|

काठमाडौं :  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना (कोभिड-१९) परीक्षण शुल्क लिन थालेपछि परीक्षण गर्न आउनेको संख्यामा घट्न थालेको छ। परीक्षणका लागि भारतीय नागरिकसहितको बाक्लो भिड हुने टेकु अस्पतालले शुल्क लिने घोषणा गरेको थियो।

अस्पतालले गत आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट ट्रेसिङमा नपरेकाहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालिएको छ। परीक्षण गर्न आउनेको चाप बढेपछि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षणसहितका मानिसलाई मात्र निशुल्क परीक्षण गर्ने घोषणा सरकारले गरिसकेको छ। 

पिसिआर गर्दा शुल्क लाग्ने भएपछि परीक्षणमा आउनेको संख्यामा कमी आएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले जानकारी दिए। उनले भने, 'निशुल्क परीक्षण हुँदा एकजना मानिस पाँच पटकसम्म परीक्षण गर्न आउने गरेका थिए। अहिले त्यस्ता मानिसहरुको संख्यामा कमी हुन थालेको थियो। उनका अनुसार दैनिक १२ बजेसम्म परीक्षण भइरहेको छ। अहिले पनि परीक्षणको लागि दैनिक २ सय देखि ३ सय मानिसहरु आइरहेका छन्।'

परीक्षण शुल्क लाग्‍नु भन्दा अस्पतालमा परीक्षण गर्न आउनेको भिड हुने गर्थ्यो। मुख्य सडकसम्म मानिसहरुको लाइन पुग्थ्यो। रातभरि अस्पताल परिसरमा मानिसहरु बस्ने गरेका थिए। पहिले दैनिक ६ सयको हाराहारीमा मानिस परीक्षणको लागि आउने गरेको उनले जानकारी दिए।

लकडाउन खुलेपछि काठमाडौंमा रोजगार र व्यापार व्यवसाय गर्नेहरु आएकाले परीक्षण गर्नेको संख्या ह्वात्तै बढेको निर्देशक राजभण्डारी बताउँछन्। धेरै मानिसले काठमाडौं छोडेका कारण परीक्षण गर्न आउनेको संख्यामा कमी आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.