दायरा बढाएर संक्रमित पहिचान गरी आइसोलेसनमा राख्न उनी सुझाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.