चिल्लोपिरो र धेरै नुनले बढाउँदैछ मुटुरोगी

|

काठमाडाैं : संसारभर मृत्यु हुनेमा एक चौथाइभन्दा बढी मानिस मुटु रोगी रहेका छन्। उच्च रक्तचापका कारण मुटुमा समस्या आएकाले यति धेरै मानिसले ज्यान गुमाइरहेका हन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र प्रसाद श्रेष्ठले विश्‍व उच्च रक्तचाप रोकथाम दिवसका अवसरमा यस्तो भयावह चित्र प्रस्तुत गरेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा उनले मुटुरोगका प्रमुख कारणमा एक उच्च रक्तचाप भएकाे उनले बताए। जनस्वास्थ्यको यो ठूलो समस्याले डर लाग्दो रुप लिँदै गएको उनले बताए। तर यसलाई समयमै ख्याल गरेमा रोक्न सक्ने उनले बताए। 

अक्टोबर १७ लाई विश्व उच्च रक्तचाप रोकथाम दिवसका रुपमा मनाइने गरिएको छ। विशेषज्ञ डा श्रेष्ठले भने, 'संसारभर वयस्क जनसंख्याको २२ प्रतिशतको हाराहारीमा उच्च रक्तचापको समस्या छ, त्यस्तै एसियामा भने २३ प्रतिशत देखिएको छ।'

नेपालमा यो अवस्था अझै डरलाग्दो रहेको छ। नेपालमा हालै स्वास्थ्य अनुसन्धान परिषदमार्फत गरिएको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत अर्थात् एकचाैथाइ नेपालीमा उच्च रक्तचापको समस्या देखाएको उनले जानकारी दिए।

त्यस्तै ६० प्रतिशत मानिसले मात्र जीवनको कालखण्डमा उच्च रक्तचापको परीक्षण गराउने गरेका पनि यसले जानकारी दिए। ८ दशमलव ५ प्रतिशत नेपालीले मात्रै उच्च रक्तचापको नियमित औषधि खाने गरेका पनि उनले जानकारी दिए। 

रक्तचापलाई नियन्त्रण गर्न मानिसले खानपानमा सुधार र जीवनशैलीलाई व्यवस्थित गर्न उनले सुझाए। सहरमा बस्ने मानिसले धेरै खाना र चिल्लोपिरो तथा नुन बढी खानाले रक्तचापको समस्या बढ्न गएको उनले स्पष्ट पारे। 

'हाम्रो दैनिक जीवनको खानपानमा आएको परिवर्तन र अल्छी जीवनशैलीले समस्या बढ्दै गएको छ। सहरमा बस्ने हामी अझै बढी खाना खान्छौं, झन् चिल्लोपिरोमा पनि जोड गर्छौं', उनले भने, 'धेरै नुन खाने सुर्तीजन्य पदार्थ धेरै खाने सहरमा बस्नेहरूमा मदिराजन्य पदार्थ धेरै पिउने युवाहरूमा शारीरिक अभ्यास नहुनु, अल्छीपन छ। तनाव लिइ राख्नेलाई 'साइलेन्स किलर' पनि भनिने उच्च रक्तचापले सताउँछ।'

एक स्वस्थ मानिसले दैनिक ५ ग्राम नुन खानुपर्ने भए पनि नेपालीले सरदर ९ ग्रामभन्दा बढी खाने गरेका मुटुको समस्या झन् बढ्ने उनले बताए। श्रेष्ठले कोभिड संकटका कारण नसर्ने रोगका बिरामीलाई अझै समस्या हुने बताए। मुटु रोगी, दमका रोगीलाई पनि कोभिड संक्रमणले गाह्रो हुने उनले बताए।

हरेक वर्ष मे ७ मा उच्च रक्तचाप दिवस मनाउने चलन छ।  तर कोभिड संक्रमणका कारण आज मनाइएको उनले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.