छैन विज्ञ टिम, सल्लाह नै लिँदैनन्

|
फाइल फोटो

काठमाडौं : विभागीय मन्त्रालयको हिसाबले यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शताब्दीकै ठूलो महामारी मानिएको कोरोना भाइरस (कोभिड-१९)सँग जुधिरहेको छ। तर, पर्याप्त परामर्श, नियन्त्रणको अग्रसरता र आवश्यक तयारी नगरेको भन्दै  मन्त्रालयको नेतृत्वप्रति गुनासो गर्ने बढिरहेको छ।

गत माघको पहिलो हप्ता चीन वुहानबाट आएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएपछि नेपालमा पहिलोपटक नेपालमा संक्रमण देखिएको थियो।

त्यसयता सरकारको सम्पूर्ण संयन्त्र कोभिड नियन्त्रणमा नै लागेको छ। अझै स्वास्थ्य मन्त्रालयले त त्यसयता नियमित कार्यक्रम भन्दा पनि कोभिड नियन्त्रणमा नै लागेको बताउँदै आएको छ।

पछिल्लो समय धेरै मानिसको जनघनत्व भएको काठमाडौं उपत्यकामा लक्षण सहितका संक्रमित बढ्न थालेपछि र अस्पतालहरूको शय्या भरिन थालेपछि संक्रमण नियन्त्रण बाहिर गएको हो कि भन्न थालिएको छ।

यसरी संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेको बेला स्वास्थ्य मन्त्रालय तथा मन्त्रालयको जिम्मेवारी समालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भूमिका सशक्त हुनुपर्ने हो। तर, हाल स्वास्थ्यमन्त्री ढकालले जागिरे भूमिका मात्रै निर्वाह गरेको स्वयं मन्त्रालयका अधिकारीहरू बताउँछन्।

संक्रमण बढ्दै गएपछि हाल बाहिरी कार्यक्रम र भेटघाट खासै हुँदैन मन्त्रालय भित्र पनि धेरै भिडभाड कार्यक्रम हुदैन तर पनि स्वास्थ्यमन्त्री हरेक दिन

बिहान ९ बजे नै मन्त्रालय पुगिसक्छन्। त्यही कारण पनि हुनसक्छ, मन्त्री ढकाल लगभग दिनभर नै मन्त्रालय  बस्ने गर्छन् त्यही समयमा नै उनले कर्मचारीहरूसँग छलफल पनि गर्छन्। तर उनले गर्ने छलफलमा ‘आफू निकटका ‘महाशाखा’ वा विभागीय प्रमुख तथा कर्मचारी मात्रै धेरै पर्ने गरेको नसमेटिएका अधिकारीहरू बताउँछन्।

‘यस्तो महामारीको बेला मन्त्रीले आफ्नो गुट पार्टीभन्दा पनि माथि उठेर संक्रमण नियन्त्रणमा केन्द्रित हुनुपर्ने हो तर त्यस्तो देखिँदैन’ ती अधिकारीले भने।

यता, नेपालमा कोरोना संक्रमण बढ्दै  गएपछि मन्त्रालयमा हाल औपचारिक रूपमा आइतबार र बिहीबार बिहान महाशाखाका प्रमुखसँग छलफल गर्ने मन्त्रालयको नियमित कार्यतालिका हो तर त्यो बेला पनि महामारीसँग जुध्नका लागि प्राविधिक कुरामा छलफल निकै कम हुन्छ।

विज्ञको टिम नै बनाएनन् 

पछिल्लो समय लक्षण सहितका संक्रमित बढ्दै गएका छन्। जसले गर्दा विज्ञहरुले संक्रमण समुदायमा फैलिएर नियन्त्रण बाहिर पुगिसकेको समेत बताउँदै आएका छन्। यता, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हरेक दिन प्रेस ब्रिफिङमा संक्रमण थेग्न नसक्ने अवस्थामा पुगेको हुँदा सबैलाई सतर्कता अपनाउन बारम्बार सुझाव दिइरहेका हुन्छन्।

