|

काठमाडौं :  पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्‌घाटन भएको छ। 

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्।  त्यसक्रममा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्।

३५२ वर्ष पुरानो सम्पदा,  भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ। उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन्।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो। शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म  पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। २०७५ माघ १४ मा रानीपोखरी  पुनःनिर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरी गरेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.