|
फाइल फोटो ।

जाजरकोट : जाजरकोट हुँदै रणनीतिक सडक विस्तार भएपछि अहिले जिल्लामा मोटरसाइकलका बिक्रीकेन्द्र (सोरूम) खोल्ने प्रतिष्पर्धा चलेको छ। दुइ वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेतसम्म पुग्ने जाजरकोटीहरूले अहिले सदरमुकामै स्थापना भएका सोरूमबाट नै खरिद गर्ने गरेका छन्।

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट-डोल्पा सडक खण्ड, जाजरकोट-जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका स्वरुप जिल्लामा भित्रने क्रम बढेको हो। जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्री निकै बढेको छ। 

साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल बिक्री भएको लक्की तथा आदर्श सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए। योसहित जाजरकोटमा तीन वटा कम्पनीबाट उत्पादित मोटरसाइकलहरू बिक्री भइरहेका छन्।

गाउँ-गाउँसम्म सडक विस्तार भएसँगै यातायातका साधनको चाप समेत बढेको छ। हलुका सवारी साधन देखि ठुला साधनसम्म जिल्लामा गुड्ने गरेका छन्। जिल्लामा यातायातको सहज पहुँच सँगै यहाँको जग्गा कारोबार समेत महंगो भएको छ। मुख्य सडक तथा पर्यटन मार्ग भएका कारण जाजरकोट भएर जाने सवारी साधनहरूको चाप बढेको हो। 

चार वर्षको अन्तरालमा जिल्लामा सडक निर्माणको ठुलो गति लिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए। अहिले जिल्लाको सडकलाइ कालोपत्रे (पीच) गर्ने क्रम बढेको छ। सातै स्थानीय तहमा सडकको पहुँच पुगेको छ।

स्थानीय तहका मुकामबाट गाउँ गाउँमा पुग्‍ने सडक निर्माण कार्य जारी रहेको छ। ४०० किलोमिटर भन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए। नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य शुरू भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ।

छिन्चु-जाजरकोट सडकखण्डमा नौ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्। जाजरकोट-डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया शुरू भएको सडक डिभिजन प्रमुख भट्टले बताए। जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरू समेत जिल्ला आउन सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.