लगानी योग्य आठ प्रोजेक्ट र क्षेत्रमा छलफल हुने

|

काठमाडौं : वैदेशिक लगानी आकर्षित गर्न आयोजित लगानी सम्मेलन आज (बिहीबार) देखि सुरु हुँदैछ। सम्मेलन सोल्टी होटलमा बिहान साढे ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन्।

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशी बताउँछन्। 'लगानीकर्ताहरु लाई बदलिएको परिवेशअनुसार लगानी भित्र्याउन लगानी सम्मेलन सार्थक हुने देखिन्छ' मन्त्री जोशीले भने।

उनले राजनीतिक स्थीरता, कानुनी सहजता र सरल प्रकियाका कारण अबका दिनमा नेपालमा लगानी बढ्ने विश्वास गरे। नेपालको वर्तमान परिवेश जानकारी गराउन पनि सम्मेलन आयोजना गर्नु परेको मन्त्री जोशीको भनाइ छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलमा बिहीबार पोलीसी रिफम, लगानीको अवस्था र लगानी अनुभवका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्। दोस्रो दिन शुक्रबार लगानीका क्षेत्र र लगानी योग्य प्रोजेक्टको विषयमा छलफल हुने बताइएको छ।

यी हुन लगानीका क्षेत्र

नेपालको आर्थिक विकासको महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने ८ क्षेत्रलाई लगानीको क्षेत्रको रुपमा लिने गरिन्छ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनका विषयमा छलफल गरिने छ। यी क्षेत्रका विषयमा सम्बन्धित क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै सम्बन्धित मन्त्रीले समेत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

'हिजोका दिनमा ४/५ वटा क्षेत्रलाई मात्रै हामीले लगानीका क्षेत्र भन्यौ, अब भने हामीले यो सम्मेलनमार्फत थप लगानीका क्षेत्रका विषमाय पनि लगानीकर्तालाई जानकारी गराउँदैछौँ,' उद्योगमन्त्री जोशीले भने।

यस्ता छन् लगानी तान्ने प्रोजेक्ट

सम्मेलनमा लगानी खुलाउनको लागी आठवटा आयोजना प्रस्तुत गर्ने कार्यक्रम छ। ती आयोजनाको लागत, त्यसबाट हुने नाफा लगायतका सम्भाव्यता अध्ययन भइसकेका छन्। सम्भाव्यता अध्ययन भइसकेका रसायनिक मल कारखाना, पूर्वपश्चिम रेलमार्ग, रेलमार्गमा भारतसँग जोड्ने लिंक, काठमाडौं भ्याली मेट्रो, काठमाडौं–हेटौंडा सुरुङमार्ग, काठमाडौं–पोखरा रेलमार्ग, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल र तामाकोसी तेस्रो रहेका छन् ।

यी बाहेक विभिन्न मन्त्रालय तथा विभागहरुले तयार पारेका अवधाणागत आयोजना, लगानीबोर्ड नै छनौट गरेका गरी थप २२ वटा  आयोजनाहरु लगानीकर्तामाझ प्रस्तुत  गरिने लगानी बोर्डका अधिकारीहरुले बताएका छन्।

एक खर्ब लगानीको अपेक्षा

दुई दिने सम्मेलनको क्रममा एक खर्ब रुपैयाँ बराबरको लगानी आउने अपेक्षा गरिएका छ। उद्योग मन्त्री नविन्द्रराज जोशीले कम्तिमा एक खर्ब रुपैयाँ बराबरको लगानी आउने अपेक्षा रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.