मामाघरमा टीका लगाएर ७०० कमाएको सम्झना ताजै

|

काठमाडौं :  'बेला यस्तो पनि थियो परिवारमा मीठो खाने राम्रो लगाउन दशैं कुर्नुपर्थ्यो। घर रंग्याउन पनि बुबा-आमा दशैँलाई कुर्ने गर्नुहुन्थ्यो', दशैंको सम्झना गर्दै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा भन्छन्, 'समय पनि उस्तै रहेन। अहिलेका बच्चाहरूलाई पहिलेको जस्तै दशैँको महसुस गर्न पाउँदैनन्।'

त्यसबेला गाउँमा अष्टमीको दिन कालरात्रिमा बोका काट्ने चलन थियो। अहिले पनि छ। त्यो बोका महिलाहरूले खानु हुँदैनथ्यो। त्यसकारण गाउँलेहरु रातभर काट्ने, पकाउने माहोलमा रम्थे। उनी पनि त्यो माहोलमा मिसिन्थे।

५२ सालमा प्रहरी इन्स्पेक्टरको रूपमा कार्यरत उनी दशैंको आगमनले रोमाञ्‍चित बन्छन्। अहिले पनि दशैंको बहानामा वर्गअनुसार सबैको घरमा खुसीको बहार आउँछ। यो नै दशैंको विशेषता मान्छन् उनी।

अहिले उनलाई महाशाखाको २ सय ५४ जना व्यावसायिक प्रहरी अधिकृत सम्हाल्ने जिम्मा छ। यो दशैंमा पनि उनको साविक जस्तै ड्युटीमै दशैँ मनाउने बताउँछन्।

'यो दशैंमा उपत्यकामा हुने सम्भाव्य अपराध रोक्ने र अपराध अनुसन्धानमा नै बित्छ होला', उनी भन्छन्, 'घर नजिक छ, टीकासम्म बुबा-आमाको हातबाट लगाउछु कि।'

भक्तपुर स्थायी निवासी उनले २० वर्ष प्रहरी कार्यालयमै दशैँ मनाए। बाँकी वर्ष घर नजिक भएकाले बुबा आमाको हातको टीका लगाएको बताउँछन् उनी।

उनी भन्छन्, 'घर नजिक हुँदा पनि दशैंको दिनमा ड्युटी परेको खण्डमा भोलिपल्ट आमा बुबालाई कार्यालयमा ल्याएर पनि टीका लगाएको अनुभव छ।'

अचेलको दशैं पहिलेको भन्दा बढी भड्किलो गएको उनले अनुभव गरेका छन्। 'पहिले घरमा मासु, घिउ, दूध, दहीको माहोल हुने गर्थ्यो। तर, विस्तारै दशैँ भड्किलो हुँदै जाँदा अहिले मदिरा अनिवार्य जस्तो हुन थाल्यो', उनी भन्छन्, 'जसले गर्दा हर्षको दशैंमा विभिन्न घटना सुन्नुपर्छ।'

महाशाखाले काठमाडौं, भक्तपुर र ललितपुरका परिसरको समन्वयमा अपराधको अनुसन्धान गर्छ। महाशाखा भित्रको ८ वटा बिटलाई एकैपटक परिचालन गरेर त्यसको निरीक्षण र कामको नतिजा हेर्ने काम पनि थापालाई छ। उनी भन्छन्, 'आफू मातहतमा रहेका प्रहरी अधिकृतको भ्याली आसपास छ भने टीका लगाउन जान दिन सकिन्छ। नत्र सिनियर प्रहरी अधिकृतले जुनियर अधिकृतलाई टीका लगाएर यो वर्षको टीका समापन हुनेछ', उनले भने, 'घर जान नपाउनेलाई कार्यालयमै घरको जस्तो रौनकता बनाउछौं हामी।'

अहिलेको दशैँभन्दा आफ्नो बालापनको दशैँ बढी रोमाञ्चितयादगर रहेको उनले बताए। बालापनमा उनले टीका लगाउदै टाढा टाढा आफन्तकहाँ जाँदाका रमाइला दिन साह्रै यादगर र खुसीको क्षण रहेको बताए।

'गाडी पाइँदैन्थ्यो। हिँड्दै-हिँड्दै टीका लगाउँदै जानुको मजा अहिले कहाँ छ र? सवारी साधनको पहुँचले मीठा मीठा किस्सा निर्माण हुन छोडेको छ', थापाले बालापनको कथा सुनाए,'दशैंमा मान्यजनको हातबाट टीका लगाए पनि दक्षिणा चाहिँ पाइँदैनथ्यो थियो। अनि मामा घर गएर पैसा पाइन्छ भन्ने लोभ हुन्थ्यो।'

उनी कक्षा ३ मा पढ्दा मामाघर गएको याद छ। 'सायद ३७ सालतिरको कुरा होला। त्यो बेला मामा घर टीका लगाउन जाँदा मैले ७ सय रुपैयाँ कमाएको थिएँ', 'त्यत्रो पैसा हुँदा त आफूलाई कम्ता धनी सम्झिएको थिइनँ र मैले।'

दशैँमा पाएको पैसाले अहिलेका बच्चाहरू जस्तो फुरमासी गर्ने नगरेको उनले बताए। 'त्यसबेला पैसाको महत्व थियो। थोरै पैसाले पनि धेरै काम गर्थ्यो। दशैमा पाएको पैसा कलम, कापी, किताब किन्ने मै खर्च हुने गर्थ्यो। किनभने अहिले जस्तो फास्टफुड त्यो बेला थिएन', उनी दक्षिणाको हिसाब निकाल्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.