सरकार पछि हटेको होइन, नीति मात्रै फेरेको : प्रवक्ता गौतम

|

काठमाडौं : सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैं उपचार गर्नुपर्ने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले सक्नेले आफ्नो उपचार आफैं गर्नुपर्ने नयाँ नीति लिइएको बताए। 

'कोरोना संक्रमण नेपालमा सुरु भएपछि सरकारले यसको परीक्षण र उपचारमा व्यवस्थापन गरिरहेकै छ। १२ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। एक लाख भन्दा धेरैको उपचार भइसकेको छ', उनले भने, 'अब उपचारको प्रक्रियालाई थोरै परिवर्तन गरिएको छ। जसले सामान्य खर्च गर्न सक्छ, जसले आफैंले उपचार गर्न सक्छ भने आफ्नो उपचार र जाँच खर्च आफैं व्यहोरेर सरकारलाई सघाइदिनु भयो भने भने सीमित साधन र स्रोत भएका आर्थिक विपन्‍न, अशक्त, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीसहित जोखिम क्षेत्रमा खटिनेलाई उपचार गराउन सजिलो पर्नेछ।'

उनले सरकारले उपचारबाट पन्छिने कुरै नभएको बताए। 'सरकार नागरिकको उपचारबाट पन्छिने कुरै आउँदैन तर थोरै नीति परिवर्तन गरिएको हो', उनले भने, 'धेरै ठाउँबाट धेरै चासो आएका छन्। पैसा हुनेसँग सरकारले लिन्छ र नहुनेको उपचारमा खर्च गर्छ, दिन्छ। असाहायको स्याहार गर्नुपर्ने परिस्थितिलाई बुझिदिनु आग्रह गर्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.