|

कञ्चनपुर : सीमा सुरक्षार्थ कञ्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतमले सहादत प्राप्त गरेको स्थानसहित तीन ठाउँमा मंगलबार सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन्।

पुनर्वास नगरपालिका-११ डोकेबजार (टाउकेबजार), सोही नगरपालिकाको वडा नं ४ आँपताल र वडा नं ६,७,८ को खड्डाकंकडमा बिओपी बनाइएका हुन्।

स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले छुट्टाछुट्टै रुपमा उद्घाटन गरेका छन्। पोष्ट उद्घाटन गर्दै उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए। 

‘सीमा क्षेत्रमा सुरक्षा चुनौती रहे पनि चोरी तस्करी र सीमापारबाट हुने लागु औषधको कारोबार सँगै सीमा अपराध रोक्न सशस्त्र प्रहरीले चौबीसै घण्टा खटिएको छ’, उनले भने, ‘यस कार्यमा सफलतासमेत प्राप्त गरेको छ।’ राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी ठानी कार्य गर्न सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीका जवानहरुलाई उनले निर्देशन समेत दिएका छन्। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले सीमा क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुविधा नभए पनि सीमा रक्षाका लागि जवानहरुले इमानदारीपूर्वक कार्य क्षेत्रमा खटिएको बताए। 

सशस्त्र प्रहरीमाथि तस्करहरुले गोली चलाउनेदेखि ढुंगामुढा गर्दासमेत संयमका साथ कार्य गर्दै आएको उनले बताए। 

उनका अनुसार स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा २५/२५ जना जवानलाई तैनाथ गरिएको छ।

गणको जिम्मेवारी इलाका अन्तर्गत पर्ने भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीदेखि पुनर्वास नगरपालिका वडा नं ११ टाउकेबजारसम्म जम्मा १३० किलोमिटरको दूरीमा हालसम्म १७ वटा बिओपीहरु स्थापना गरिएका छन्। गत असोजमा मात्रै सशस्त्र प्रहरीका कञ्चनपुरमा तीन वटा बिओपीहरु स्थापना गरिएका थिए। 

थप एउटा बिओपी केही दिनभित्रै सीमा क्षेत्रमा स्थापना गरिने सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए। देशभर सशस्त्र प्रहरीका पाँच सय वटा बिओपीहरु स्थापना गर्ने सरकारको निर्णयअनुसार आज तीन वटा बिओपीहरु स्थापना गरिएका हुन्।

वडा नं ४ को आँपतालमा स्थापना गरिएको बिओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकी र सहिद गौतमकी आमा र बुवाले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.