|

जाजरकोट : कुपोषणको उच्च जोखिममा रहेको जाजरकोटमा हालै बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा आएको छ। चालु आर्थिक वर्षका लागि जिल्लामा ९१ लाखको बजेट परिचालन गरिने बहुक्षेत्रीय पोषण योजनाको सचिवालय जाजरकोटले जनाएको छ। कुपोषण न्युनिकरणमा सहयोग गर्ने उद्देश्यले जिल्लामा यो परियोजना लागु गरिएको हो।

चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटलाई जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकले विषयगत कार्यालयमार्फत खर्च गर्ने गरि विनियोजन गरेको छ। जिल्ला कृषि विकास कार्यालय मार्फत १८ लाख, जिल्ला पशु सेवा कार्यालय मार्फत १८ लाख, जिल्ला शिक्षा कार्यालय मार्फत १४ लाख, महिला तथा बालबालिका कार्यालय मार्फत १४ लाख, खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय मार्फत १४ लाख र जिल्ला विकास समितिमार्फत १३ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरिएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रसाद खनालले जानकारी दिए।

जिल्लामा पोषण सुधारका लागि पोषणयुक्त खाद्य तथा तरकारी बाली उत्पादनमा वृद्धी गर्न जिल्ला कृषि विकास कार्यालयबाट यस वर्ष १८ लाख रुपैयाँ खर्च गरिने भएको छ। पशु\पन्छीजन्य कृषि उत्पादनमा वृद्धी गरि पोषणलाई सुदृढ गर्नका लागि जिल्ला पशुसेवा कार्यालय मार्फत यस वर्ष १८ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरिएको अधिकृत खनालले जानकारी दिए।

त्यसैगरी जिल्ला शिक्षा कार्यालय मार्फत यस वर्ष खर्च गरिने १४ लाख रुपैयाँ विद्यालय स्तरीय पोषण बगैंचा निर्माण गर्नुका साथै पोषण पाठ्यक्रम निर्माणमा खर्च गरिनेछ। 'महिला तथा बालबालिका कार्यालय मार्फत खर्च गरिने १४ लाख रुपैयाँ नवजात शिशुलाई गराइने नियमित स्तनपान, पुरक खाना, नियमित गर्भ जाँच तथा खोप, महिला प्रजनन सम्बन्धी विविध क्रियाकलापहरु सञ्चालन गरिने छ,' खनालले भने।

खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय मार्फत यस वर्ष खर्च गरिने १४ लाख रुपैयाँबाट शुद्ध पिउने पानीका लागि फिल्टर, पानी शुद्धीकरणका लागि प्रयोग गरिने सामाग्रीहरु, व्यक्तिगत र वातावरणीय सरसफाई सम्बन्धिका कृयाकलापहरु सञ्चालन गरिने छ। ' जिल्ला विकास समितिमार्फत खर्च गरिने १३ लाख रुपैयाँबाट बहुक्षेत्रीय पोषण योजनाको समग्र अनुगमन, रिर्पोटिङ, भेला, गोष्ठी र योजना निर्माण जस्ता क्रियाकलापहरुमा खर्च गरिने जनाइएको छ।

यस वर्षदेखि सञ्चालित बहुक्षेत्रीय पोषण योजना जिल्लाका रामीडाँडा, रोकायगाउँ, नायकवाडा, दह, कार्ताङ र गर्खाकोट गरि ६ वटा गाविसमा लागु गरिनेछ। राष्ट्रिय योजना आयोगबाट विभिन्न विषयगत मन्त्रालय मार्फत सञ्चालित बहुक्षेत्रिय पोषण योजना सन् २०२२ सम्म सञ्चालन हुनेछ।  बहुक्षेत्रीय पोषण योजना जाजरकोट लगायतका २८ वटा जिल्लामा सञ्चालनमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.