|

धनगढी : डडेल्धुराको भागेश्वर माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी देवु कुमारी राउटे उच्च शिक्षा पढ्न धनगढी पुगेकी छन्। १८ वर्षीया देवु कक्षा ११ मा कानुन विषयको पठनपाठन हुने विद्यालयको खोजी गर्दै धनगढी पुगेकी हुन्। 

कानुन पढ्न धनगढीको त्रिनगर मावि पुगेकी उनी भन्छिन्, ‘सरकारले राउटेका लागि कानुन मात्रै बनायो, कार्यान्वयन गरेको देखिएन, त्यसैले कानुन पढ्न धनगढी आएँ।’ 

कानुन पढेर राउटे र राउटे जस्तै लोपोन्मुख जातिको अधिकारका विषयमा वकालत गर्ने उनको सपना छ। ‘राउटे जातिबाट पहिलो वकिल बन्ने रहरले कानुन पढ्न धनगढी आएकी हुँ, देवुले थपिन्, धेरै विद्यालयमा पुगे सस्तो पढाइ हुने त्रिनगर माध्यमिक विद्यालयले रहेछ, यहीँ भर्ना गरें।’

उनीसँगै लोपोन्मुख राउटेकी अन्य तीन बालिका पनि एसईई उत्तीर्ण भएपछि उच्च शिक्षा पढ्न धनगढी पुगेका छन्। देबु कानुन संकायमा भर्ना भए पनि अरु दुई जना विद्यार्थी कलावती कुमारी राउटे र पार्वती कुमारी राउटे शिक्षा संकायमा भर्ना भएका छन्। 

उनीहरु एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा पढ्न धनगढी आएका हुन्। कोठा भाडामा लिएर धनगढीमा बस्ने र उच्च शिक्षा अध्ययन गर्ने तीनै जनाको योजना छ।आर्थिक स्थिति कमजोर भएका उनीहरुले सरकारले राउटेलाई भत्ता दिने गरेको भत्ताले पढ्ने बताए। 

कलावतीले भनिन्, ‘आमाबुवा खेतीपाती गर्नुहुन्छ, आयस्रोत त केही छैन, सरकारले दिएको भत्ताबाटै भए पनि पढ्ने भनेर आएका छौं।’ उच्च शिक्षाका लागि विद्यालय भर्ना हुन धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यायमा पुगेका तीनै जना राउटे विद्यार्थीलाई निःशुल्क पढाउने विद्यालयले निर्णय गरेको छ। 

प्रधानाध्यपक भूपालसिंह खड्काले राउटे बालिकाको पढाइ निःशुल्क गर्ने गरी भर्ना लिइएको बताए। देबुसँगै लोपोन्मुख जातिका ३ विद्यार्थीलाई विद्यालयले निःशुल्क पढाउने भएको छ। 

धनगढी उपमहानगरपालिकामा पहिलोपटक राउटे बिद्यार्थी पढ्न आएपछि उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ। नगर प्रमुख नृपबहादुर वडले उनीहरुको डेरा तथा खानाको व्यवस्था गर्ने आश्वासन दिएका छन्। 

जंगलमा बसोबास गर्ने राउटे पछिल्लो झण्डै २० बर्ष यता डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिका–१२ आमपानी र रजडामा ४१ परिवार बस्दै आएका छन्। 

जीवनशैलीलाई रुपान्तरण गर्दै अहिले राउटेहरु केटाकेटीलाई विद्यालय पठाउने, ज्यालामजदुरी गर्ने, तरकारी खेती गर्ने गर्दछन्। गएको शैक्षिक सत्रमा स्थानीय भागेश्वर माविबाट तीन राउटे समुदायका बालिकाले एसईई पास गरेका थिए।

यसअघि दुई जना छात्रहरुले एसईई पास गरेका भए पनि राउटे समुदायबाट एसईई पास गर्ने छात्राहरु यी तीनजना पहिलो हुन्। सरकारले राउटे समुदायको संरक्षणको नीति लिएको भए पनि आमपानीमा स्थायी रुपमा राखिएका राउटेहरुको जीवनस्तर उठाउन सकिएको छैन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.