|

भक्तपुर : दशैं नजिकिएसँगै भक्तपुरका किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो परेको छ। कोरोना कहरका कारण सरकारले जारी गरेको लकडाउनकाबीच गत जेठ र असारमा रोपेको धान पाकेपछि किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो परेको हो। 

बडादशैंमा नयाँ धानको चिउरा चाहिने भएकाले पनि यहाँका किसानलाई धान काट्ने र भित्र्याउने चटारो परेको किसानहरु बताउँछन। भक्तपुरका विभिन्न स्थानका खेतहरुमा यतिखेर धान काट्ने किसानहरुको मेलाजस्तै लागेको छ। धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायतका स्थानमा धान काट्न किसानहरुलाई भ्याइनभ्याइ छ।

चाँगुनारायण नगरपालिका–९, ताथलीका किसान ज्ञानबहादुर छुंकाले वर्षाको भर नभएकाले पनि किसानहरुलाई धान काट्ने चटारो परेको बताए। ‘एकातिर दशैं भित्रिसक्यो, अर्कोतर्फ बेला न कुबेला पानी पर्छ,’ उनले भने, ‘त्यसैले पाकेको धान भित्र्याउन पाए वर्ष दिन खानलाई ढुक्क हुने भएकाले पनि किसानहरु धान काट्न व्यस्त भएका हुन्।’

भक्तपुरको नगरकोट, सुडाल, ताथली, चाँगु, दुवाकोट क्षेत्रमा गत असोज २६ गते सोमवार आँधीबेरीसहितको वर्षा भएको थियो। सो वर्षाले पाकेको धानबालीमा क्षति पुगेको सुडालका सञ्चारकर्मी समेत रहेका किसान सञ्जिव दुलालले बताए।

बढ्दो आवादीका कारण भक्तपुरमा खेतीयोग्य जमिन भने घट्दै गएको छ। त्यसैको अनुपातमा धान खेती पनि बर्सेनि घट्दो छ। तर हाइब्रिड बीउका कारण उत्पादन भने बढेको किसानहरु बताउँछन। 

यसवर्ष समयमा पर्याप्त वर्षा भएकाले धान खेती राम्रो भएको किसानहरुको भनाइ छ। गतवर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको मध्यपुर थिमि–१, लोकन्थलीका किसान काजीबहादुर प्रजापतिले बताए। लोकन्थलीमा करिब डेढ रोपनी क्षेत्रफलमा धान खेती गरेका प्रजापतिले यस वर्ष करिव २४ मुरी धान फलेको बताए।

यद्यपि गत असोज पहिलो साता परेको अविरल वर्षाले भक्तपुरमा केही मात्रामा धान उत्पादनमा कमी आएको किसानहरुको गुनासो छ। तीन दिनसम्म परेको अविरल वर्षाले यस वर्ष भक्तपुरको धान खेतीलाई क्षति गरेको थियो। त्यसबेला पाक्न लागेको धान सोत्तर हुने गरी ढालेको थियो। पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा ह्रास आएको भक्तपुर तचपालका किसान विष्णु लवजुले बताए।

भक्तपुरको ११ हजार १६ हेक्टर खेतीयोग्य जमिन मध्ये ४ हजार ३४८ हेक्टरमा धान खेती गरिन्छ। यहाँ प्रतिहेक्टर ६ दशमलब २ मेट्रिक टन धान उत्पादन हुने गरेको छ। जुन नेपालको औसत उत्पादन भन्दा झण्डै दोब्बर हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.