|

  • दीपेन्द्र शर्मा-

जाजरकोट : जाजरकोटमा एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन भएको छ। जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम माघ ९ गते सरुवा भएपछि जाजरकोट प्रमुख जिल्ला अधिकारी विहिन जिल्ला भएको हो।

एक महिना भन्दा बढी समय जिल्लामा प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लाका महत्व पूर्ण कामहरु ठप्प भएका छन्। यति लामो समय बितिसक्दा पनि सरकारले जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी नपठाएपछि जिल्लाका महत्वपूर्ण कामकाज ठप्प भएका छन्।

गृह मन्त्रालयले जाजरकोटको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएका बाँके जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हरिबहादुर प्याकुरेलले आउन नमानेर सरुवा बदर गराएपछि झन् अन्योल बढेको छ। प्याकुरेल जाजरकोट जान नमानेपछि गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र ब्यवस्थापन शाखाबाट उपसचिव कृष्णचन्द्र पौडेललाई सरुवा गरेको थियो।

पौडेल जिल्लामा आउन मानेका छन्। प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लाको शान्ति सुरक्षादेखि विभिन्न न्यायिक कामकाजमा बाधा पुगेको छ। प्रमुख जिल्ला अधिकारीको पद अर्धन्यायिक पनि हो। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले आफूलाई न्यायिक निर्णय बाहेकका दैनिक कामकाज गर्न मात्र अधिकार दिइएको बताए।

निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा जिल्लाका प्रशासनिक प्रमुख निमित्तको भरमा चल्नु चरम लापरवाही भएको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले बताए। प्रमुख नहुँदा निमित्तको जिम्मेवारी लिएका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा कुनै कार्यक्रममा जाँदा जिल्ला प्रशासन कार्यालय खाली हुने गरेको छ।

प्रमुख जिल्ला अधिकारी नहुँदा सम्पादन हुने दर्जनौ कामकाज अलपत्र हुने गरेको छ। जिल्लामा हुने बिभिन्न कार्यक्रममा जाँदा नागरिकता लगायतका कामहरु प्रभावित हुने गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दुई जना भएपनि एउटा पद लामो समयदेखि खाली रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.