यस्तो बेलामा मन्त्रालयले जनस्वास्थ्यका विज्ञ टिम बनाएर काम गर्नुपर्ने हो तर मन्त्रालयले सुरुदेखि नै विज्ञको टिम बनाउन त के केही विज्ञहरुले दिएको सुझावसमेत नसुनेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

‘यस्तो महामारीको बेलामा विज्ञहरुको टिम बनाएर उनीहरुको सुझावअनुसार संक्रमण नियन्त्रणमा हरेक तहसँग मन्त्रीले समन्वय गरेर संक्रमण नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने हो तर त्यस्तो देखिएको छैन', एक अधिकारी भन्छन्।

सबैभन्दा अघिल्लो पंक्तिमा खटिएर कोरोनाविरुद्ध लडिरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि मन्त्रीले समन्वय गर्दैनन्। ‘यता संक्रमण नियन्त्रणमा पछिल्ला केही सातामा संक्रमण दर ह्वात्तै बढेको छ। दिनमै ३–४ हजार संक्रमित थपिन थालेका छन्।

संक्रमण बढ्दै गएको बेलामा केही दिन अगाडिको मन्त्रिपरिषद्ले नै सार्वजनिक यातायातमा पूर्णरुपमा यात्रु राख्ने निर्णय गरेको थियो।

केही दिन साता बसेको मन्त्रिपरिषदले पनि कोरोना संक्रमणलाई सम्बोधन हुनेगरी केही निर्णय गरेन। बरु सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको सन्देश सुनाए– ‘दशैं तिहारमा धेरै आउने, जाने नगर्नू। फोनबाट आशीर्वाद लिनु। जहाँ बस्नुभएको छ, त्यहीँ दशैं मनाउनु।’

जनस्वास्थ्य संकटकाल प्रस्ताव क्याबिनेटबाट गायब, मन्त्री मौन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा दुई हजार सक्रिय कोरोना संक्रमित भए धान्न नसक्ने भन्दै जनस्वास्थ्य संकटकालको प्रस्ताव चार महिनाअघि नै गरेको थियो।

आफ्नो स्रोत साधन मूल्यांकन गरी मन्त्रालयले यस्तो प्रस्ताव राखे पनि सरकारले भने लकडाउन र निषेधाज्ञालाई नै महामारी नियन्त्रणको अस्त्र ठान्यो। तर यस्तो बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै २६ जेठमा मन्त्रिपरिषद्‍मा स्वास्थ्य संकटकाल लगाउने प्रस्ताव लगेका थिए।

संक्रमितको संख्या बढेपछि मन्त्री ढकालले विभागस्तरबाट संकटकाल लगाउन गरेको निर्णय मन्त्रिपरिषदमै थन्कियो। न उनले मन्त्रिपरिषदमा थप जनस्वास्थ्य संकटकालको लागि लविङ गर्न सके। अहिले स्वास्थ्य मन्त्रालयबाट गएको सो फाइल मन्त्रिपरिषदबाटै गायब भएको अधिकारीहरु बताउँछन्।

यतिखेर कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको अवस्थामा पनि सरकारले हाल कोरोना नियन्त्रणका लागि कुनै प्रभावकारी निर्णय गर्न सकेको छैन।

कोरोना संक्रमण लगभग नियन्त्रणबाहिर जान थालेकोले अब सरकारले मन्त्रालयबाट यसअघि गरिएको सिफारिसअनुसार निषेधाज्ञा वा जनस्वास्थ्य संकटकाल लगाएर संक्रमण नियन्त्रण गर्न ढिला गर्न नहुने र यस्तो बेलामा मन्त्रीले मन्त्रालयको तहबाट राम्रो संग लविङ गर्नुपर्ने हो तर त्यस्तो देखिएन मन्त्रालयका एक अधिकारी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.