|

बाग्लुङ : बाग्लुङ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत त्रिलोचन गिरी कातिक ६ सम्म कार्यालयको काम सकेर दशंै मनाउन पोखरास्थित घरमा जाँदैछन्। बिदा हुने दिन आउन केही समय बाँकी रहँदा गिरीले दशैंको कोसेलीको जोहो गरिसके।

काम सकिएको भोलिपल्टै हिँड्नुपर्ने भएकाले उनले दशैंमा घर जाँदा लैजाने कोशेली अहिलेदेखिनै जम्मा गर्न थालेका छन्। बजारमा पाउने सबै चिज उनले पोखरामै किन्छन्। तर घरपरिवारको समेत चाहना स्थानीय उत्पादन ल्याए हुन्थ्यो भन्ने छ। त्यसैले बाग्लुङमा पाउने भाँगो उनले केही दिनअघि किनेका छन्। अहिले उनलाई मुस्ताङको स्याउ र आलु खोज्ने लागेका छन्।

पर्वतमा रहेको व्यावसायिक तथा सिप विकास तालिम केन्द्रमा काम गर्ने बीना शर्मा दशैं मनाउन काठमाडौं जाँदैछिन्। दशैं बिदामा काठमाडौं पुग्दा छोरा बुहारीले ल्याएको स्याउ, भाँगो र आलुको स्वाद उनका सासुससुराले भुलेका छैनन्। शर्माले पनि भाँगो र स्याउको कोशेली पोको पारेकी छन्।

यो वर्ष बागलुङ, कुश्मालगायतका बजारमा ढिलो गरी आएको मुस्ताङको स्याउ, आलु र बाग्लुङको भाँगो धेरैको खोजीमा पर्ने गरेको छ। ‘दशैंमा मुस्ताङको स्याउ भन्ने चलन छ, कोशेली त्यही हो मेरो,’ गिरी भन्छन्, ‘अचार खाने भाँगो त छुटाउनै भएन।’

गिरी घर जाँदा मुस्ताङको स्याउ र बाग्लुङको भाँगो बोकेर गएनन् भने छिमेकीले गाली गर्छन्। उनी भन्छन्, ‘सबैले आश गर्छन्, छिमेकीको चित्त बुझ्ने गरेर लैजानै पर्छ।’ गिरी र शर्मा जस्तै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबाट जिल्लाबाहिर जानेको दशैं कोशेली मुस्ताङको स्याउ हो।

‘दशैंपछि मुस्ताङको स्याउको माग घट्छ। यो बेला स्याउ खोज्नेको ठूलै समूह छ’ बाग्लुङ बजारमा फलफूलको होलसेल कारोबार गर्ने मधु क्षेत्री भन्छन्, ‘पोहोरभन्दा आधा माग घटेको छ। तर अरु फलफूलको तुलनामा मुस्ताङको स्याउको माग बढी छ।’

बाग्लुङ बजारमा मुस्ताङको स्याउ १०० देखि २५० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ। ‘रोजाको मूल्य बढी छ, छाँटेर छोडेका सस्तोमा बेच्नुपरेको छ,’ क्षेत्रीले भने, ‘दशैं आएको आभाष मुस्ताङको स्याउले गराउँछ।’

कोशेलीका लागि स्याउ, भाँगो र आलु खोज्न आउनेहरुले अन्य समयको तुलनमा कम मोलमोलाई गर्ने गरेको अनुभव व्यवसायीहरु सुनाउँछन्। पर्वको समयमा खोजी हुने स्थानीय उत्पादनले व्यवसायी र उपभोक्ता सबैलाई सन्तुष्टि दिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.