|

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिम समापन गरेका छन्‌। हिजो (असोज ३० गते) सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच खनालले तालिम समापन गरेका हुन्‌। 

तालिम समापन गर्दै महानिरीक्षक खनालले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। उनले तालिमका प्रशिक्षकहरूलाई समेत प्रशंसापत्र प्रदान गरे।

तालिमको महत्वमाथि प्रकाश पार्दै खनालले फौजी संगठनमा यस्ता व्यावसायिक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरूको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गरे।

उनले व्यक्तिगत वृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरूमा आउनसक्ने सुरक्षा चुनौतीहरूलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने विश्वास समेत व्यक्त गरे। 

दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो। 

गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने शोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन्। 

यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदिप बुढाथोकी सर्वप्रथम भएका छन् भने शोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन्। 

उक्त तालिमहरूमा प्रशिक्षणको दौरान विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरूद्वारा समेत सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो।

तालिम समापन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत वरिष्ठ अधिकृतहरूको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.