कोरोना संकटमा जनता भड्काउन खोजेको आरोप

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चौतर्फी विकास भइरहेका बेला कोरोना (कोभिड-१९) ले कम गर्न नदिएको बताएका छन्। आइतवार भएको दमक अस्पताल भवन शिलान्यास कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बन्‍न लागेको अस्पताल भवनले झापासहित पू्र्वी नेपालका जनतालाई उपचार प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले अहिले सरकार जनताका आकांक्षा पूरा गर्न दृढताका साथ लागिरहेको दाबी गरे। 

'यो अस्पताल जस्तै पूर्वाधारले जनताका आकांक्षा पूरा गर्ने कुरामा योगदान दिनेछ। नेपाल सरकार स्वास्थ्यका सन्दर्भमा सजग छ, नेपाल सरकार जनतालाई स्वस्थ राख्न चाहन्छ। निरोगी नेपाल हाम्रो लक्ष्य हो। जनतालाई निरोगी बनाउने काममा सरकार दत्तचित्त भएर लागेको छ।'

प्रधानमन्त्रीले आर्थिक समृद्धिका पक्षमा काम भइरहेको पनि बताए। 'बिनाआर्थिक उन्नति पेटमै भएको भ्रूणले पनि केही खान पाउँदैन। अहिले चौतर्फीरुपममा देश विकास भइरहेको छ', उनले भने, 'विभिन्‍न ढंगले देशको विकास भइरहेको छ। स्वास्थ्य शिक्षा आवास र पूर्वाधार विकासको काम भइरहेको छ।

उनले नेपालमा पटक पटक आइरहने विपत्ति समस्या बनाउने सुनाए। 'हामीकहाँ विपत्तिहरु आइ लाग्छन्, २०७२ सालमा भूकम्प गयो। अहिले विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्याल र निजी आवासहरू धमाधम बन्दैछन्', उनले भने, 'रानीपोखरी बनिसकेको छ। धरहरा निर्माण हुँदैछ, १६ तला ढलान भइसकेको छ। रानी पोखरीको केही दिनमा उद्घाटन हुँदैछ।'

उनले कोरोना संकटमा पनि कयौँ किलोमिटर सडक बनेको जिकिर गरे। 'कोरोना संकटका बावजुद हामीले ४ हजार किलोमिटर सडक बनाएका छौँ। २ लेन, ४ लेन, ६ लेनका सडक बनेका छन्। तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएका छौं', उनले भने, 'सरकारले कुरा मात्रै गरेको छैन, काम पनि गरेको छ। नकारात्मक प्रवृत्तिका कुराहरु हामीले धेरै सुनेका छौं। राम्रा कामहरूबाट आत्तिएकाहरु आलोचना गर्दैछन् तर सरकारले विकासको बाटो समातेको छ।'

कोरोना संकट आएपछि आलोचकहरूले बोल्ने मौका पाएको उनले बताए। 'कोरोना संकट आएपछि विकासका काम रोकिँदा त्यस्ता नकारात्मक तत्वले भन्‍ने मौका पाएका छन्', उनले अगाडि थपे, 'विश्‍वव्यापी महामारीले दुनियाँको अर्थतन्त्रमा असर परेको छ। यस्तो अवस्थामा हामीले गरेका उपलब्धी र कामहरु अत्यन्तै सफलताका साथ अगाडि बढेका छन्। कोभिड १९ को दृढताकासाथ सामना गरेका छौं।'

कोरोनाको संकटमा पनि जनतालाई सरकारविरुद्ध भड्काउन खोजिएको उनले बताए। 'जनतालाई गैर जिम्मेवार तरिकाले भड्काउने तत्वहरुले गर्दा समस्या भएको छ,' ओलीले अगाडि भने, 'कोरोना केही तहमा नियन्त्रण गर्न समस्या भएको छ। संक्रमणको फैलिँदो क्रमलाई रोक्न योजनावद्ध ढंगले काम गरिरहेका छौं। खोप पनि आउन लागेको छ।'

ओलीले देशमा चौतर्फी विकास भइरहेको पनि उल्लेख गरे। 'हामीले चौतर्फी विकास गरिरहँदा हामीलाई कोभिड-१९ ले पछाडि धकेलिदियो', उनले भने, 'हाम्रा विज्ञहरु खटिरहेका छन् यो चुनौतीविरुद्ध। अहिलेको संकटकाबीच देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ। देशका विभिन्‍न ठाउँमा विभिन्‍न शिलान्यास भइरहेका छन्। अनेक ठाउँमा भवन अस्पताल विद्यालय विश्वविद्यालय बनिरहेका छन्।'

उनले रेल र पानीजहाजको काम पनि अघि बढिरहेको बताए। 'रेलको काम पनि अघि बढिरहेको छ। भारतबाट आइसकेको रेल पनि छिटै सञ्चालन हुन्छ। पूर्व-पश्चिम रेलमार्ग र सुरुङ मार्गको काम पनि भइरहेको छ', उनले भने, 'जलमार्ग, स्थलमार्ग र हवाई मार्गमा ठूलो उपलब्धि भएको छ।'

उनले विकासको अध्याय नै थपिएको बताए। 'सरकारले चौतर्फी विकास गरिरहँदा व्यवधान गर्नेहरु पनि बढेका छन्', उनले भने, 'विकासको काममा व्यवधान पुर्‍याउने अनावश्यक प्रयास भएको छ।'​

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.