|
धैरेनीचौरमा निर्माणको अन्तिम चरणमा पुगेको ३ केभिएको सव-स्टेशन भवन ।

रुकुम : यसै आर्थिक वर्षभित्रै रुकुम पश्चिमका ९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले यस आर्थिक वर्षभित्रै अधिकांश घरधुरीमा केन्द्रीय लाइनको विद्युत विस्तार गर्ने योजना बनाएको हो।

वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईका अनुसार हाल जिल्लामा विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको र यस आर्थिक वर्ष भित्रै जिल्लाका अधिकांस घरधुरीमा विद्युत विस्तार गर्ने लक्ष्य राखिएको छ।

उनका अनुसार जिल्लाभर ३३ हजार घरधरी रहेकोमा हाल ११ हजार घरधुरीमा विद्युत विस्तार भइसकेको छ। कार्यालयका अनुसार हाल जिल्लाको आठबिसकोट नगरपालिकाबाहेक अन्य स्थानीय तहका अधिकांश वडामा विद्युत् विस्तार भएको छ।

जसअनुसार मुसीकोट नगरपालिकाका ९० प्रतिशत, चौरजहारी नगरपालिकामा ६० प्रतिशत र बाँफिकोट गाउँपालिकामा ९० प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ।

त्यस्तै, सानीभेरी गाउँपालिकामा ३० प्रतिशत र त्रिवेणी गाउँपालिकामा ६० प्रतिशत घरधुरीमा विद्युत् विस्तार भइरहेको र बाँकी काम पनि तिब्र गतिमा भइरहेको छ।

‘जिल्लाको दुर्गम क्षेत्र भनेको आठबिसकोट नगरपालिका हो, जहाँ अहिले विद्युतको पहुँच हालसम्म पुगेको छैन तर पुर्‍याउने कार्य अन्तिम चरणमा पुगेको छ’ कार्यालय प्रमुख भट्टराईले भने, ‘आर्थिक मसान्तभित्र करिब २५ देखि ३० हजार घरधुरीसम्म विद्युत् विस्तार हुन्छ।’

हालसम्मको कोरोना प्रभावले विद्युत् विस्तारको कामका खासै प्रभाव नभएर बिस्तार कार्य धमाधम भइरहेको र आगामी दिनहरुमा पनि यसभन्दा जटिल कुनै पनि समस्या नभए राखिएको लक्ष्य पूरा हुनेमा कुनै शंका नभएको कार्यालयको भनाइ छ।

त्यस्तै, जिल्लामा हाल विद्युत् विस्तार भएका ठाउँमा भैरहेको कम भोल्टेज तथा बेलाबेला बिद्युत जाने समस्या पनि छिटै अन्त्य हुने बताइएको छ।

रुकुम पश्चिमको धैरेनीचौरमा विद्युत् सब स्टेशनको काम अन्तिम चरणमा पुगेकोले त्यस निर्माण सम्पन्न भएपछि बिद्युतका धेरै समस्याहरु समाधान हुने बताईएको छ। यसअघि सल्यानमा मात्र सबस्टेशन भएका कारण लामो दूरी भएकाले यस्तो समस्या हुने गरेको थियो।

‘अहिले उपभोक्ताहरुको कम भोल्टेज तथा बिद्युत बेला बेला जाने समस्याबारे गुणासो गर्ने गरेका छन, समस्या पनि छ’ कार्यालय प्रमुख भट्टराईले भने, ‘रुकुममै सब स्टेशन निर्माण सम्पन्न भएपछि अब त्यो सबै समस्या समाधान हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.