|

धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा एक सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार पुष्टि भएका समेत गरी धादिङमा संक्रमित संख्या १ हजार जना पुगेको छ।    

बुधवार कोरोना संक्रमित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेत रहेका छन्। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलगायत अन्य कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयले सार्वजनिक सूचना जारी गरी सुरक्षित रहन जिल्लावासीलाई आग्रह गरेको छ। 

धादिङमा बुधवार थपिएका संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ४३ जना, धादिङ अस्पतालमा परीक्षण गरिएका स्वास्थ्यकर्मी सरकारी कर्मचारीहरु समेत २५ जना, गजुरी गाउँपालिकाका १६ जना, बेनिघाटरोराङ गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिका र थाँक्रे गाउँपालिकाका ३÷३ जना, धुनीबेसी नगरपालिकाका ३ जना, गल्छि गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका २÷२ जना गरी १ सय १ जना रहेका स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमित पुष्टि भएकाहरुमा ११ देखि ९० वर्ष उमेर समूहका रहेका स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताए। 

पछिल्लो समय कोरोना देखिएकाहरुमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता, संचारकर्मी, राजनीतिक कार्यकर्ता छन्। यीबाहेक घरबाहिर नगएका व्यक्तिहरुमा पनि संक्रमण देखिनु कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्ने सम्भावना बढेको छ।

जिल्लाको १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा संक्रमित संख्या ३ सय ४५ जना पुगेको छ। 

त्यसपछि गल्छी गाउँपालिकामा १ सय ६ जना, त्रिपुरासुन्दरीमा ९२ जना, ज्वालामुखी गाउँपालिकामा ७२ जना छन्। यस्तै बेनिघाटरोराङमा ७१ जना, थाक्रेमा ६० जना, धुनीबेसीम  नगरपालिकामा ३८ जना, गजुरी गाउँपालिकामा ४८ जना, नेत्रावतीडबजोङमा २९, सिद्धलेकमा २८ जना, खनियाबासमा २६ जना, गंगाजमुनामा २१ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालमा परिक्षण गरिएका सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैक तथा वित्तीय संस्था कर्मचारी समेत ५५ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार जना पुगेका हेल्थ असिस्टेन्ट रिजालले बताए। 

अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये ६ सय ९२ जनाको धादिङमा स्वाव संकलन गरी परिक्षणका लागि पठाइएको र बाँकी ३ सय ८ जनाको भने जिल्ला बाहिरबाट स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएको पनि स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

बुधबार थप २३ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ४ सय ८० पुगेको छ। धादिङमा १ सय ६६ जनाको रिपोर्ट आउन बाँकी छ भने सक्रिय सक्रमित संख्या ५ सय २ छ। जिल्लामा कोरोनाबाट १० जनाले ज्यान गुमाइसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.