कोरोनालाई सामान्य रुपमा नलिन आग्रह

|

काठमाडौं : वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले कोरोना संक्रमित भइसकेपछिको आफ्नो अनुभव सुनाएका छन्। शनिबार गरिएको एक वेबिनारमा सहभागी हुँदै आचार्यले कोरोना लाग्नुअघि लाग्नबाट डराउन र लागिसकेपछि डराउन नहुने बताएका छन्। यति गर्न सकेमा कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनले बताए।

युवाहरुको समूह गठित कम्पासले कोभिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको वेबिनारमा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरेका छन्।

‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला’, उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोच र आआफ्नै घरमै बसेर दशैं मनाऔँ।’

कोरोना पोजेटिभ रहेका आचार्यले दशैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व समझन आग्रह गरेका छन्।

आफूलाई कोरोना लागेको शनिबार १३ दिन भएको उनले बताए। ‘भोलि आइतबार टेष्ट गर्ने योजनामा छ। भोलिको टेस्टबाट म र श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास छ’, उनले भने, ‘कोरोनाले छाडातन्त्र मन पराएको छ। छाडा नभई अनुशासनमा बस्नुस्। अहिलेको विषम परिस्थितिमा चिकित्सकलाई नै भगवान सम्झ सम्मान गर्नुस्।’

कार्य नेपलिज सोसाइटी अफ न्यूरो सर्जनका अध्यक्ष डा प्रवीण श्रेष्ठले नेपालमा कोरोनाको अवस्थाबारे जानकारी गराएका थिए । उनले नेपालमा कोरोना जोखिम अझै बढ्दै गएकोले सतर्कता अपनाउनुपर्ने खाँचो औंल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.