|

भद्रपुर (झापा) : कोरोना भाइरसले नेपाल–भारतको सीमा नाकाबाट आवतजावतमाथि सरकारले रोक लगाए पनि चाडपर्व नजिकिएसँगै मेचीनगर नाकाबाट तस्करी बढेको छ।

नेपालबाट तस्करीको माध्यमबाट भारत लगिएका सुक्खा सुपारी र मदिरा भारतीय एसएसबीले बरामद गरेसँगै मेचीनगरको विभिन्न नाकाबाट तस्करी भइरहेको खुलेको हो। 

नेपाल–भारत सीमास्थित एसएसबी ४१औं बटालियनको ए कम्पनी पानी ट्याङ्की बिओपीले ठूलो मात्रामा सुपारी बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको छ। पिकअप भ्यान लाँदै गरेको ९० बोरा सुपारी बरामद गरेको हो। उक्त सुपारी मेचीनगरबाट अवैध रूपमा भारतको नक्सलबारी हुँदै धुपगढी लैजाने योजना रहेको बताइएको छ। 

एसएसबीले बरामद गरेको सुपारी, पिकअप भ्यान र ती व्यक्तिलाई पानी ट्याङ्की भन्सारलाई बुझाइसकेको भारतीय एसएसबीले जनाएको छ। 

त्यस्तै, अवैध रूपमा नेपालबाट भारत लगिएको नेपाली ब्रान्डका मदिरा एसएसबीको १९औँ बटालियनको सुखानी र अम्बारी टोलीले दशगजा क्षेत्रबाट बरामद गरेको छ। सीमा नाकामा केही मानिसहरू नेपालबाट आएको देखिएपछि एसएसबीले तिनीहरूलाई रोक्न खोज्दा मदिरा छाडेर भागेका थिए।

एसएसबीले ६३ बोतल नेपाली मदिरा बरामद गरेको थियो। आवश्यक कारबाहीपछि एसएसबीले बरामद गरेको मदिरा नजिकैको प्रहरी कार्यालयमा बुझाइसकेको छ। पछिल्लो समयमा मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, तिरीङ, बाहुनडाँगी लगायतको नाकाबाट तस्करी भइरहेको यही घटनाले पुष्टि गरेको छ।

स्थानीय प्रहरीको सेटिङमा त्यस नाकाहरूबाट मदिरा, सुपारी, छोकडा, मटर, मरिच तस्करको माध्यमबाट भारत बाहिरिरहेका छ। लत्ताकपडा, रेडबुल, मोटरपार्टस्, मोबाइल, हार्डवेययर, खाद्यान्न सामग्री भन्सार छलेर नेपाल भित्रिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.