|
तस्वीरस्रोत : गुगल।

ताप्लेजुङ : कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन्। चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन्।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैँचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरू निर्भर छन्। यो बस्तीमा ५४ घर परिवारको बसोबास छ। पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन्।

तिब्बततर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरू समस्यामा परेका छन्। केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो। पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन्।

'गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो', गलैँचा व्यवसायी याङ्दी वालुङले भने। एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौँ लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ। गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरू समस्यामा पर्ने स्थानीय वालुङले बताए।

'विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान  लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो',  वालुङ भन्नुहुन्छ। वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडै नाका खुल्ला भन्ने आसमा देखिन्छन्। तर दिनानुदिन सङ्क्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन। हरेक घरमा गलैँचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ छ। 'सबैको घरमा गलैँचा थन्किएका छन्, बजारीकरण नहुँदा आर्थिक रुपले उनीहरू समस्यामा पर्ने देखिन्छ, अहिले वडाले बजारीकरणका लागि विभिन्न क्षेत्रमा समन्वय गर्ने काम गरिरहेको छ', अध्यक्ष शेर्पाले भने।

ओलाङ्चुङ्गोलामा वार्षिक ५०० बढी गलैँचा उत्पादन हुने गरेको उनले बताए। एउटा गलैँचा बुन्नका लागि कम्तिमा १० दिनसम्म समय लाग्छ। यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको छ। गलैँचाको मूल्य सामान्यतया १० देखि २० हजार रुपैयाँसम्म पर्छ। यहाँ उत्पादित गलैँचाको मुख्य बजार नै चीनको तिब्बत हो। कहिलेकाही कोशेलीको रुपमा काठमाडौंलगायत ठाउँमा समेत लगिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.