|

बागलुङ : बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन तोकिएको छ।

बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो। जसलाई स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन समेत भनिन्छ। स्थानीय जातको गुडुरा धान काट्न आउँदो कार्तिक १७ गते बिहान ७ लाई शुभ दिन तोकिएको छ।

यो दिनलाई पर्वकै रूपमा बलेवा क्षेत्रका सर्वसाधारणले मनाउने गरेका छन्। बागलुङ नगरपालिका–१३ पैयुँटारका पं. सुवासचन्द्र पौडेल र ज्योतिष लेखनाथ पौडेलले ज्योतिष शास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदन पर्वको टुंगो लगाएका हुन्।

उनीहरूले नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोकेका छन्। कार्तिक २७ गते बिहान नयाँ धानको चामल खान शुरू गर्ने दिन उत्तम रहेको ज्योतिष पण्डित लेखनाथ पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। शनिबार घटस्थापनाको दिन बलेवा भूमेकोटअन्तर्गतका ६ वडाका किसानलाई उक्त शुभ दिनको विषयमा जानकारी गराइएको छ। 

यसअघि बलेवा कालभैरवको मन्दिरमा जम्मा हुने सर्वसाधारणलाई पण्डित तथा ज्योतिषले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले गराउँदै आएको थियो। यस वर्ष कोभिड–१९ त्रासका कारण सामाजिक सञ्जालमार्फत उक्त दिनको विषयमा जानकारी गराइएको वडा अध्यक्ष नारायण पौडेलले बताए। यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न समेत १८ औं शताब्दीमा चलेका सांस्कृतिक परम्परा पुरा गर्नुपर्छ। 

साविकका छ वटा गाउँ विकास समितिलाई १८ औं शताब्दीमा बलेवा राज्य मानिन्थ्यो। बलेवा कोटले छ वटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको थियो। बलेवामा बाइसे चौबीसे राजाका पालामा विक्रम संवत् १८४२ माबलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा. आरुणी आचार्यले बताए। दुई सय वर्षअघि चलेको सोही संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ। 

‘हामीले जान्दा धान्य छेदन र नवान्न प्रासनको मिति कोटले तोक्ने चलन थियो,’ पौडेलले भने, ‘अहिले पनि छ वटै गाविसका गण्यमान्य जम्मा भएर मिति तोकिन्छ।’ नवमीका दिन बलेवा कोटमा विशेष पूजाआजापछि ज्योतिषहरूको समूहले पुली र न्वागीको मिति तोक्ने चलन छ। 

यो वर्ष नवदुर्गामा भेला नहुने भएकाले घटस्थापनाकै दिन समय तोकिएको हो। ‘दिन हेरेर ज्योतिषहरूले कोटलाई दिनुहुन्छ, कोटले घोषणा गर्छ,’ बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले भने, ‘बलेवा क्षेत्रमा यो परम्परा कायम रहेको छ।’

कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन्। पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलन रहेको छ। ‘कोटले तोकेको दिन सबैले मान्ने गरेका छन्’ पाठकले भने, ‘नमान्नेलाई समाजले पनि राम्रो मान्दैन।’ वैदिक विधि नपुर्‍याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रहेको ज्योतिष लेखनाथ पौडेल बताए।

पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागु हुने गरेको भएपनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेको पौडेल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.